नेपालमा किन तिव्र विकसित हुँदैछ ‘अपार्टमेन्ट कल्चर’ ? « Arthapath.com
१२ बैशाख २०८२, शुक्रबार

नेपालमा किन तिव्र विकसित हुँदैछ ‘अपार्टमेन्ट कल्चर’ ?



काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा अपार्टमेन्टमा बस्ने प्रवृत्ति तीव्र रुपमा बढ्दो छ । सहरी भीड, महँगो जग्गा र व्यस्त जीवनशैलीका कारण अपार्टमेन्ट संस्कृति बढ्दो छ ।

विशेषगरी काठमाडौं उपत्यका र अन्य शहरी क्षेत्रहरूमा यस्तो प्रवृत्ति बढेको हो । पछिल्लो धेरैजसो मध्यम र उच्च वर्गका मानिसहरू आफ्नै जग्गामा घर बनाएर बस्ने परम्परागत सोचबाट अपार्टमेन्टमा सर्न थालेका छन् ।

नेपालमा विशेषगरी काठमाडौं उपत्यकामा जनसंख्या तीव्र गतिमा बढिरहेको छ । ग्रामीण क्षेत्रबाट बसाइँ सर्ने प्रचलन पनि उत्तिकै बढी छ । शिक्षाको केन्द्रिकरण, रोजगारीको खोजी लगायत कारणले सहरहरूमा मानिसहरुको भीड अत्यधिक बढेको छ । तर, मुख्य ठुला सहरहरुमा ठाउँ अभाव, महँगो जग्गा र सहरी योजनाको अभाव पनि उत्तिकै छ । यस्तो अवस्थामा बहुतले अपार्टमेन्ट जीवनशैली एउटा उचित उपायका रूपमा अगाडि आएको देखिन्छ ।

नेपालमा अपार्टमेन्ट खरिदबिक्रीको प्रवृतिमा पनि परिवर्तन आएको जानकारवालाहरु बताउँछन् । अहिले मानिसहरू अपार्टमेन्टलाई आवासको मात्र नभई लगानीको अवसरको रूपमा पनि हेरिरहेका छन् । बढ्दो मागलाई पूर्ति गर्न व्यक्ति तथा संस्थाद्वारा नै देशका विभिन्न ठाउँहरुमा ठुलो संख्यामा अपार्टमेन्ट निर्माण भइरहेका छन् । ठुलो रकम खर्चिएर धमाधम अपार्टमेन्ट बनाईरहेका छन् ।

सुरक्षा, पानी, बिजुली, पार्किङ लगायतको सहज सुविधा उपलब्ध हुने भएकाले पनि अपार्टमेन्टमा बसाई सर्ने संख्या बढ्न थालेको बताइन्छ । साना परिवार, एकल जीवनशैली र व्यस्त दैनिकीमा अपार्टमेन्ट उपयुक्त हुने जानकारीहरु बताउँछन् । अपार्टमेन्टमा मेन्टेनेन्स, फोहोर व्यवस्थापन, लिफ्ट आदि सेवा सहज उपलब्ध हुन्छन् । अर्को तर्फ सस्तो र किस्ताबन्दीमा ऋण लिएर किन्न सकिने विकल्प रहेकाले यस तर्फ आम मानिसहरुको आकर्षण चुलिने क्रम बढ्दो नै छ ।

समग्र घरजग्ग कारोबार नै सुस्तएको बेला ३३ प्रतिशत बढ्यो अपार्टमेन्ट किनबेच

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पनि पछिल्लो समय अपार्टमेन्टमा बस्ने प्रवृति बढ्दो देखिन्छ । एक वर्षको अवधिमा नै अपार्टमेन्ट खरिदबिक्री ३३ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्मको तथ्याङ्कलाई मात्रै हेर्ने हो भने देशभर मुख्य मुख्य सहरहरुमा ३४२ वटा अपार्टमेन्ट किनबेच भएको आँकडा छ । जबकि, गत आवको चैत मसान्तसम्ममा २५७ वटा मात्रै खरिदबिक्री भएका थिए ।

हाल काठमाडौं उपत्यका भित्रका मुख्य सहरमा ठुलो संख्यामा अपार्टमेन्ट किनबेच हुन्छन् । उपत्यका बाहिर पोखरा, झापा, पर्सा, वीरगञ्ज, रुपन्देही लगायतका ठाउँहरुमा किनेबेच हुनेगरेको छ । विभागका अनुसार मासिक औसतमा ३८–४० वटासम्म अपार्टमेन्ट खरिदबिक्री हुँदै आएको छ । गत चैतमा ३४ वटा, फागुनमा ५३ वटा, माघमा २९ वटा अपार्टमेन्ट किनबेच भएको थियो । गत पुसमा भने चालु आवकै धेरै ७१ वटा किनबेच भएको थियो । यस्तै, मंसिरमा ६३ वटा, कात्तिकमा २९ वटा, असोजमा २३, भदौमा २४, साउनमा १६ वटा अपार्टमेन्ट किनबेच भएको थियो ।

जबिक, गत आवको साउनमा ३० वटा, भदौमा ४५, असोजमा ३८, कात्तिकमा २२, मंसिरमा २२, पुसमा २८, माघमा २५, फागुनमा २९ र चैतमा १८ वटा मात्रै खरिदबिक्री भएको थियो ।

विभागका अनुसार काठमाडौं उपत्यकाका महँगो स्थानहरूमा अपार्टमेन्टको माग उच्च रहेको छ । लाजिम्पाट, बालुवाटार, डिल्लीबजार र गयानेश्वर लगायतका ठाउँमा बढी माग हुने गरेको छ । यता, ललितपुरमा पनि उत्तिकै चर्को माग छ ।

गत चैत महिनाको आँकडालाई मात्र हेर्ने हो भने पनि ललितपुरमा धेरै कारोबार भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर मार्फत एकै महिनामा ११ वटा अपार्टमेन्ट किनबेच भएको देखिन्छ । यता, काठमडौंको डिल्ली बजार क्षेत्रमा पनि १० वटा अपार्टमेन्ट खरिदबिक्री भएका छन् ।

यस्तै, कलंकी आसपासका क्षेत्रमा ६ वटा, चावहिलमा १ वटाको लिखत पारित भएको छ । उपत्यका बाहिर भने पर्सामा मात्रै ६ वटा लिखत पारित भएको विभागले जनाएको छ । त्यस बाहेक पोखरा, झापा, रुपन्देही लगायतका ठाउँमा भने कारोबार भएको छैन । हाल यी क्षेत्रमा ठुलो संख्यामा अपार्टमेन्ट निर्माण कार्य भइरहेको छ ।

तिव्र विकसित हुँदै अपार्टमेन्ट कल्चर, कारोबार अझै बढ्ने अपेक्षा

अघिल्ला वर्षहरूमा आर्थिक संकट, उच्च बैङ्क ब्याजदर र तरलता अभावले अपार्टमेन्ट कारोबार निकै नै प्रभावित भएको थियो ।

त्यसबेला आर्थिक शिथिलताकै कारण बैङ्कहरूले पनि पर्याप्त मात्रामा कर्जा प्रवाह गर्न सकिरहेका थिएनन् । त्यसले निर्माण भएका नयाँ तथा पुराना अपार्टमेन्ट बिक्री हुन पनि निकै सकस भएको थियो । अर्कोतर्फ, निर्माणधिन कतिपय अपार्टमेन्ट पनि चर्को ब्याजदर र तरलता अभावका कारण अलपत्र बनेका थिए । तर, पछिल्लो समय बैङ्कहरूको ब्याजदर पनि निरन्तर घटिरहेको छ । कर्जाकै ब्याजदर एकल अंकमा आइपुगेको छ ।

हाल बैंकहरुले पनि सहज रूपमा कर्जा लगानी गर्ने अवस्था छन् । आर्थिक गतिविधि पनि विस्तारै बढ्न थालेको छ । यस्तो अवस्थामा समग्र घरजग्गा कारोबारसँगै अपार्टमेन्ट किनबेचले गति लिने व्यवसायीहरूको अपेक्षा छ ।

नेपालमा अपार्टमेन्ट खरिदबिक्रीको अवस्था सकारात्मक दिशामा अघि बढिरहेको छ । सहरीकरण, जनसंख्या वृद्धि र वित्तीय नीतिहरूको सुधारले पनि यस क्षेत्रमा नयाँ अवसरहरूको सिर्जना गरेको छ । आगामी वर्षहरूमा पनि अपार्टमेन्ट कारोबारले निरन्तर बढ्ने अपेक्षा गरिएको छ । तर, त्यसका लागि नीतिगत स्पष्टता, गुणस्तरको सुनिश्चितता र उपभोक्ताको विश्वास कायम राख्नुपर्ने जानकारहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्