तीनकुने हिंसात्मक प्रदर्शन: क्षति उपर साढे ४ करोडको बीमा दावी पेश, चार वटाले मात्रै दिए भुक्तानी « Arthapath.com
५ बैशाख २०८२, शुक्रबार

तीनकुने हिंसात्मक प्रदर्शन: क्षति उपर साढे ४ करोडको बीमा दावी पेश, चार वटाले मात्रै दिए भुक्तानी



काठमाडौं । गत चैत १५ गते काठमाडौं उपत्यकामा भएको हुलदङ्गा उपरको क्षतिमा बीमा कम्पनीहरुले साढे ३३ लाख रुपैयाँ भुक्तानी दिएका छन् ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको बुधावर (बैशाख ३ गते) सम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

चैत १५ गते काठमाडौंका विभिन्न क्षेत्रमा भएको प्रदर्शनीमा हुलदङ्गाका कारण विभिन्न व्यक्तिहरु (बीमित)को धनसम्पत्तिमा क्षति भएको थियो । विशेषगरि काठमाडौंको तीन कुने क्षेत्रमा धेरै घर, गाडी र अन्य धनसम्पत्तिको क्षति भएको थियो । सो क्षति उपर निर्जीवन बीमा कम्पनीहरुमा कुल ४ करोड ५९ लाख ६२ हजार रुपैयाँ बराबरको दावी पेश भएका छन् । त्यसमा हालसम्म कम्पनीहरुले ३३ लाख ३५ हजार ८५३ रुपैयाँ बराबरको १३ वटा मात्रै भुक्तानी दिएका छन् ।

कम्पनीहरुले ८ वटा सम्पत्ति बीमालेख अन्तर्गका ३२ लाख ४२ हजार, मोटर बीमा (निजी) तर्फ ९२ हजार र विविध अन्तर्गत १ हजार १३० रुपैयाँ भुक्तानी दिएका हुन् ।

हुलदङ्गाबाट २१ वटा घर तथा भवन, २६ वटा मोटरमा क्षति पुगेको भन्दै कम्पनीमा बीमा दावी पेश भएको छ ।

चार वटा कम्पनीले दिए, शिखर इन्स्योरेन्सको शतप्रतिशत भुक्तानी

प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्सले शतप्रतिशत दावी भुक्तानी दिएको छ । कम्पनीमा कुल ४ लाख ९८ हजार २१३ रुपैयाँ बराबरको ५ वटा मात्रै दावी पेश भएको थियो । कम्पनीले पेश भएका सबै भुक्तानी गरेको छ ।

रकमका आधारमा हालसम्म सबैभन्दा धेरै भुक्तानी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गरेको छ । कम्पनीलेले २६ लाख ७ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको हो । कम्पनीमा कुल ७६ लाख ७० हजार रुपैयाँ बराबरको ८ वटा मात्रै दावी पेश भएको थियो ।

यस्तै, सगरमाथा लुम्बिनीले ७५ लाख ४९ हजार रुपैयाँ बराबरको ७ वटा दावी पेश भएकोमा २ लाख २ हजार मात्रै भुक्तानी दिएको छ । यता, आइजीआई प्रुडेन्सियलले २८ हजार ३०० रुपैयाँ भुक्तानी दिएको छ । कम्पनीमा भने कुल १७ लाख ३८ हजार रुपैयाँ बराबरको दावी पेश भएको छ ।

आठ कम्पनीको शून्य भुक्तानी, कुनमा कति दावी पेश ?

हालसम्म आठ वटा कम्पनीहरुले भने दावी भुक्तानी गरेका छैनन् । सबैभन्दा धेरै दावी राष्ट्रिय बीमा कम्पनीमा १ करोड २७ लाख रुपैयाँ बराबरको पेश भएको छ। कम्पनीमा २ वटा दावी पेश भएका हुन् ।

तर, हालसम्म भने भुक्तानी दिएको छैन् ।

यस्तै, नेको इन्स्योरेन्समा पनि ५२ लाख रुपैयाँ, ओरियण्टलमा ४७ लाख ५० हजार, हिमालयन एभरेष्टमा २२ लाख, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार रुपैयाँ बराबरको दावी पेश भएको छ ।

यता, नेपाल इन्स्योरेन्समा पनि ८ लाख ७१ हजार, सानिमा जिआइसीमा ६ लाख र प्रभू इन्स्योरेन्समा १ लाख १० हजार रुपैयाँ बराबरको दावी पेश भएका छन् । यी कम्पनीहरुले हालसम्म कुनै पनि दावी भुक्तानी दिएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्