राष्ट्रिय वाणिज्य बैंकको साढे २ अर्बको ऋणपत्र आजदेखि बिक्री, ब्याजदर र अवधि कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ७ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको २ अर्ब ५० करोड रुपैंयाको ऋणपत्र -७ प्रतिशत आरबिबिएल ऋणपत्र २०८८ आज बैशाख ७ गतेबाट निष्काशन भएको छ ।
बैंकले प्रति ऋणपत्र १ हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ भने सर्वसाधारण लगानीकर्ताले ९ लाख ५० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा बैशाख १० गते हुनेछ भने ढिलोमा बैशाख २१ गते हुनेछ ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले बैंकलाई केयर एनपी ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । उक्त ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ ।
बैंकको हाल वटा ७ प्रदेश, ७७ वटा जिल्लाका सबै सदरमुकाममा सहित २ सय ९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३ सय १२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।