वैदेशिक व्यापारको आकार १५ खर्ब नजिक, ६५ प्रतिशत बढ्याे निर्यात « Arthapath.com
७ बैशाख २०८२, आईतवार

वैदेशिक व्यापारको आकार १५ खर्ब नजिक, ६५ प्रतिशत बढ्याे निर्यात



काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा मुलुकको आयात र निर्यात दुबै बढेकाे छ । चालु आर्थिक वर्षकाे चैत मसान्तसम्म आयात १२.१८ प्रतिशत र निर्यात ६५.१६ प्रतिशतले बढेकाे छ ।

भन्सार विभागको तथ्यांक अनुसार २०८१/८२ को चैत मसान्तसम्म नेपालले १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, भने १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेकाे छ ।

गत वर्षकाे यस अवधिमा ११ खर्ब ६७ अर्ब ३६ कराेड रूपैयाँ बराबरकाे वस्तु आयात भएकाे थियाे भने १ खर्ब १३ अर्ब ९४ कराेड रूपैयाँ बराबरकाे वस्तु निर्यात भएकाे थियाे ।

आयात र निर्यात दुबै बढ्दा पनि मुलुककाे कुल व्यापार घाटा पनि बढेकाे छ । चालु वर्षको ९ महिनामा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहाेरेकाे छ । अघिल्लो वर्षको सोही अवधिमा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बराबर व्यापार घाटा रहेको थियो । गत वर्षकाे यसै अवधिकाे तुलनामा व्यापार घाटा ६.४५ प्रतिशतले बढेकाे हाे ।

विभागको तथ्यांकअनुसार यस अवधिमा मुलुकको कुल वैदेशिक व्यापार १६.८९ प्रतिशतले बढेको छ। गत वर्ष १२ खर्ब ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले १४ खर्ब ९७ अर्बको वैदेशकि व्यापार भएको छ।


प्रतिक्रिया दिनुहोस्