ऋणपत्र के हो ? यसमा किन लगानी गर्ने ?

काठमाडौं । ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो । सरकार वा कम्पनीले सम्पत्ति धितोमा नराखी लामो अवधिका लागि ऋण उठाउने उपकरणलाई ऋणपत्र भनिन्छ । यसलाई बन्ड अथवा डिबेन्चर पनि भनिन्छ । यस किसिमको औजार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले प्रयोग गर्न सक्छन् । विश्व बैंक, एसियाली विकास बैंक जस्ता बहुराष्ट्रिय संस्थादेखि निजी क्षेत्रका कम्पनीहरुले पनि ऋणपत्रमार्फत ठूलो परिमाणमा पुँजी संकलन गरिरहेका हुन्छन् ।
व्यक्ति, संस्था र सरकारले ऋणपत्र खरिद गर्न सक्छन् । यसमा लगानी गर्ने लगानीकर्ता तोकिएको समयमा ब्याज र ऋणपत्र परिपक्व भएपछि साँवा प्राप्त गर्न सक्छन् । जसले गर्दा यसलाई वित्तीय औजारको रूपमा पनि लिने गरिन्छ । ऋणपत्र जारी गर्ने संस्था मात्र नभई लगानीकर्ताको लागि पनि जोखिमयुक्त मानिन्छ । यसमा वार्षिक, अर्धवाषिर्क वा त्रैमासिक रूपमा निश्चित ब्याज प्रदान गरिन्छ ।
सरकारले वा नेपाल राष्ट्र बैंकले विभिन्न आर्थिक तथा वित्तीय आवश्यकता अनुसार ऋणपत्र जारी गर्दै आइरहेका हुन्छन् ।
सरकारी आम्दानीले खर्च धान्न नसकेको अवस्थामा बजेट घाटा पूर्ति गर्न ऋणपत्र जारी गरिन्छ । विकास निर्माणका लागि पूँजी जुटाउनका लागि पनि ऋणपत्र निष्काशन गरिन्छ । तरलता व्यवस्थापन गर्न र सार्वजनिक ऋण व्यवस्थापन गर्न पनि ऋणपत्र जारी गरिन्छ ।ऋणपत्र सुरक्षित र स्थिर आय दिने स्रोत भएकाले निजी क्षेत्रका लगानीकर्तालाई आकर्षित पनि जारी गरिन्छ ।
ऋणपत्र संस्थागत र सरकारी तबरबाट जारी हुन्छ । संस्थागत ऋणपत्र अन्तर्गत कम्पनीले आफ्ना ऋणपत्रधनीलाई सामान्यतया वाषिर्क वा अर्धवाषिर्क रुपमा ब्याज भुक्तानी गर्छन । संस्थागत ऋणपत्रहरुको दोश्रो बजारमा कारोबार पनि हुन्छ । दोश्रो बजारको मूल्य माग र आपूर्तीले निर्धारण गर्ने भएकोले ऋणपत्रको अंकित मूल्य भन्दा तल वा माथि बजार मूल्य कायम हुन सक्छ । संस्थागत ऋणपत्र निजी कम्पनी, बैंक वा वित्तीय संस्थाले जारी गर्छन् । सरकारी ऋणपत्रको तुलनामा संस्थागत रिपत्रमा जोखिम बढी हुन्छ भने जोखिमअनुसार ब्याज पनि आकर्षक हुन्छ । यसमा सरकारी ऋणपत्रमा जस्तो कर छुट हुँदैन ।
सरकारी ऋणपत्रदैनिक प्रशासन चलाउन, कुनै विकास कार्यक्रम सञ्चालन गर्न वा भौतिक निर्माणका लागि आवश्यक श्रोत जुटाउन सरकारले ऋणपत्र जारी गर्न सक्छ । सरकारी ऋणपत्रहरूमा ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र पर्छन् । यसमा सरकार जमानी बस्ने भएकाले तुलनात्मक रुपमा कम जोखिमयुक्त मानिन्छ ।
नेपालमा प्रचलित ऋणपत्रका प्रकारहरू:
१. ट्रेजरी बिल्स (राजस्व ऋणपत्र)
ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् । सरकारी ऋणपत्रहरू नेपाल राष्ट्र बैंकद्वारा संचालित बोलकबोल प्रक्रिया मार्फत जारी गरिन्छ । बोलकबोल अनलाईन बोलकबोल प्रणाली मार्फत सञ्चालन गरिन्छ ।
२. विकास ऋणपत्र
विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् । हाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ५, ७, ८, ९, १०, ११, १२, १३ र १५ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारको आवश्यकतानुसार यो ऋणपत्रको अवधि निर्धारण गरिन्छ ।
३. नागरिक बचतपत्र
नेपाल सरकारले नागरिकबाट आन्तरिक ऋण उठाउने उद्देश्यले जारी गर्ने सरकारी ऋणपत्रलाई नागरिक बचतपत्र भन्ने गरिएको छ । नागरिक बचतपत्रमार्फत बचतमा प्रोत्साहन गर्ने उद्देश्यले सबै नेपाली नागरिक र गैरआवासीय नेपालीबाट ऋण परिचालन गरिन्छ।
यो ब्याजदर सुनिश्चित हुने सुरक्षित लगानीको माध्यम हो। यो सामान्यतः ५ देखि ७ वर्ष अवधिको हुन्छ । निश्चित व्याजदर हुन्छ भने वार्षिक रूपमा व्याजदर भुक्तानी हुन्छ ।
४. वैदेशिक रोजगार बचतपत्र
मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले मात्र खरिद गर्न पाउने सरकारी ऋणपत्रलाई ‘वैदेशिक रोजगार बचतपत्र’ भन्ने गरिन्छ । यस्तो बचतपत्र विदेशबाट र विदेशमा आर्जित रकम वैधानिक माध्यमबाट स्वदेश ल्याएको प्रमाण पेस गरेमा समेत खरिद गर्न सकिन्छ ।वैयो बचतपत्रले विदेशमा भएको आम्दानीलाई सुरक्षित लगानीमा रूपान्तरण गर्न सहयोग गर्छ।
ऋणपत्रको अंकित मूल्य एक हजार रुपैयाँ चलेको रहेको छ । ऋणपत्रको सार्वजनिक निष्कासन हुँदा लगानीकर्ताले न्युनतम २५ कित्ताका लागि आवेदन दिनुपर्छ । अथवा लगानीकर्ताले ऋणपत्रमा लगानी गर्दा कम्तिमा २५ हजार रुपैयाँ लगाउनु पर्ने हुन्छ ।
किन गर्ने लगानी ?
- ऋणपत्रमा कम जोखिम कम हुन्छ । विशेष गरी सरकारी ऋणपत्रहरू धेरै सुरक्षित हुन्छन् ।
- समय र ब्याजदर निश्चित हुन्छ । जसबाट नियमित रूपमा आम्दानी भईरहन्छ ।
- लगानी अवधि सकिएपछि पूरै लगानी रकम फिर्ता पाइन्छ।
- दोस्रो बजारमा (धितोपत्र बजार) बेच्न पनि सकिन्छ।
- केही सरकारी ऋणपत्रहरूमा कर छुटको व्यवस्था पनि हुन्छ।
- सेयरमा मात्रै लगानी गर्नु जोखिमपूर्ण हुन सक्छ, त्यसैले ऋणपत्रले सन्तुलन ल्याउँछ।
- संस्थागत ऋणपत्रमा बढी ब्याज पाइन्छ ।