सूर्यज्योति लाइफको स्थायीत्व बलियो हुँदै : ३२ प्रतिशत बढायो नाफा, कस्तो छ वित्तीय प्रगति ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा उच्च दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीको नाफा झन्डै ३२ प्रतिशत बढेको देखिन्छ ।
शुक्रबार कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले २९ करोड ५७ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको चैत मसान्तसम्मको तेस्रो त्रैमासको तुलनामा ३१.९० प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा कम्पनीले २२ करोड ४२ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १७.८५ प्रतिशत वृद्धि गरेको छ । योसँगै ९ महिनामा कम्पनीको यस्तो बीमा शुल्क ७ अर्ब ५१ करो २२ लाख रुपैयाँ पुगेको छ । जबकि, गत आवको सोही अवधिमा भने कम्पनीले ६ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यता, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १३.९८ प्रतिशत बढेर २ अर्ब ६० करोड ४५ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा कम्पनीको कुल आम्दानीमा पनि १७.८३ प्रतिशत बढोत्तरी देखिएको छ । योसँगै ९ महिनाको कुल आम्दानी १० अर्ब ४८ करोड १९ लाख रुपैयाँ पुगेको छ । कुल खर्च पनि १९.०१ प्रतिशत बढेर ९ अर्ब ९१ करोड ८८ लाख रुपैयाँ कायम भएको विवरणमा उल्लेख छ ।
समिक्षा अवधिमा कम्पनी खुद दावी भुक्तानी पनि १०.१६ प्रतिशत वृद्धि भई ८ अर्ब ३८ करोड ६ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि १.२९ रुपैयाँ बढर ७.८७ रुपैयाँ कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने १२५.४१ रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ कायम भएको छ । महाविपत्ति जगेडा कोषमा ३९ करोड १९ लाख रुपैयाँ राखेको छ । जीवन बीमा कोषको आकार भने १७.०३ प्रतिशत बढेर ३९ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ कायम भएको छ ।