अमेरिकी ट्यारिफ: विश्व अर्थतन्त्र २.८ प्रतिशतमा खुम्चिने, कुन देशकाे अवस्था कस्ताे ? « Arthapath.com
११ बैशाख २०८२, बिहीबार

अमेरिकी ट्यारिफ: विश्व अर्थतन्त्र २.८ प्रतिशतमा खुम्चिने, कुन देशकाे अवस्था कस्ताे ?



काठमाडाैं । सन् २०२५ मा वैश्विक अर्थतन्त्र २.८५ले मात्र विस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागु गरेको ट्यारिफ वा आयात शुल्कमा चर्को वृद्धिले विश्वव्यापी आर्थिक वृद्धिमा उल्लेखनीय शिथिलता आउने कोषले जनाएको छ।

आईएमएफले यसअघि गरेको प्रक्षेपणमा विश्व अर्थतन्त्र यो वर्ष ३.३५ ले बढ्ने र सन् २०२६ म ३.०५ ले बढ्ने प्रक्षेपण गरेको थियो । तर, यो साता कोषले आफ्नो पहिलेको प्रक्षेपणलाई संशोधन गर्दै २.८ प्रतिशततमा खुम्च्याएको हो ।

आपूर्ति शृङ्खलाहरू अन्तरसम्बन्धित रहने हुँदा ट्यारिफले विश्वभरि व्यापारमा पार्न सक्ने सम्भावित नकारात्मक प्रभावबारे समेत आईएमएफले सचेत गराएको छ। व्यापारनीतिमा देखा परेको अनिश्चयबीच लगानी घटाउनु तथा खरिद कटौती गर्नुले अर्थतन्त्रमा असर पर्ने बुझिएको छ ।

सबैभन्दा ठूलाे असर अमेरिकालाई

अमेरिकी राष्ट्रपति ट्रम्पकाे ट्यारिफले निम्त्याएकाे व्यापार युद्धले अमेरिका सबैभन्दा बढी प्रभावित हुने देखिएकाे छ ।

आईएमएफले यस वर्ष अमेरिकाको आर्थिक वृद्धिदरको प्रक्षेपणमा समेत ठूलो कटौति गरेको छ । ज्यानुअरी महिनामा अमेरिकाको यो वर्षको आर्थिक वृद्धिदर २.७५ हुने प्रक्षेपण गरेको कोषले अहिले उसले त्यसलाई घटाएर १.८५ प्रतिशतमा झारेको छ।

विद्यमान नीतिगत अनिश्चय, व्यापार तनाव अनि अपेक्षितभन्दा कम उपभोक्ता खर्चका कारण अमेरिकी वृद्धिदरको प्रक्षेपण कटौति गरिएको आइएमएफले जनाएको छ। अझ सन् २०२६ को वृद्धिदरलाई पनि ट्यारिफले प्रभाव पार्ने भनिएको छ।

यो वर्ष अमेरिकी अर्थतन्त्रमा मन्दी छाउने सम्भावना ४० प्रतिशत रहेको कोषले अनुमान गरेको छ। गत वर्ष अक्टोबरमा यस्तो सम्भावना २५ प्रतिशत मात्र रहेको अनुमान गरिएको थियो।

कोरोनाले थला पारेको अर्थतन्त्रलाई चलायमान बनाउन जोड दिनु पर्नेमा ट्रम्पले व्यापार युद्ध शुरु गरेर अर्को चुनौति थपेको कोषका प्रमुख अर्थशास्त्री पिएर–ओलिभिए गुराँशाले बताए।

यसले विश्वभरकै आपूर्ति सृंखला खल्बलिएको र त्यसको सबैभन्दा ठूलो असर अमेरिकी उपभोक्ताहरुको क्रय शक्ति उल्लेख्य रुपमा घटेको बताइएको छ ।

अन्य देशकाे अवस्था के ?

सन् २०२५ मा अमेरिका बाहेक अन्य धनीदेशहरूकाे आर्थिक वृद्धिदरको प्रक्षेपणमा समेत कटाैति गरिएकाे छ ।

आईएमएफले युकेका लागि १.१ प्रतिशतकाे मात्र आर्थिक वृद्धिदरको प्रक्षेपण गरेकाे छ भने विशेष गरी ऊर्जा र पानीका शुल्कहरूमा वृद्धिका कारण यूकेको महँगीदर ३.१५ हुने कोषले उल्लेख गरेको छ ।

तर जर्मनी, फ्रान्स र इटलीको तुलनामा यूकेको आर्थिक वृद्धि धेरै हुने पनि काेषले जनाएकाे छ। यस वर्ष जर्मनीको ०.३५, इटालीको ०.४५ तथा फ्रान्स र जापानको ०.६ प्रतिशतले मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

यस्तै चीनको आर्थिक वृद्धिदर यो वर्ष ४.५ प्रतिशत रहने आइएमएफको ताजा प्रक्षेपण छ। यसअघि उसले चीनको वृद्धिदर ४.६५ हुने भनेको थियो।

यस्तै सन् २०२५ मा क्यानडाकाे आर्थिक वृद्धिदर २ प्रतिशत हुने प्रक्षेपण गरेको कोषले अहिले उसले त्यसलाई घटाएर १.४ प्रतिशतमा झारेको छ।

चर्कँदो व्यापार युद्धबी अमेरिकाले चिनियाँ आयातमा २४५ प्रतिशत ट्यारिफ लगाइदिएको छ भने जबाफमा चीनले अमेरिकी आयातमा १२५ प्रतिशत शुल्क लगाइदिएको छ।

बहुसङ्ख्यक मुलुकहरूलाई ट्रम्पले १० प्रतिशत ट्यारिफ लगाइदिएका छन्। दर्जनौँ मुलुकहरूमा उनले घोषणा गरेका चर्का ट्यारिफ चाहिँ ९० दिनका लागि स्थगन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्