१४८ प्रतिशतले बढ्याे सपोर्ट लघुवित्त वित्तीय संस्थाको नाफा, कस्ता छन् अन्य सूचक ?

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा सपोर्ट लघुवित्त वित्तीय संस्थाको नाफा उल्लेख्य बढेको छ । कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधमिा सपोर्ट लघुवित्तको नाफा १४८.३७ प्रतिशतले बढेको
गत आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने यस वर्षको चैतमा उक्त नाफा बढेर ३ करोड ६ लाख ४९ हजार रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७७.४७ प्रतिशत बढेर ८ करोड ७२ लाख ८० हजार रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन मुनाफा २.५० प्रतिशत बढेर ४ करोड ६५ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १६ रुपैयाँ १० पैसा बढेर ३३ रुपैयाँ ३७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७१.८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ७९ पैसा रहेको छ।
१२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ६ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले १ अर्ब २६ करोड ८९ लाख रुपैयाँ सापटी र ४१ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८४ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।