पर्यटक लोभ्याउँदै नुवाकोटको ‘लाउके झरना’ « Arthapath.com
१४ आश्विन २०७७, बुधबार

पर्यटक लोभ्याउँदै नुवाकोटको ‘लाउके झरना’




चित्रराज भण्डारी

काठमाडौं । पछिल्लो समय एकाएक चर्चामा आएको लाउके झरनामा आन्तरिक पर्यटक भित्रिने क्रम जारी रहेको छ । सामाजिक सञ्जालमा पर्यटकीय क्षेत्रसहितको फोटो हाल्ने होडबाजी चलेपछि पछिल्लो समय लाउके झरना चर्चामा आएको हो । नुवाकोट जिल्ला पर्यटकीय क्षेत्रका लागि प्रख्यात क्षेत्र हो । पछिल्लो २ महिनायता परम्परागतदेखि लुकेर बसेको लाउके झरना एकाएक चर्चामा आएपछि नुवाकोटमा पर्यटकीय क्षेत्रको एक अर्को खम्बा थपिएको बताईएको छ । झरनाको लम्बाई करिव १२० मीटर रहेको छ । यो संगै संगै अर्काे सानो झरना पनि रहेको छ ।

कहाँ पर्छ लाउके झरना  

ककनी गाउँपालिका वडा न. ५ का स्थानीय रामकृष्ण गुरुङका अनुसार लाउके झरना लगभग २ महिनादेखि चर्चामा आएको हो । भविष्यमा लाउके झरना ककनी गाउँपालिकाको मात्रै परिचय रहेन । नुवाकोटको मात्रै नभई अहिले देशकै चिनारी बन्न सफल हुने आशा जनप्रतिनिधि तथा स्थानीयले गरेका छन । यो झरना परापूर्वकालदेखि बहदै आएको थियो । उक्त झरनाको चर्चा हुन थालेपछि विभिन्न ठाउँबाट झरनामा रमाउन आउनेको भिड लाग्न थालेको छ । झरना भएको ठाउँमा आएपछि त्यहाँ आउने जोकोहीले पनि मनोरञ्जनको भरपुर आनन्द लिने गरेका छन । 

कसरी जाने लाउके झरना हेर्न ? 

काठमाडौँबाट पासाङल्हामु मार्ग हुँदै ककनीको मनोरम दृष्य नियाल्दै लौके झरना पुग्न सकिन्छ । काठमाडौंको बालाजुबाट झरनासम्म करिव २९ किलोमिटर दूरीमा रहेको छ । ककनीबाट  करिव ६ किलोमिटर यात्रा गर्नुपर्छ लौके झरना पुग्न । झरनाको छेवैमा बस्ने व्यवस्था नभएपनि ६ किमिमा ककनी बस्न सकिन्छ । १ रात बस्न जानेहरूका लागी यो यात्रा उत्तम हुनेछ । 

यस्तो छ झरनाको विशेषता

ककनी आफैमा सुन्दर रमणीय क्षेत्र हो । त्यसमाथि पनि लाउके झरनाले स्थानीय मात्र होइन आन्तरिक पर्यटकको मन लोभ्याउन थालेको छ । यो झरना स्थानीयले पहिलेदेखि नै हेर्दै आएपनि चर्चामा आएको २ महिना मात्रै भएको छ ।

झरनामा रमाउँदै जाँदा स्वर्गमा आएको जस्तो महसुस हुन्छ । झरनामा सबैभन्दा रमाइलो पक्ष भने त्यहाँबाट पानी खसिरहेको बेला लाग्ने सप्तरंगी इन्द्रेणीले सबैलाई मन्त्रमुग्ध गराउँछ । त्यो इन्द्रेणीले लौके झरनाको सुन्दरतालाई झनै आकर्षित बनाउँछ । लौके झरनासँगै अर्को सानो झरना पनि रहेको छ । त्यसमा गएर पौडी खेल्दा झनै रमाइलो महसुस हुने गरेको स्थानी बताउँछन् ।  

ग्रामीण यात्रा स्मरण

काठमाडौँबाट झरनासम्म पुग्न हराभरा हरियाली डाँडा देखिन्छ । त्यसमा नुवाकोटका परिश्रमी किसानले लगाएका विभिन्न तरकारीका फर्महरू बाटैभरि देखिन्छन् । त्यतिमात्र नभएर जापानिज रेन्बो ट्राउट माछाका पारखीहरुलाई छ झनै लोभ्याउछ ककनीले । बाटाको छेउमा खुलेका ट्राउटका फार्म सहितका रेष्टुरेन्टले पर्यटकलाई तानिरहेको हुन्छ । ककनी ट्राउट माछाका लागि प्रख्यात छ । जिउँदो र ताजा ट्राउट माछा यहाँ पाईन्छ लेखिएका बोर्डहरु धेरै देखिन्थे । ककनी पुगेपछि सीम्ले गाउँ जानुपर्छ । त्यहाँबाट सीम्ले गाउँ जादा बाटोमा लीखु खोलाको फाँटले झनै रोमाञ्चक बनाउँछ । त्यसपछि विभिन्न हिमालका मनोरम दृश्यहरु पनि देख्न पाईन्छ । ककनी हाईकीङ र ट्रेकिङका लागि पनि प्रख्यात क्षेत्र हो । 

झरना बारे यसो भन्छन स्थानीय 

लाउके झरना पहिलदेखि नै थियो । हामीलाई पर्यटकीय स्थलका बारेमा थाहा थिएन । तर पछिल्लो समय विभिन्न स्थानबाट रमाइलो गर्नलाई यहाँ आउन थालेपछि हामीलाई यसको महत्व थाहा पाएको स्थानीय राजु गुरुङ बताउँछन । उनले भने, “यो झरना चर्चामा आउन सकेको थिएन । एकाएक चर्चामा आयो । गाउँपालिका, रानीपौवा बजार लगायतका मानिसहरु आएपछि उनीहरुले फेशबुकमा हालेपछि एकाएक चर्चामा आएको हो ।” हाल काठमाडौदेखि आनन्द लिनको झरना हेर्न शनिबार भिड लाग्ने गरेको उनको भनाई छ ।

लाउके झरनालाई पर्यटकीय क्षेत्र बनाउन  पहल गरिरहेका सीम्ले रामदान टोलका स्थानीय राजेश गुरुङले बताए । उनका अनुसार वडा र गाउँपालिकामा लाउके झरनालाई अझै ब्यवस्थित बनाउन माग गरेपछि सकारात्मक प्रतिक्रिया पाएको छ । लाउके झरना पर्यटकीय क्षेत्र बनेपछि रामदल टोललाई होमस्टे बनाउने पनि योजना रहेको उनको भनाई छ । यसका लागि पहल भईरहेको उनले बताए । उनले भने, “त्यहाँ रेष्टुरेण्ट, होटल बनाउनु पर्ने छ ।

गर्मीको सिजनमा छाँगाको शितलले एकदम आनन्द आउँछ । त्यहाँसम्म पुग्यो भने आफ्ना दुःख, पिडा वा कष्टहरु पनि पिडा हराईदिने महसुस गर्छन । त्यस्तै हामीले रामदल टोललाई होमस्टे गाउँ बनाउने पनि योजना रहेको छ ।”

लाउके झरनालाई अझै ब्यवस्थित गर्न सकेमा गाउँमा अझै पर्यटक भित्राउन सकिने स्थानीय रामकृष्ण गुरुङ बताउँछन् । परम्परागत खेति किसानी गर्ने स्थानियहरु पर्यटक आउन थालेपछि होटल व्यवसायमा लागेका छन । 

लाउके झरनाको प्रर्वद्धनमा लागे जनप्रतिनिधि  

ककनी गाउँपालिक वडा ५ का अध्यक्ष राम लामा थिङ

लुकेर बसेको लाउके झरनासम्म पर्यटक ल्याउन आफूले गर्ने पहल पूर्ण रुपमा रहने ककनी गाउँपालिक वडा ५ का अध्यक्ष राम लामा थिङ बताउँछन् । आफ्नो वडामा यति रमाइलो झरना छ भनेर थाहा नभएको उनको भनाई छ ।  उनले भने, “यो भन्दा अघि मलाई पनि थाहा थिएन । अलि कुनापट्टि रहेछ । अव यसलाई डीपीआर गर्छु । आउने बाटो र माथि काउले थाना हुँदै टोखा रोडसम्मको लागि डिपीआर गर्ने छुँ । झरनासम्म जानको लागि बाटो भने तत्काल पुरा गर्छु ।” तत्काल झरनाको छेउमा फोटो खिच्नको लागि ब्यवस्था मिलाउने उनले बताए । झरना लामो भएकोले नुवाकोटमा नै नमुना झरना हुनसक्ने अध्यक्ष थिङले बताए ।  

ककनी गाउँपालिका वडा नं. २ का अध्यक्ष केदार पौडेल

झरनासंग फोटो खिचेर सामाजिक सञ्जालमा हालेको देख्दा आफूलाई जान मन लागेको र घुम्न पाउँदा धेरै रमाइलो भएको ककनी गाउँपालिका वडा नं. २ का अध्यक्ष केदार पौडेलले बताए । उनका अनुसार आफूले सोचेको भन्दा धेरै राम्रो पाएको छु ।

पर्यटकहरु भित्र्याउन लौके झरनाले धेरै पहल गर्ने छ । लुकेर रहेको लाउके झरना नुवाकोटको नै चिनारी बन्ने ककनी गाउँपालिका वडा नं ४ का अध्यक्ष दिपेश तामाङले बताए ।

ककनी गाउँपालिका वडा नं ४ का अध्यक्ष दिपेश तामाङ

पर्यटकहरु भित्राउनको लागि झरनाले ठूलो सहयोग गर्ने उनको भनाई छ । उनले भने,“आफूपनि कार्यपालिका सदस्य रहेकाले झरनाको विकास गर्न बजेट छुट्याउनमा लविङ गर्ने छु । वडा र गाउँपालिकाबाट मात्रै नभएर प्रदेश र केन्द्रसम्ममा पनि पहल गर्न भूमिका निर्वाह गर्ने छु ।”

मनमोह दृष्यको साथै गणेश हिमालको दृष्य पनि देख्न सकिन्छ । ककनीबाट लीखुखोला फाँट, शिवरात्री डाडा र शिवपुरीका साथै काठमाण्डौंका दृश्यहरु पनि देख्न सकिन्छ । 

पर्यटक लोभ्याउँदै नुवाकोटको ‘लौके झरना’


प्रतिक्रिया दिनुहोस्