घिमिरेले सम्हाले एनएमबीको व्यवस्थापकीय नेतृत्व, उपाध्यायको पनि बढुवा

काठमाडौं । नेपालमा दिगो बैंकिङ अभ्यास भित्र्याने प्रमुख संस्थाको रुपमा स्थापित एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) फेरिएका छन् । यो बैंकको व्यवस्थापकीय नेतृत्व अब गोबिन्द घिमिरेले सम्हालेका छन् ।
गत मंगलबारदेखि पूर्व सीईओ सुनिल केसीको कार्यकाल समाप्त भएसँगै घिमिरेले नेतृत्व सम्हालेका हुन् । केसी २०७३ चैत १ देखि उक्त बैंकको सीईओ थिए ।
बैंकको सञ्चालक समितिले १० वैशाखदेखि घिमिरेलाई सीईओमा बढुवा गर्ने निर्णय गत फागुनमै गरेको थियो । त्यही बेला सञ्चालक समितिले सुदेश उपाध्यायलाई बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको थियो ।
यी दुबैजनाले आज बुधबारदेखि कार्यभार सम्हालेका छन् ।
सुनिल केसीलाई बैंक सञ्चालक समितिले तेस्रो कार्यकालका लागि जम्मा ४० दिनमात्रै सीईओ बनाउने निर्णय गरेको थियो । उच्च अदालत पाटनले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) कार्यान्वयनमा आएको ८ वर्ष पुरा भएसँगै उक्त ऐनले तोकेको ‘दुई कार्यकाल’को अवधि समाप्त हुने भनेर फैसला गरेपछि केसीलाई हटाउने निर्णय भएको थियो ।
९ वैशाखमा बाफिया कार्यान्वयनमा आएको ८ वर्ष पुगेको छ । तर अन्य बैंकरले भने उक्त फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन हालेर अन्तरिम आदेश पाइसकेका छन् ।
सर्वोच्चको अन्तरिम आदेशले प्रभू, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई कार्यकाल पुरा गर्ने मौका प्रदान गरेको छ । सँगै घिमिरेलाई ‘अलि छिट्टै’ सीईओ बन्ने मौका पनि यसै अदालती प्रक्रियाले उपलब्ध गराएको छ ।