पोखरा विमानस्थलमा झण्डै १० अर्ब भ्रष्टाचार, छिनेडाँडा कटानमै ३२ करोड अनियमितता

काठमाडौं । संसदीय छानबिन उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुटसहित आर्थिक अनियमता गरेर १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।
संसदको सार्वजनिक लेखा समितिले गठन गरेको राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिले १४ अर्बमा बन्नुपर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लागत २४ अर्ब बनाएर १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो ।
उपसमितिले विमानस्थल निर्माण गर्दा हालका महानिर्देशक प्रदीप अधिकारी आयोजना प्रमुख रहेको र उनकै निर्देशनमा काम भएको भन्दै अधिकारीलाई तत्काल निलम्बन गरेर थप अनुसन्धानका साथै सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनसमेत सिफारिस गरेको छ ।
११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन उपसमितिले लेखा समितिलाई बुझाएको छ । विमानस्थलमा अनियमितता, करछुट, अस्वभाविक खर्च र अनियमित ढंगले काम गरेको पाइएको प्रतिवदनमा उल्लेख छ । यस्तै प्रतिवेदनमा २ अर्ब २२ करोड रुपैयाँ कर छुट दिएको, ठेक्का भित्रैबाट गर्नुपर्नेमा छिनेडाँडा विमानस्थल कटान गर्न ३२ करोड २ लाख नेपाल नागरिक उड्डन प्राधिकरणबाट खर्च गरेको उल्लेख छ ।
ठेक्काबाट गर्नुपर्ने खर्चबाहेक विमानस्थलमा एसी जडान गर्न ७ लाख ४२ हजार डलर, नाली खन्न १ करोड ६४ लाख डलर, माटो खन्न ४४ लाख डलर, बाहिरबाट माटो ल्याउन ५५ लाख डलर ठेक्काबाटै गर्नुपर्नेमाा क्यानले आफ्नो बजेटबाट खर्च गरेर अनिमियता गरेको दाबी उपसमितिको छ ।
यसबाहेक विमानस्थलमा माटो भर्न २ करोड २२ लाख डलर, इन्धन ट्यांकीका लागि २ लाख डलर, परामर्श खर्चमा २८ लाख डलर पनि अतिरिक्त खर्च गरेको दाबी गरिएको छ ।