नाफा वृद्धिदरकै हाराहारीमा विकास बैंकको औसत लाभांश क्षमता, कुनको हैसियत कति ?

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकको औसत लाभांश क्षमता वृद्धि भएको देखिन्छ । नाफामा पनि सामान्य सुधार गरेका आठ विकास बैंकको लाभांश क्षमता पनि बढेको हो ।
बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार हाल औसत लाभांश क्षमता साढे ४ प्रतिशत मात्रै छ । एकल अंकमै भएता पनि गत आवको तुलनामा भने यो बढी नै हो ।
गत आवको तेस्रो त्रैमासमा बैंकहरुको औसत लाभांश क्षमता १.०८ प्रतिशत मात्रै थियो । कामना सेवा विकास बैंकको मात्रै ८.७५ प्रतिशत लाभांश क्षमता थियो । तर, अन्य बैंकहरुको भने ३ प्रतिशत बिन्दु भन्दा कम नै थियो ।
तर, चालु आवको समिक्षा अवधिमा आइपुग्दा भने बैंकहरुको औसत लााभांश क्षमता नै ४.५७ प्रतिशत पुगेको छ । नाफा पनि ४.३५ प्रतिशत बढाएर ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा ज्योति विकास बैंकको लाभांश क्षमता नै ऋणात्मक छ । ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको वितरणयोग्य नाफा भने ५६ करोड ८७ लाख ७६ हजार रुपैयाँ ऋणात्मक छ । बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ छ । यसका आधारमा बैंकको लाभांश क्षमता १२.९४ प्रतिशत ऋणात्मक छ ।
समिक्षा अवधिमा सबैभन्दा धेरै लाभांश क्षमता कामना सेवा विकासको देखिन्छ । बैंकले हाल कायम चुक्ता पुँजीको १४.२३ प्रतिशत लाभांश दिन सक्ने सामर्थ्य बनाएको छ । बैंकले ९ महिनामा ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यता, वितरणयोग्य नाफा भने ४९ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
यस्तै, मुक्तिनाथ विकास बैंकको लाभांश क्षमता ८.७९ प्रतिशत, शाइन रेसुङ्गाको ७.९४ प्रतिशत, सांग्रिला डेभलपमेन्टको ६.७५ प्रतिशत, गरिमा विकासको ६.१७ प्रतिशत, महालक्ष्मी विकासको ३.८ प्रतिशत छ । यता, लुम्बिनी विकासको भने झिनो ०.०१ प्रतिशत मात्रै देखिन्छ ।
समिक्षा अवधिमा मुक्तिनाथ विकास बैंकले ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको वितरणयोग्य नाफा ६१ करोड ९५ लाख रुपैयाँ छ ।
यस्तै, नाफामा नम्बर वान्को ताज पाएको गरिमा विकास बैंकले भने ७३ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको वितरयोग्य नाफा भने ३५ करोड ४ लाख रुपैयाँ छ ।
यस्तै, शाइन रेसुङ्गाले ५१ करोड ४० लाख रुपैयाँ, सांग्रिलाले ४३ करोड ४२ लाख, महालक्ष्मीले ४३ करोड ६४ लाख, लुम्बिनीले ४ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यी बैंकहरुको वितरणयोग्य नाफा भने क्रमशः ३८करोड ७१ लाख, २४ करोड २ लाख, १६ करोड ३४ लाख र ४ लाख ८० हजार रुपैयाँ छ ।