नेपाल बैंकको नाफामा चामत्कारीक उछाल

काठमाडाैं । चालू आर्थिक वर्षको ९ महिनामा नेपाल बैंक लिमिटेडको नाफा २०३८.५ प्रतिशतले वृद्धि भएको छ । बैंकको आइतबार सार्वजनिक वित्तिय विवरण अनुसार यस अवधिमा बैंकले २ अर्ब ७८ करोड रुपैयाँबढी खुद नाफा गर्न सफल भएको छ।
बैंकले गत वर्षको चैत मसान्तसम्म १३ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।
यस्तै यस अवधिमा बैंककाे वितरणयाेग्य नाफा १ अर्ब २७ करोड रूपैयाँ पुगेकाे छ भने प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ १८ पैसाबाट बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ। गत वर्ष बैंकको लाभांश क्षमता करीब १ अर्बले ऋणात्मक रहेको थियो ।
त्यस्तै बैंकको सञ्चालन नाफा पनि ५८ करोडबाट बढेर एकैचोटी ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने खुद ब्याज र कुल सञ्चालन आम्दानी क्रमशः ७ करोड १० लाख रुपैयाँ र ८ करोड ५६ लाख रुपैयाँ नाघेको छ।
हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० करोड र रिजर्भ कोषमा २३ अर्ब ३१ करोड रुपैयाँबढी रहेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ७४ पैसा रहेको छ भने निष्क्रिय कर्जा ४.८५ प्रतिशत रहेको छ।