गतिशिल बन्दै नेपाली अटो बजारः पौने ६ अर्ब बढ्यो सवारी कर्जा, गाडी किन्न कुन बैंकले कति दिए ऋण ? « Arthapath.com
५ बैशाख २०८२, शुक्रबार

गतिशिल बन्दै नेपाली अटो बजारः पौने ६ अर्ब बढ्यो सवारी कर्जा, गाडी किन्न कुन बैंकले कति दिए ऋण ?



काठमाडौं । सवारी साधान खरिद प्रयोजन लागि जाने कर्जा लगानी वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले हायर पर्चेज अर्थात् अटो कर्जा झन्डै साढे ५ प्रतिशत बढाएका छन् ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८१–८२ को फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको अटो कर्जाको आकार १ खर्ब २९ अर्ब ९५ करोड ६१ लाख रुपैयाँ कायम भएको छ । यो गत आवको तुलनामा भने २.९० प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा भने यस्तो कर्जा १ खर्ब २६ अर्ब २९ करोड २५ लाख रुपैयाँ प्रवाह भएको थियो ।

राष्ट्र बैंकका अनुसार व्यक्तिगत सवारी कर्जाको आकार दोहोरो अंकको वृद्धि भएको देखिन्छ । समिक्षा अवधिमा निजी प्रयोजनको हायर पर्चेज कर्जा १७.२२ प्रतिशत बढेर ४२ अर्ब ३० करोड ५७ लाख रुपैयाँ कायम भएको छ । तर, व्यवसायिक प्रयोजनको सवारी कर्जा भने गत वर्षको तुलनामा २.७८ प्रतिशत गिरावट आई ८७ अर्ब ६५ करोड ४ लाख रुपैयाँ कायम भएको छ ।

तर, वाणिज्य बैंकहरुले भने यस क्षेत्रमा लगानी ५.३७ प्रतिशत बढाएका छन् । एक वर्षको अवधिमा बैंकहरुले ५ अर्ब ७८ करोड ९९ लाख रुपैयाँ बढाएका छन् । आर्थिक शिथिलता सुस्ताएको नेपाली अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउन बैंक तथा वित्तीय संस्थाहरु सक्रिय देखिन्छन् । सस्तो ब्याजमा सवारी खरिद गर्नेहरुका लागि ऋण उपलब्ध गराउन बैंक तयार छन् ।

हाल कर्जाको ब्याजदर पनि निरन्तर घटीरहेको छ । गाडी खरिदका लागि पनि एकल अंकको ब्याजदरमै ऋण पाइने अवस्था छ । हाल बैंकहरुको आधार दर औस साढे ६ प्रतिशतमा झरेको छ । यस्तो अवस्था गाडी खरिद गर्नेहरुले १–१.५ प्रतिशत मात्रै प्रिमियममा ऋण लिन सक्नेछन् । अधिकतममा १२ प्रतिशतसम्म रहे पनि हाल करिब ८ प्रतिशत हाराहारीमै सवारी कर्जा पाइने अवस्था छ । यस्तो परिस्थितिले पनि सवारी कर्जाको माग बढ्न थालेको हो ।

वाणिज्य बैंकहरुले आठ महिनामा कुल १ खर्ब १३ अर्ब ४३ करोड ९ लाख रुपैयाँ अटो लोन कर्जा प्रवाह गरेका छन् । जबकि, गत आवको सोही अवधिमा १ खर्ब ७ अर्ब ६४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

समिक्षा अवधिमा ९ वटा बैंकले हायर पर्चेज कर्जा बढाएका छन्, तर ११ वटाको भने घटेको देखिन्छ । सवारी कर्जा बढाउनेको शीर्ष सूचीमा राष्ट्रिय वाणिज्य बैंक छ । बैंकले यस्तो कर्जा ६०.९३ प्रतिशत बढाएर ८ अर्ब ७६ करोड ८० लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै, नेपाल बैंकको ३६.६५ प्रतिशत, नेपाल एसबिआईको ३५.१८ प्रतिशत, कृषि विकास बैंकको ३१.१५ प्रतिशत, एभरेष्टको २९.०७ प्रतिशत र सानिमाको २७.७० प्रतिशत वृद्धि भएको छ । समिक्षा अवधिमा यी बैंकहरुले क्रमशः ३ अर्ब ७ करोड ३६ लाख, २ अर्ब ७१ करोड २७ लाख, ४ अर्ब ६८ लाख, ४ अर्ब ५५ करोड ७९ लाख र ६ अर्ब ७० करोड ४५ लाख रुपैयाँ अटो कर्जा प्रवाह गरेका छन् ।

सबैभन्दा धैरै कर्जा भने ग्लोबल आइएमई बैंकले १५ अर्ब ८६ करोड ९० लाख रुपैयाँ प्रवाह गरेको छ । यो गत आवको तुलनामा भने १६ प्रतिशत बढी हो । दोस्रो सूचीमा रहेको नबिल बैंकले पनि ११ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ । यो गत आवको तुलनामा १८.९४ प्रतिशत धेरै हो ।

एनआइसी एशियासहित ११ वटा बैंकले घटाए सवारी कर्जा

समिक्षा अवधिमा ११ वटा बैंकको अटो कर्जा घटेको देखिन्छ । सबैभन्दा धेरै एनआइसी एशियाको ३८.१७ प्रतिशत घटेर २ अर्ब ७८ करोड १७ लाख रुपैयाँ कायम भएको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्डको पनि ३६.५५ प्रतिशत घटेर १ अर्ब ८४ करोड ७७ लाख रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार कुमारीको अटो कर्जा पनि २२.२६ प्रतिशत, लक्ष्मी सनराइजको १८.११ प्रतिशत, माछापुच्छ्रेको १५.९३ प्रतिशत घटेको छ । यी बैंकले आठ महिनामा क्रमशः ५ अर्ब ५१ करोड, ३ अर्ब ३४ करोड र ३ अर्ब ७३ करोड कर्जा प्रवाह गरेका छन् ।

यस्तै, प्रभू बैंकको सवारी कर्जा पनि ६.४४ प्रतिशत, हिमालयनको ६.१९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको ५.३४ प्रतिशत, सिद्धार्थको ४.४२ प्रतिशत, सिटिजनको ३.७८ प्रतिशत र प्राइमको १.०२ प्रतिशत वृद्धि भएको छ ।

कुन बैंकको सवारी कर्जा कति ? (रकम दश लाखमा)


प्रतिक्रिया दिनुहोस्