आधार दर घटेर ५ प्रतिशत, एकल अंकको ब्याजमा कर्जा !

काठमाडौं । वाणिज्य बैंकहरुले लगातार निक्षेपको ब्याजदर घटाएपछि उनीहरुको आधार दरमा पनि भारी गिरावट देखिएको छ । पछिल्लो एक वर्षमा बैंकहरुको औसत आधार दर २.३१ प्रतिशत विन्दु (२३१ आधार विन्दु)को फराकिलो अन्तरले घटेको छ ।
गत साल चैत मसान्तमा ८.६४ प्रतिशत रहेको आधार दर गत चैतसम्म आउँदा ६.३३ प्रतिशतमा झरेको छ ।
अघिल्लो त्रैमासको तुलनामा पनि आधार दरमा कमी आएको छ । गत पुस मसान्तको आँकडा अनुसार वाणिज्य बैंकहरुको औसत आधार दर ६.७१ प्रतिशत थियो, जुन चैतको तुलनामा ३८ आधार विन्दु ज्यादा हो ।
बैंकहरुले आधार दर तय गर्दा उनीहरुसँग भएको लगानी योग्य पैसा जुटाउँदा हुने वास्तविक खर्चलाई हिसाब गरेका हुन्छन् । त्यो भनेको निक्षेपकर्तालाई तिर्ने ब्याज, बैंकको सञ्चालन खर्च र अन्य प्रशासनिक एवम् नियामकीय व्यवस्थाका कारण हुने स्रोत क्षयलाई परिपूर्ति गर्ने लागत समेत जोडेका हुन्छन् ।
आधार दरभन्दा सस्तो ब्याजमा ऋण दिने हो भने बैंकलाई त्यस्तो ऋणबाट घाटा पर्ने हुन्छ । त्यसैले राष्ट्र बैंकले आधार दरभन्दा कम ब्याजमा ऋण दिन नपाइने व्यवस्था गरेको छ ।
यसको अर्थ आधार दर कम भएका बैंकले चाहे भने तपाइँलाई सस्तोमा कर्जा दिन सक्छन् । अहिलेजस्तो अधिक तरलताको अवस्थामा त यो संभावना अझ बढी हुन्छ । यस्तो बेला ऋणीको ‘बार्गेनिङ’ क्षमता ज्यादा हुने गर्छ ।
कसको कम, कमको ज्यादा ?
अहिले सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा कम छ । उसले जम्मा ५.०९ प्रतिशतमै ऋण दिनसक्ने सामथ्र्य पनि राख्छ । त्यसपछि राष्ट्रिय वाणिज्य बैंक र एभरेस्ट बैंकको आधार दर साढे ५ प्रतिशतभन्दा कम देखिन्छ ।
नेपाल बैंक र नबिल बैंकको आधार दर पनि ६ प्रतिशत हाराहारी, तर त्योभन्दा कम छ । कृषि विकास र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि आधारदरलाई ६ प्रतिशतमै राखेका छन् । ग्लोबल आईएमई, सानिमा, सिद्धार्थ र एनएमबी बैंकको आधार दर पनि औसत दर हाराहारी नै छ ।
यस बाहेकका ८ बैंकको आधार दर साढे ६ देखि ७ प्रतिशतको बीचमा छन् । एनआईसी एसिया बैंकको आधार दर सबैभन्दा बढी देखिएको छ । उसले ७.२ प्रतिशत आधार दर रहेको प्रतिवेदन प्रकाशित गरेको छ । यो भनेको दोस्रो स्थानमा रहेका प्रभू र प्राइम बैंकको तुलनामा ०.२ प्रतिशत विन्दु ज्यादा हो ।
ब्याजदरमा असर
आधार दर कम भएका बैंकले स्वाभाविक रुपमा ब्याजदर पनि कम गर्न सक्छन् । बैंकहरुले नै प्रकाशित गरेको लिने र दिने ब्याजदरको अन्तर (स्प्रेड)लाई समायोजन गर्ने हो भने सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैंकले कर्जा दिइरहेको दखिन्छ ।
उसले ३.९४ प्रतिशत स्प्रेड जोडेर ९.०८ प्रतिशतमा कर्जा दिएको देखिन्छ । चार्टर्डले पनि त्यही हाराहारी र एभरेस्टले ९.१२ प्रतिशत औसत ब्याज लिने गरेको यो तथ्यांकबाट देखिन्छ । यद्यपि, आधार दर र स्प्रेडको संयोजनले कर्जाको वास्तविक ब्याजदरलाई प्रतिनिधित्व भने गर्दैन ।
तैपनि यी आँकडाले एनआईसी एसियाबाहेक सबै बैंकको कर्जा ब्याजदर ११ प्रतिशतभन्दा तल रहेको देखाएको छ । यसमध्ये ६ बैंकको ब्याजदर एकल अंक अर्थात् ९ प्रतिशत हाराहारी नै रहेको अनुमान लगाउन सकिन्छ । जसमा माथि उल्लेख गरिएका तीन बैंकबाहेक नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा र नेपाल बैंक छन् ।