मुक्तिनाथ विकास बैंकले कमायो साढे ७२ करोड नाफा, कस्तो छ व्यवसाय ? « Arthapath.com
७ बैशाख २०८२, आईतवार

मुक्तिनाथ विकास बैंकले कमायो साढे ७२ करोड नाफा, कस्तो छ व्यवसाय ?



काठमाडौं । मुक्तिनाथ विकास बैंकले साढे ७२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकले ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने १६.८६ प्रतिशत कमी हो । गत आवको सो अवधिमा बैंकले ८७ करोड १८ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, बैंकको संचालन नाफा पनि १८ प्रतिशत घटेर १ अर्ब ३ करोड ५२ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सोही अवधिमा यस्तो नाफा १ अर्ब २६ करोड २४ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ४.९७ प्रतिशत बढेर ३ अर्ब २८ करोड ५८ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको वितरणयोग्य नाफा भने ६१ करोड ९५ लाख रुपैयाँ छ । यसका आधारमा बैंकको लाभांश क्षमता भने ८.७९ प्रतिशत छ ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ राखेको छ ।

बैंकको व्यवासय पनि बढ्दो नै देखिन्छ । समिक्षा अवधिमा बैंकको निक्षेप ३.२५ प्रतिशत वृद्धि भई १ खर्ब १३ अर्ब ३३ करोड ९ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा लगानी भने ४.४९ प्रतिशत वृद्धि भई ९६ अर्ब ३ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा पनि २.०२ प्रतिशतबाट बढेर ४.१४ प्रतिशत पुगेको छ । खराब कर्जा बढ्दा नै नाफा घट्न पुगेको हो ।
हाल बैंकको प्रतिसेयर आम्दानी १३.७१ रुपैयाँ छ र प्रतिसेयर नेटवर्थ १५८.३ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्