आइसिएफसि र मञ्जुश्रीले कमाए सर्वाधिक नाफा, घाटामै चलिरहेका छन् आधा दर्जन कम्पनी

काठमाडौं । फाइनान्स कम्पनीहरुको नाफामा अझै सुधार आउन सकिरहेको छैन । अझै पनि पाँच कम्पनी नोक्सानीमै छन् । १० वटा मात्रै कम्पनी नाफामा देखिन्छन् ।
कम्पनीहरुले प्रकाशन गरेका चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीहरुले औसतमा १८ करोड ९६ लाख रुपैयाँ मात्रै नाफा कमाएका छन्, यो गत आवको तुलनामा ७.४३ प्रतिशत कमी हो । जबकि, गत आवको तेस्रो त्रैमासमा उनीहरुको नाफा २० करोड ४८ लाख रुपैयाँ बढी थियो ।
समिक्षा अवधिमा ६ वटाले नाफा बढाएका छन् । दुई वटाको घटेको छ । गत आवको तेस्रो त्रैमासमा नाफामा रहेका गोर्खाज र बेष्ट फाइनान्स नोक्सानीमा पुगेका छन् ।
गत आवमा नोक्सानीमा रहेका सेन्ट्रल र गुडविल फाइनान्स भने नाफामा उक्लिएका छन् । यी दुई कम्पनी गत वर्ष क्रमशः ६ करोड १४ लाख र ८ करोड ६४ लाख रुपैयाँ नोक्सानीमा थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने सेन्ट्रल र गुडविल फाइनान्सले क्रमशः १ करोड ६९ लाख र १ करोड ५२ लाख रुपैयाँ नाफा कमाएका छन् ।
तर, रिलायन्स फाइनान्स सबैभन्दा ठुलो नोक्सानीमा देखिन्छ । कम्पनीले १७ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।
यस्तै, जानकी फाइनान्स पनि १२ करोड ८३ लाख रुपैयाँ नोक्सानीमा छ ।
यता, बेष्ट फाइनान्स ७ करोड ५२ लाख, गोर्खाज फाइनान्स ६ करोड २१ लाख, समृद्धि फाइनान्स ३ करोड ५७ लाख रुपैयाँ नोक्सानीमा छन् ।
तेस्रो त्रैमासमा आइसिएफसि फाइनान्स नाफामा चम्किएको छ । कम्पनीको नाफा ४८६.३१ प्रतिशत बढेर १९ करोड ५० लाख रुपैयाँ कायम भएको छ ।
यता, मञ्जुश्री फाइनान्सको नाफा पनि १३.३३ प्रतिशत बढेर १७ करोड ११ लाख, प्रोग्रेसिभको ६४.७४ प्रतिशत बढेर ९ करोड ४ लाख, मल्टीपर्पसको ३५.८७ प्रतिशत बढेर २ करोड १६ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सको ५७.३१ प्रतिशत बढेर ४ करोड ९१ लाख र नेपाल फाइनान्सको २८.९८ प्रतिशत बढेर १७ लाख रुपैयाँ कायम पुगेको छ ।