‘आरओई’मा चार्टर्डलाई उछिनेर एभरेष्ट शीर्ष स्थानमा, यी तीन निजी बैंकको अवस्था नाजुक « Arthapath.com
१५ बैशाख २०८२, सोमबार

‘आरओई’मा चार्टर्डलाई उछिनेर एभरेष्ट शीर्ष स्थानमा, यी तीन निजी बैंकको अवस्था नाजुक



काठमाडौँ । पूँजी परिचालनमा व्यवस्थापकीय कुशलता मापन गर्ने एक आधार हो, सेयरमा प्रतिफल । कुनै लगानीकर्ताको १ सय रुपैयाँ एक जना व्यवस्थापकले परिचालन गर्दा कति प्रतिफल दिन सक्छ भन्ने कुराले नै त्यो व्यवस्थापकको कार्यकुशलता दर्शाउँछ ।

नेपालमा यस आँकडालाई धेरैले ‘नजरअन्दाज’ गरेको देखिन्छ । तर प्रतिफल दिने सामथ्र्य पनि यसैबाट देखिन्छ । भलै राष्ट्र बैंकले कयौं नीतिगत व्यवस्थाहरु गरेर लाभांश बाँड्ने कुरामा ‘हेरफेर’ गरिरहेको हुन्छ ।

यस आँकडाको हिसाबले हेर्ने हो भने गत चैत मसान्त अर्थात् चालू आर्थिक वर्षको ९ महिना वित्दासम्म २० वटा वाणिज्य बैंकमध्ये सेयर धनिको हितमा काम गर्नेमा एभरेष्ट बैंक सबैभन्दा अगाडी देखिएको छ । उसले सेयर धनिको १ कित्ता सेयर बराबर १५ रुपैयाँ ८२ पैसा कमाइ गरेको छ । यो बाँकी सबै वाणिज्य बैंकभन्दा धेरै हो ।

पोहोर साल प्रतिकित्ता १६ रुपैयाँ २३ पैसा कमाएर शीर्ष स्थानमा रहेको स्ट्याण्डर्ड चार्टर्ड यो साल भने १४ रुपैयाँ ३ पैसा सहित दोस्रो स्थानमा झरेको छ । त्यसपछि नबिल, एनएमबी, सानिमा र नेपाल बैंकको व्यवस्थापनले पनि आफूलाई उपलब्ध सेयर पूँजीको प्रगतिशील लगानी गरेको देखिन्छ । यी बैंकहरुले पनि चैतसम्म प्रतिकित्ता १० रुपैयाँभन्दा ज्यादा प्रतिफल आर्जन गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट र ग्लोबल आईएमई जस्ता अधिक पूँजीकृत भएका बैंकहरुले पनि साढे ९ प्रतिशतको हाराहारीमा प्रतिफल कमाएका छन् । माछापुच्छ्रे, नेपाल एसबीआई, सिद्धार्थ, प्रभू, प्राइम, कृषि विकास र सिटिजन्स बैंकहरु साढे ८ देखि साढे ५ प्रतिशतको ‘रेञ्ज’मा देखिएका छन् । यी बैंकको व्यवस्थापकीय उपलब्धी ‘निम्नमध्येमवर्गीय’ खालको छ ।

त्यसपछि लक्ष्मी सनराइजले पनि ५ प्रतिशतभन्दा बढी नै प्रतिफल कमाएको छ । लगभग पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले करीब ३ प्रतिशत प्रतिफल कमाएको छ । हिमालयन, कुमारी र एनआईसी एसिया बैंक यो सूचीमा सबैभन्दा ‘पिछडिएको’ देखिन्छ ।

उनीहरुको निष्कृय कर्जाको दर बढेको र सम्भावित जोखिमका निम्ति ठूलो पैसा छुट्याउनु परेको कारण प्रतिफलमा भारी ह्रास आएको हो । यदी भविष्यमा गएर यी समस्यायुक्त कर्जाको भुक्तानी भयो र पैसा उठ्यो भने फेरि उनीहरुकै प्रतिफल दर उच्च हुन पुग्छ । त्यसो नहुञ्जेलका लागि भने थुप्रै बैंकहरु दोहोरो अंकमा प्रतिफल दिनसक्ने अवस्थाभन्दा बाहिर नै देखिएका छन् ।

कम्पनीको खुद सम्पत्तीमा आर्जित प्रतिफलको मापन गर्ने यो विधिले बैंकमा लगानी गर्नेहरुलाई कति लाभ छ र कति हानी छ भन्ने पनि देखाउँछ । अहिलेका लागि एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्डका लगानीकर्तालाई तुलनात्मक रुपले बढी नाफा भएको देखिन्छ भने एनआईसी, कुमारी र हिमालयनका लगानीकर्तालाई तुलनात्मक घाटा परेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्