‘चाँडोभन्दा चाँडो’ नयाँ गभर्नर नियुक्त हुने सरकारका प्रवक्ताको दाबी, भन्छन्— ‘सहमति भइसक्यो’

काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सत्ता साझेदार दलका प्रमुख नेताहरूबीच सहमति भइसकेको दाबी गरेका छन् ।
बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । यसै आधारमा अब छिट्टै गभर्नर नियुक्त हुने उनले जानकारी दिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले हिजोमात्रै सत्ता घटक दुई दलका शीर्ष नेतृत्वले यसबारेमा महत्त्वपूर्ण छलफल गरेको उनले बताए ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार साँझ वार्ता भएको थियो ।
सोही मौकामा गभर्नर नियुक्तिको गाँठो फुकाउन दुबै नेता सहमत भएको दाबी गुरुङले गरेका छन् । उनले भने, ‘आज संयन्त्रको बैठक बस्दैछ । आज संयन्त्रको बैठकले नीतिगत मार्गदर्शन गर्नेछ भन्ने विश्वास लागेको छ ।’
ऐन अनुसार एक महिना अघि नै नियुक्त भइसक्नु पर्ने नयाँ गभर्नरको नियुक्ति अहिले सत्ता साझेदार दलबीच प्रतिष्ठाको लडाइँ बनेको छ । वित्तीय क्षेत्रका नियामक निकाय प्रमुखहरु नियुक्त गर्ने सिलसिलामा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा एमाले निकट नेतृत्व पुगेको छ भने नेपाल बीमा प्राधिकरणमा नेपाली कांग्रेस निकट नेतृत्व आएको छ । बीमा प्राधिकरणमा एक सञ्चालक भने एमालेले नियुक्त गरेको छ ।
यस्तो बेला केन्द्रिय बैंकको गभर्नरमा कांग्रेसले दाबी गरेपछि समस्या भएको थियो । प्रधानमन्त्रीले आफ्नो अनुकुलको पात्रलाई गभर्नर बनाउन चाहेका बेला मंगलबारको छलफलमा कांग्रेसले भनेको व्यक्तिलाई नियुक्त गर्न प्रधानमन्त्री राजि भएको खबरहरु बाहिर आएका छन् । यद्यपि, ती खबरको अर्थपथले स्वतन्त्र पुष्टि गरेको छैन ।
बुधबार सञ्चारमन्त्री गुरूङले पत्रकारमाझ भने, ‘गभर्नर नियुक्ति ढिला भएकै छ । यो चाँडोभन्दा चाँडो नियुक्त गर्दैछौं ।’ उनले गभर्नर नियुक्तिका लागि पैसाको चलखेल भएको आरोपहरुलाई खण्डन गरेका छन् ।
‘एक अरबका कति कुरा सुन्छौं त्यो एक प्रतिशत पनि सत्यता छैन’, उनले भने, ‘यो मिलिजुली सरकार हो, सरकारमा कांग्रेस एमालेसहित अन्य थुप्रै पार्टी छन् । यस्तो महत्त्वपूर्ण विषयमा आ—आफ्नो चासो हुनसक्छ ।’
उनले प्रधानमन्त्री र कांग्रेस सभापतिबीच सहमति बनेको भने पनि कुन दलले केन्द्रिय बैंकको नेतृत्वमा नियुक्ति गर्ने मौका पाउने भएको हो भन्ने चाहीँ खुलाएनन् । मंगलबार बसेको मन्त्री परिषद बैठकले शिक्षक आन्दोलनलाई सल्टाउने विषयमा निर्णय गरेको बताइएको छ ।