सञ्चालन नाफामा नेपाल बैंकको छलाङ, शीर्ष स्थानमा नबिल कायमै

काठमाडौं । यो साल सरकारी स्वामित्वको नेपाल बैंकले सञ्चालन नाफामा ठूलो छलाङ मारेको छ । विगतमा निष्कृय रहेको कर्जा उठेपछि नाफामा बढोत्तरी भएको हो । यो बैंकको सञ्चालन नाफा ३ अर्ब ७३ करोड हाराहारी बढेको छ । यो भनेको गत साल चैतको तुलनामा ६३७ प्रतिशत हो ।
रकमका आधारमा नेपाल बैंकपछि ग्लोबल आईएमई, एभरेस्ट र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ठूलो नाफा आर्जन गरेको छ । ग्लोबलले १ अर्ब ६२ करोड, एभरेस्टले १ अर्ब ३५ करोड र इन्भेष्टमेन्टले १ अर्ब २० करोडभन्दा ज्यादा सञ्चालन नाफा थपेका छन् ।
तर प्रतिशतको आँकडाबाट हेर्ने हो भने नेपाल बैंकपछि सर्वाधिक नाफा बढाउनेमा सिटिजन्स बैंक दोस्रो नम्बरमा देखिन्छ । उसले ७२ प्रतिशतभन्दा फराकिलो अन्तरले सञ्चालन नाफा बढाएको छ । माछापुच्छ्रे बैंकले पनि झण्डै ५३ प्रतिशतले सञ्चालन नाफा बढाएको छ ।
एभरेस्टले ३६ र ग्लोबल आईएमईले ३४ प्रतिशत नाफा बढाएका छन् । इन्भेष्टमेन्टले २२, नबिलले १४, लक्ष्मी सनराइजले १३ र एनएमबीले साढे १० प्रतिशतभन्दा ज्यादा अन्तरले सञ्चालन नाफामा बढोत्तरी गरेका छन् । सानिमा, नेपाल एसबीआई र हिमालयन बैंकले पनि ८–९ प्रतिशतको अन्तरालले नाफा बढाएका छन् ।
आठ बैंकको नाफा घट्यो
कुल २० मध्ये १२ वाणिज्य बैंकको सञ्चालन नाफा बढेको भए पनि यो अवधिमा बाँकी ८ बैंकको नाफामा भने संकुचन देखिएको छ । एनआईसी एसिया बैंकले सर्वाधिक ६४ प्रतिशतभन्दा ठूलो ‘नफा क्षय’ व्यहोर्नु परेको छ । कुमारी बैंकको नाफा पनि ६२ प्रतिशत घटेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै ५० प्रतिशत घटेको छ । त्यस्तै, १० प्रतिशतभन्दा कम नै सही, तर प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, प्रभू, कृषि विकास र सिद्धार्थ बैंकको सञ्चालन नाफा पनि पोहोरभन्दा कम भएको छ ।