नेपालले पायाे खाद्यवस्तु परीक्षणको अन्तर्राष्ट्रिय मान्यता, परीक्षणको लागि भारत जानुपर्ने बाध्यताको अन्त्य « Arthapath.com
३ बैशाख २०८२, बुधबार

नेपालले पायाे खाद्यवस्तु परीक्षणको अन्तर्राष्ट्रिय मान्यता, परीक्षणको लागि भारत जानुपर्ने बाध्यताको अन्त्य



काठमाडाैं । नेपालबाट निर्यात हुने खाद्यवस्तु परीक्षणको लागि नेपाल दुई प्रयोगशालाले अनुमति पाएका छन् ।

भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआई) र परीक्षण तथा क्यालिब्रेसन प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्ड (एनएबीएल) ले नेपालका दुई प्रयोगशालालाई पारस्परिक मान्यता प्रदान गरेको खाद्य प्रविधि गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए ।

सरकारले भारतको फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया एफएसएसएआईसँग मान्यताको पटक पटक विविध चरणमा काम गर्दै आएको थियो । अन्तत नेपाली दुई प्रयोगशालाले आधिकारिक रूपमा मान्यता पाएको हो ।

नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला र विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय अन्तर्गत रहेको प्रयोगशालाले परीक्षणको अन्तर्राष्ट्रिय मान्यता पाएसँगै परीक्षणको लागि भारत जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

गत अप्रिल ४ मा भारत सरकारले नेपालबाट भारतमा निर्यात हुने ८ खाद्य समूहभित्र पर्ने वस्तुको विश्लेषण गुणस्तर परीक्षण प्रमाणपत्रलाई पारस्परिक मान्यता दिने निर्णय गरेको हो ।

अब नेपालबाट निर्यात हुने जुस, जाम, जेली, अचार, चिनीका सामग्री, अदुवा, फलफूल, तरकारी र इन्स्टेन्ट नुडल्सलगायतको परीक्षण नेपालमै हुनेछ । साथै नेपाली प्रयोगशालाले दिएको प्रमाणपत्रको आधारमा भारतमा विना अवरोध निर्यात हुनेछ ।

अन्तर्राष्ट्रिय मान्यता पाएसँगै व्यवसायीहरूको लागत पनि घट्ने छ भने नेपाली खाद्यवस्तु भारत पुगेर परीक्षण गरिसकेपछि फेरि फिर्ता ल्याउनुपर्ने वा उतै नष्ट गर्नुपर्ने बाध्यता समेत हट्ने छ। व्यवसायीहरूले निर्यात गर्नुभन्दा दुई हप्ता अगाडी नै निवेदन दिने र आफ्नो उद्योगको निरीक्षण तथा ब्याच प्रमाणीकरण गराउनुपर्ने छ ।

यो एउटा सुखद् शुरुवात भएको भन्दै विभागले यसबाट व्यापार सहजीकरण र निर्यात बढ्ने विश्वास व्यक्त गरेको छ । प्रयोगशालाले खाद्य वस्तु दुई सय ८४ प्यारामिटरमा परीक्षण गर्ने मानक रहेकोमा अहिले त्यसलाई बढाएर ६ सय ३४ पुर्‍याइएको विभागले जनाएको छ । विभागसँग हाल १३ वटा ल्यावहरू रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्