जाजरकाेटको दुर्गम क्षेत्र मैना गाउँमा ‘एक घर, एक धारा’ अभियान सुरू

काठमाडाैं। जाजरकोटको दुर्गम क्षेत्र बारेकोट गाउँपालिकाकाे मैना गाउँमा “एक घर, एक धारा” अभियान सुरू भएकाे छ। गाउँपालिकाले विभिन्न विकासका साझेदारहरूसँग सहकार्य गरि घरघरमा पानीकाे धारा पुर्याउने अभियान सुरू गरेकाे छ।
उक्त गाउँपालिका–४ मैनागाउँमा हालै सम्पन्न भएकाे खानेपानी आयोजनाले ११० घरधुरीमा पिउने पानीको धारा जडान भइसकेको गाउँपालिका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिएका छन्। हेल्भेटासले नेपालसँगको साझेदारीमा करिब ६८ लाख रुपैयाँले उक्त खाने पानिकाे आयोजना सम्पन्न गरेको हो।
अध्यक्ष गिरीका अनुसार, यस अभियान अन्तर्गतका वडाहरू १, २, ५ र ७ मा आर्थिक वर्षमा ४६५ घरमा पानीकाे धारा पुर्याइएको थियो र अब पालिकाका अन्य वडाहरूमा पनि कार्यहरू चरणबद्ध रूपमा विस्तार अगाडि लिएकाे बताएका छन् ।
“पहिले डोकोमा गाग्री राखेर खोला जानुपर्थ्यो, बच्चाहरू पानी लिन जाँदा बाटोमा लड्ने डर हुन्थ्यो। अब घरको आँगनमै पानीको धारा पुगेपछि जीवन सहज भएको त्यहाका स्थानीयबासीहरूले बताएका छन्।”
बारेकोट भूकम्पको केन्द्रविन्दुसमेत भएकाले यहाँको विकास चुनौतीपूर्ण रहेको भए पनि गाउँपालिकाले कठिनाइका बीच सम्भावनाहरू खोज्दै अगाडि बढेको छ, “हाम्रो पीडा र दुःखलाई शक्तिमा बदल्नका लागि विकास साझेदारहरूको सहयोगलाई हामीले स्वागत गरेकाे अध्यक्ष गिरीले बताएका छन्।”
बारेकाेटकाे मैनागाउँ जाजरकोट–जुम्ला जोड्ने सडकको बीचमा पर्ने भएकाले भौतिक पूर्वाधारको पहुँच विस्तारमा सहजता भएको छ। आर्थिक अभावका कारण विगतमा गाउँ छेउमै पानी बग्दा पनि घरघरमा धारा जडान गर्न नसकिएको अवस्थालाई अहिले गाउँपालिकाले परिवर्तनमा रूपान्तरण गरेको वडाध्यक्ष विष्णु रावतले बताएका छन् ।
उक्त गाउँपालिकाले पालिकाभरका सबै घरमा एक घर, एक धारा पानीको पहुँच पुर्याउने लक्ष्य राखेकाे छ। “एक घर, एक धारा” अभियान यसैगरी अघि बढ्दै गएमा दुर्गम क्षेत्रका जनताकाे जीवनशैलीमा परिवर्तन ल्याउने अपेक्षा राखेको छ।