सरकारको प्राथमिकतामा आर्थिक अनुशासन, कार्य सम्पादनलाई पारदर्शी बनाउन निर्देशन

भैरहवा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कार्य सम्पादन, विकास निर्माण र श्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
मन्त्रालयले बिहिबार भैरहवामा आयोजना गरेको ‘बेरुजू फर्स्यौट सम्वन्धिको कार्यशाला’लाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कार्यसम्पादनका क्रममा सकेसम्म बेरुजूनै आउन नदिन र आएको भए फस्र्यौट तर्फ समेत ध्यान दिन निर्देशन दिए ।
नागरिकले हरेक सेवामा सुशासन र पारदर्शीताको अपेक्षा गर्ने र सरकारले समेत आर्थिक अनुशासनलाई प्राथमिकता दिएकाले आफ्ना हरेक कामको उत्तरदायित्व निर्वाह गर्न समेत आग्रह गरे । कतिपय आयोजनाहरु समयमा पूरा नहुने, अलपत्र हुने तथा रुग्ण भएर बस्ने जस्ता समस्या देखिएको भन्दै त्यस तर्फ पनि हरेक कार्यालय र कर्मचारीले ध्यान दिनुपर्ने बताए ।
नेपाल अहिले निर्माणको चरणमा रहेको भन्दै मन्त्री दाहालले शुरु गरिएका आयोजनाहरु तोकिएकै समयमा पूरा हुनेगरि कार्यक्षेत्रमा परिचालित हुन कर्मचारीहरुलाई सुझाव दिए ।
कर्मचारीहरुको कार्यसम्पादन बाट नै नागरिकले सरकारको महसुस गर्ने भएकाले सरकारको आभाष दिलाउनेगरि काम गर्न आग्रह गरे । नेपालमा ‘केहि भएन, हुँदैन र हुन सकेन’ भन्ने जस्ता गलत भाष्यहरु निर्माण गर्न खोजिएको भन्दै मन्त्री दाहालले सरकारले गरेका काम, प्रभाव र परिवर्तनहरु नागरिक सम्म पु¥याउन जरुरी रहेको बताए ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराको संयोजनमा भएको कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजना अलपत्र पार्ने, समयमा पूरा नगर्ने जस्ता कार्य अब हुन नदिने बताए । सडक आयोजनाहरु निर्माण गर्दा सर्वसाधारणलाई सकेसम्म कम समस्या पर्ने र यातायात अवरुद्ध हुन नदिने गरि गर्न समेत कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिए ।