नेपालको अन्तर्राष्ट्रिय व्यापार गणित: विश्वका १६३ बढी मुलुकसँग कारोबार, नाफा भने मुट्ठीभरसँग मात्रै « Arthapath.com
९ बैशाख २०८२, मंगलवार

नेपालको अन्तर्राष्ट्रिय व्यापार गणित: विश्वका १६३ बढी मुलुकसँग कारोबार, नाफा भने मुट्ठीभरसँग मात्रै



काठमाडौं । नौं महिनाको अवधिमा नेपाल झन्डै १५ खर्ब बराबरको वैदेशिक व्यापार गरेको छ । विश्वका डेढ सय बढी मुलुकसँग नेपालले वैदेशिक व्यापार हुँदै आएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा कुल वैदेशिक व्यापार १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, निर्यात भने १ खर्ब ८८ अर्ब १८ करोड ५० लाख रुपैयाँको मात्रै गरेको छ ।

आयातको तुलनामा निर्यात कम हुँदा वैदेशिक व्यापार घाटा भने ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ कायम भएको छ । ठुलो आकारमा आयात र न्युन रकम निर्यात हुँदा वैदेशिक आर्थिक साझेदारहरुसँग व्यापार घाटा व्यहोर्दै आएको छ ।

समिक्षा अवधिमा विश्वका १६३ वटा बढी मुलुकसँग वैदेशिक व्यापार भएका छन् । तर, नेपाल करिव तीन दर्जन मुलुकसँग मात्रै नाफामा छ । अफ्गानस्थान, डेनमार्क लगायतका ३५ वटा देशसँगको व्यापारमा मात्रै नाफा देखिएको छ । विभागका अनुसार सबैभन्दा धेरे नाफा अफ्गानस्थानसँगको व्यापारमा छ । समिक्षा अवधिमा नेपालले सो मुलुकबाट २ करोड २८ लाख रुपैयाँ बराबरको मात्रै आयात गरेको छ । तर, ७० करोड ५३ लाख रुपैयाँ बराबरको निर्यात गर्न सफल भएको छ । समिक्षा अवधिमा सो मुलुकसँगको व्यापारमा भने ६८ करोड २५ लाख रुपैयाँ नाफामा देखिन्छ ।

यस्तै, डेनमार्कसँगको व्यापारमा पनि २३ करोड ४७ लाख रुपैयाँ नाफामा छ । समिक्षा अवधिमा डेनमार्कबाट नेपाले २८ करोड ९० लाख रुपैयाँ बराबरको आयात गरेको छ। तर, निर्यात भने ५२ करोड ३७ लाख रुपैयाँ बराबरको गरेको छ ।

यस्तै, रुसी संघसँग ३ करोड ५१ लाख, अष्टेरियासँग २ करोड ४८ लाख, माल्दिभ्ससँग १ करोड ५३ लाख, लाटभियासँग १ करोड ३१ लाख, आइसल्याण्डसँग १ करोड ३० लाख, क्रोरियासँग १ करोड २० लाख रुपैयाँ नाफामा छ । यस्तै, माल्टा, यमेन, उरुग्गे, फिजी, जाबिया, सेर्बिया, सुडान, कोलोबिया, मोरोक्को, माली, ताजिक्स्थिान लगायतका मुलुकसँग नाफामा छ ।

यी हुन् वैदेशिक व्यापारमा नेपालले नाफा व्यहोरेका मुलुकहरु

हाल नेपालबाट विशेषगरि कार्पेट, हस्तनिर्मित ऊनी गलैंचा, पश्मिना, कफी, तयारी लुगा, साना कारखानामा बनेका कपडा तथा हस्तकलाका सामग्रीहरु, धातुका मूर्तिहरू, काठका कलात्मक सामान, थाङ्का चित्रकलाहरू निर्यात हुँदै आएको छ ।

कृषिजन्य वस्तुहरु, वनस्पति उत्पादन, खनिज तथा उद्योगजन्य उत्पादनहरु लैजान्छ । विशेषगरि विद्युत, सिमेन्ट, गिट्टी, बालुवा, फलाम तथा इस्पात सामग्री, प्लाइउड, हस्तकला सामग्रीहरु चिया, अदुवा मसला लगायत सामान निर्यात हुँदै आएको छ ।

वैदेशिक व्यापारमा नेपालको सबैभन्दा ठुलो घाटा भारतसँग छ । समिक्षा अवधिमा भारतसँग ७ खर्ब ८५ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, १ खर्ब ४९ अर्ब ९८ करोड १२ लाख रुपैयाँको मात्रै निर्यात गरेको छ । ९ महिनामा भारतसँग नेपालको व्यापार घाटा ६ खर्ब ३५ अर्ब ७६ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

भारतपछि चीनसँगको व्यापार घाटा पनि उत्तिकै ठुलो छ । समिक्षा अवधिमा नेपालले चीनसँगको व्यापारमा २ खर्ब ४५ अर्ब ६५ करोड २३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । चीनबाट २ खर्ब ४७ अर्ब ९० करोड ८० लाख रुपैयाँको आयात गरेको नेपालले २ अर्ब २५ करोड ५६ लाख रुपैयाँको मात्रै निर्यात गरेको छ ।

नेपालले भारतबाट पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्यास, औद्योगिक कच्च पदार्थ मोटर गाडी आयात गर्दै आएको छ। यसका साथै विद्युतीय उपकरण, खाद्य सामग्री, लत्ता कपडा, औषधी र घरेलु उपकरण सामग्रीहरुले ठुलो मात्रामा आयात गर्दै आएको छ ।

चीनसँग भने गाडी, मोबाइल, टिभी, ल्यापटप, टिभी, क्यामेरा, औद्योगिक कच्च पदार्थ, बिजुली उपकरण, निर्माण कार्य, कृषि तथा उद्योगहरुका लागि आवश्यक मेसिनरी सामग्री लगायतका विद्युतीय सामग्री आयात आयात गर्दै आएको छ ।

यस्तै, अर्जेन्टिनासाग ५७ अर्ब ७० करोड, यूएइसँग २१ अर्ब २४ करोड, युक्रेनसँग २० अर्ब ३४ करोड, अष्ट्रेलियासँग १३ अर्ब ८४ करोड, मलेसियासँग १० अर्ब ५५ करोड, थाइल्याण्डसँग १० अर्ब ३२ करोड र इन्डोनेसियासँग १० अर्ब २३ करोड रुपैयाँ व्यापार घाटामा छ । यीसहित नामै नसुनेका समेत गरि १२८ बढी मुलुकसँग नेपालको व्यापार घाटा छ ।

यी हुन् वैदेशिक व्यापारमा नेपालले घाटा व्यहोरेका मुलुकहरु


प्रतिक्रिया दिनुहोस्