सरकारी बैंकको वित्तीय चित्र: नेपाल बैंकको चामत्कारिक ग्रोथ, आरविवि र कृषि विकासको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकले आफूलाई सकरात्मक बाटोमा उभ्याएको छ । बैंकको अधिकांश वित्तीय सूचकहरुमा व्यापार सुधार देखिन्छ ।
नाफा वृद्धिदरमा आफूलाई शीर्ष सूचीमा राख्न सफल भएको छ । तेस्रो त्रैमासमा नेपाल बैंकको नाफा २१.३२ गुणा बढाएको छ । जुन अन्य वाणिज्य बैंकहरुको भन्दा धेरै हो । सर्वाधिक नाफा बढाउनेको पहिलो सूचीमा नेपाल बैंक छ । समिक्षा अवधिमा बैंकले नाफा २०३२.८० प्रतिशत बढाएर २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ ।
तर, सरकारी स्वामित्वमा रहेका तीन वटामध्ये दुई वटा बैंकको नाफा भने घटेको देखिन्छ । हाल राष्ट्रिय वाणिज्य, नेपाल बैंक र कृषि विकास सरकारी स्वामित्व सहित संचालनमा छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सकारी बैंकहरुमध्ये नेपाल बैंकको वित्तीय अवस्थार निकै सधारात्मक देखिन्छ ।
गत आवको तेस्रो त्रैमासको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.२९ प्रतिशत र कृषि विकास बैंकको १०.१७ प्रतिशत घटेको देखिन्छ । समिक्षा अवधिमा यी दुई बैंकले क्रमशः १ अर्ब २० करोड ४३ लाख रुपैयाँ र १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
खुद ब्याज आम्दानी पनि नेपाल बैंकको ४.८१ प्रतिशत बढेर ७ अर्ब १० करोड ७ लाख रुपैयाँ पुगेको छ । तर, राष्ट्रिय वाणिज्यको १०.८९ प्रतिशत र कृषि विकासको १४.९६ प्रतिशत घटेको देखिन्छ । समिक्षा अवधिमा यी दुई बैंकको खुद ब्याज आम्दानी ७ अर्ब १० करोड ४४ लाख र ६ अर्ब १२ करोड ५९ लाख रुपैयाँ कायम भएको छ ।
यता, आरविविको वितरयोग्य नाफा नै १ अर्ब २ करोड २ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । हाल आरविवि आफ्ना सेयरधनीलाई लाभांश दिन नसक्ने अवस्थामा देखिन्छ । हाल बैंकको चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ छ ।
तर, तेस्रो त्रैमासमा आइपुग्दा भने कृषि विकास बैंकको लाभांश क्षमता दोहोरो अंकमा छ । हाल बैंकले १२.२२ प्रतिशत लाभांश दिन सक्ने सामार्थ्य बनाएको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १० लाख रुपैयाँ छ । चुक्ता पुँजी भने १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ छ । यता, नाफामा चामत्कारिक ग्रोथ गरेको नेपाल बैंकले भने २.०८ प्रतिशत मात्रै लाभांश दिन सक्ने अवस्थामा छ । हाल १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ छ । समिक्षा अवधिमा बैंकको वितरयोग्य नाफा ३० करोड ६२ लाख रुपैयाँ मात्रै छ ।
तेस्रो त्रैमासको आँकडालाई हेर्ने हो भने व्यवसाय विस्तारमा पनि नेपाल बैंक नै तगडा देखिएको छ । समिक्षा अवधिमा बैंकको निक्षेप संकलन १९.९८ प्रतिशत बढेर ३ खर्ब १३ अर्ब ७२ करोड १५ लाख रुपैयाँ पुगेको छ । कर्जा विस्तार पनि १५.९८ प्रतिशत वृद्धि भई २ खर्ब २२ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ कायम भएको छ ।
यता, कृषि विकास बैंकको निक्षेप पनि ११.६७ प्रतिशत बढेर २ खर्ब ५४ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको छ । कर्जा विस्तार पनि ५.४५ प्रतिशत बढेर २ खर्ब १० अर्ब ३४ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
तर, आरविविको निक्षेप भने २०.१५ प्रतिशत घटेको छ । तेस्रो त्रैमासमा आइपुग्दा बैंकको निक्षेप ३ खर्ब ६८ अर्ब २८ करोड १७ लाख रुपैयाँ कायम भएको छ । निक्षेप घटेपनि बैंकको कर्जा विस्तार भने १२.३७ प्रतिशत वृद्धि भई २ खर्ब ९१ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ कायम भएको छ ।
तीनै वटा बैंकको खराब कर्जा दर भने वृद्धि भएको देखिन्छ । नेपाल बैंकको खराब कर्जा ५.४५ प्रतिशत, कृषि विकासको ४.९८ प्रतिशत र आरविविको ४.६९ प्रतिशत कायम भएको छ । गत आवको तेस्रो त्रैमासमा भने क्रमशः ४.८५ प्रतिशत, ३.३० प्रतिशत र ४.३० प्रतिशत रहेको थियो ।
प्रतिसेयर आम्दानी (इपिएस) पनि नेपाल बैंकको धेरै छ । बैंकको इपिएस २५.२६ रुपैयाँ छ । यस्तै, कृषि विकासको १५.४० रुपैयाँ र आरविवि १०.२७ रुपैयाँ छ ।