अर्थतन्त्र विस्तारै लयमा आउन थालेको छ : का.मु. गभर्नर ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंककी का.मु. गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले अर्थतन्त्र विस्तारै लयमा आउन थालेको बताएकी छिन् । उनले नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।
‘मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवम् बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा विस्तारले समेत गति लिन थालेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रयमासको आर्थिक वृद्धिको तथ्याङ्कले समेत यसको पुष्टि गरेको छ’ उनले भनिन् ।
पछिल्लो समय भएका कानुनी सुधारले लगानीको वातावरण सहज बनाएको उनले बताइन् । यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा उनको छ ।
उनले नेपालको वाह्य क्षेत्र सवल हुँदै गएको समेत स्पष्ट पारिन् । ‘विगत दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको छ । विप्रेषण आप्रवाह र पर्यटन आयमा वृद्धि भएका कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय सञ्चिति बढेको छ’ उनले भनिन् ।
वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको विस्तारमा पछिल्लो समय उल्लेख्य प्रगति भएको स्मरण गराउँदै देशका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको बताइन् । उल्लेख्य रूपमा भएको शाखा विस्तारका कारण वित्तीय पहुँचमा वृद्धि भएको उनको दाबी छ। यस बैंकले गरेको नीतिगत सहजीकरण, पूर्वाधार विकास र सुरक्षित, सजिलो एवम् सस्तो भुक्तानी प्रणालीका उपकरणले गर्दा डिजिटल भुक्तानीको प्रयोग उच्च दरमा बढेको उनको भनाइ छ । अन्तरदेशीय भुक्तानी प्रणालीको अन्तरआवद्धता समेत प्रारम्भ भएको उनले बताइन् ।
आन्तरिक अर्थतन्त्रमा संरचनागत एवम् व्यवस्थापनजन्य विषयहरूको सम्बोधन अत्यावश्यक भएको छ । उच्च तरलता एवम् न्यून व्याजदरका बाबजुद निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवम् आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु, पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजनाहरू समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौतीहरू कायम नै रहेको उनले बताइन् ।
अधिक तरलता र न्यून ब्याजदरका साथै बाह्य क्षेत्र परिसूचकहरू सबल रहेको सन्दर्भमा मौद्रिक क्षेत्रबाट अर्थतन्त्रलाई चलायमान बनाउन हदैसम्मको प्रयास गरिएको उनले बताइन् । पछिल्लो उपलब्ध सार्वजनिक वित्त, वैदेशिक व्यापार र आर्थिक वृद्धिको तथ्याङ्कले आर्थिक गतिविधिमा सुधार हुँदै गएको आँकलन गर्न सकिने उनको भनिया थियो ।
विगतमा आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित हुन गई निष्क्रिय कर्जा अनुपात बढेकोमा आर्थिक गतिविधिमा सुधार भएसँगै निष्क्रिय कर्जा अनुपातमा समेत सुधार हुने अपेक्षा रहेको उनले सुनाइन् । वित्तीय स्थायित्वका लागि अपनाइएका नियमनकारी व्यवस्थाको प्रभावसमेत देखिँदै गएको उनको दाबी छ ।
मौद्रिक, वित्तीय तथा विदेशी विनिमय नीतिमार्फत समिष्टगत आर्थिक स्थायित्व कायम राख्न नेपाल राष्ट्र बैंक कटिबद्ध रहेको उनले बताइन् छ । तथापि, पछिल्लो समय खासगरी अमेरिकी अन्तर्राष्ट्रिय व्यापार एवम् आर्थिक सहयोग नीति र भूराजनीतिक तनावजस्ता बाह्य कारणले अर्थतन्त्रमा थप दबाब पर्न सक्ने जोखिम भने कायमै रहेको उनले बताइन् ।