चौपट ठमेलको व्यापार, भाडा तिर्ने रकम नहुँदा पर्यटन व्यवसायीहरू चिन्तित

चित्रराज भण्डारी
काठमाडौं । देशको प्रमुख पर्यटकीय क्षेत्र ठमेल यतिबेला मसानघाट झै भएको छ । कुनैबेला काला र गोराहरूको भिडले हिँड्नसमेत गाह्रो हुने ठमेल अहिले झ्याकुरी कराउने थलो बनेको छ । करोडौँ लगानी गरेका ठमेलका पर्यटन व्यवसायीहरू दिनभरी आलस्य बनेर दिन काट्ने गरेका छन । अहिले ठमेलका व्यापारीहरूको चिन्ता कसरी घर भाडा तिर्ने भन्ने रहेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले करिब ६ महिना लामो लकडाउन लगायो । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशले लकडाउनको विधि नै अपनाए । तर यस अवधिमा सबै क्षेत्र प्रभावित बन्यो । यसको प्रत्यक्ष मार पर्यटन क्षेत्रमा पर्यो । यसको प्रभाव छोटो समयमा नै उकास्न सकिने अवस्था छैन । कोरोना अहिले विश्वबाट मुक्त भएको अवस्था पनि छैन ।
लामो लकडाउनमा पर्यटन क्षेत्रमा ठूलो घाटा छ । पर्यटन वर्ष २०२० मनाइरहँदा सरकारले कोरोना भाइरसले पर्यटन व्यवसायीहरूको लगानी डुबेको छ । अहिले आन्तरिक पर्यटनमा पनि चहलपहल शून्य भएपछि आम्दानी भएपछि नेपालको प्रमुख पर्यटकीय क्षेत्र ठमेल बजार शून्य छ । सरकारले असोज १ गतेबाट लकडाउन खुकुलो बनाए पनि ठमेल बजारमा जस्तो चहलपहल छैन । लकडाउन खुकुलो भएपनि ठमेल बजार भने शुनसान छ ।
काठमाडौँ ठमेल बजार पूर्ण रुपमा पर्यटकमा आधारित व्यापारिक क्षेत्र हो । पर्यटक छन् तर बजार सक्रिय छ पर्यटक छैनन् भने बजार शून्य हुन्छ । त्यस्तै पछिल्लो दिनहरूमा ठमेल बजारको अवस्था यस्तै छ । नेपालमा पर्यटक आउने बाटोहरू बन्द गरेपछि ठमेल बजार ठप्प भएको हो । पसल खुला गरेपनि व्यापारीहरू झिँगा धपाउँदै बसिरहेका छन् । सरकारले आन्तरिक रुपमा सबै सेवा खुला गरेपनि अन्तराष्ट्रिय हवाई उडान भने सञ्चालन गर्न अनुमति दिएको छैन । त्यसैले पनि ठमेल बजारमा कारोबार शून्य भएको छ । अहिले ठमेलका व्यापारीहरू बत्तिको बिल मात्रै बढाईरहेका छन् । किनकी उनीहरूको ब्यापार शून्य छ पसल खुला भएपनि । तर उनीहरु सरकारले कोरोना भाइरस सम्वन्धि आवश्यक सुरक्षा अपनाएर पर्यटकहरू आउन दिनुपर्ने माग गरिरहेका छन् ।
उसो त लकडाउन अघि पनि ठमेलका व्यवसायीहरूको दैनिक कारोबार यति नै हुन्छ भन्ने थिएन । कहिले दैनिक सामान्य व्यापारीले एक लाख रुपैयाँ बढि पनि कमाउथेँ भने कहिले शून्य व्यापार पनि हुने गरेको उनीहरु बताउँछन् । ठमेल क्षेत्रमा रमेश बानियाँले मर्स्याङ्दी एप्रिएल्स नाम रहेको पसल सञ्चालन गरेको ३० बर्ष भयो । उहाँले ३० वर्षमा राम्रो कमाई गर्नुभयो तर हाल ठमेलमा कोरोनाको प्रभाव ठूलो परेको छ ।
उनले लकडाउन अघि मासिक अनुमानित डेढ लाख आम्दानी गर्थें । मासिक डेढ लाखका दरले ६ महिनाको अवधिमा ९ लाख रुपैयाँ घाटा लागेको उनले बताए । उनले भने, “लकडाउनमा आम्दानी शून्य भएपनि फेरि घरभाडा तिर्नुपर्यो । लकडाउन अगाडि सबै खर्च कटाएर डेढ लाख आम्दानी गर्थें । त्यो आम्दानी ६ महीनामा सबै गुमेको छ ।” सरकारले असोज १ गतेदेखि पसल खुला गर्न दिएको भएपनि ग्राहक नआउँदा व्यापार शुन्य भएको उनले बताए । ३० वर्षसम्म सबैभन्दा ठूलो घाटा यसै बर्ष लागेको उनको भनाई छ । यस्तै अवस्था रहिरहने हो भने धेरै टिक्न नसक्ने उनले गुनासो गरे ।
त्यस्तै प्रकाश ढकालले ठमेलमा तीन वर्षदेखि काठमाडौं बर्गर होटल सञ्चालन गरिरहेका छन् । सरकारले असोज १ गतेदेखि होटल सञ्चालन गर्न दिएपनि १० प्रतिशत मात्रै कारोबार भईरहेको ढकालले बताए । १० प्रतिशत कारोबार हुनुमा पनि फ्लाईट नपाएका पर्यटक कहिले काही देखिने गरेको भएपनि अधिकांश ग्राहकहरु नेपाली नै रहेको उनले बताए ।
ढकालका अनुसार लकडाउन अघि ६० हजार रुपैयाँ दैनिक आम्दानी हुने गरेको थियो । पहिले २४ घण्टा नै होटल सञ्चालनमा आउथ्यो भने हाल १२ घण्टा पनि सञ्चालन गर्न नपाएको उनको भनाई छ । तर लकडाउनमा उनले भाडा भने तिर्नु परेन । आफ्नै घर भएकाले भाडा तिर्न नपरेको उनले बताए । उनले भने, “लकडाउन अवधिमा २२ लाख रुपैयाँ घाटा लाग्यो । कर्मचारी पहिले १७ जना थिए । अहिले ३ जनाले मात्रै छन् । उनीहरुलाई काममा राख्दैनौ भनेका छैनौ सहज अवस्था आएपछि राख्छौ भनेर वेतलिबी छन् ।” यस्तै अवस्था रह्यो नेपालीले भात खान नपाउने अवस्था छ भने हामी पनि थेग्न नसक्ने ढकाल बताउँछन् ।
सुदर्शन खनालले चियाको ब्यापार गर्न थालेको ७ वर्ष भयो । उनलाई ६ महिनामा ८ देखि १० लाख रुपैयाँसम्म घाटा भयो । अग्रिम भाडा बुझाउनुपर्ने अन्तर्गत ६ महिनाको भाडा उनले बुझाएका छन् । उनले इलामको स्पेशल क्वालिटि (हाई क्वालिटि) को मात्रै शुद्ध चिया बेच्ने गर्छन । मासिक ७५ हजार रुपैयाँ आम्दानी गर्दै आएका उनी शून्य ब्यापार हुँदा मन खिन्न पारेका छन् । चियाको अरु व्यवसाय जस्तो होईन ।
सिजनमा दैनिक १ लाख रुपैयाँ आम्दानी हुन्छ भने कुनै दिन एक सय रुपैयाँ मात्रै लगेर घर जानुपरेको खनाल बताउँछन । उनले भने“हामीहरुलाई लोकल मार्केट खुलेर १ प्रतिशत पनि प्रभाव परेको छैन । अहिले ब्यापार शून्य छ । जबसम्म अन्तराष्ट्रि हवाई सेवा खुला हुँदैन तवसम्म टुरिज्म टार्गेटेड पसल चल्न सक्दैनन् ।” ६ महिना गोजीबाट भाडा तिरेको भएपनि अवका दिन यस्तै अवस्था रहने हो भने थेग्न गाह्रो हुने उनले बताए । आम्दानीको अन्य स्रोत नभएपछि अरु विकल्प रोज्नुपर्ने अवस्था आउने उनी बताउँछन ।
गोर्खाका अग्नि ढकालले कपडा व्यवासाय सञ्चालन गरेको २५ वर्ष भयो । उनले मूर्तिका सामाग्रीहरु बेच्ने गर्छन । उनको पसलमा सामान पर्यटकले मात्रै किन्ने छन् । पर्यटक नआएपछि उनलाई सबैभन्दा गाह्रो भयो । यस्तो अवस्था आउँछ भन्ने थाहा पाएको भए यस्तो किसिमको व्यापार नै नगर्ने उनी बताउँछन् । उनको सबै खर्च कटाएर मासिक ५० रुपैयाँ बचत हुन्थ्यो । लकडाउनमा करिव ५ लाख रुपैयाँ जति घाटा भएको उनले बताए । पर्यटक नआएसम्म पसल खोल्नु र नखोल्नु एउटै भएको उनको भनाइ छ । तर उनले यस्तै अवस्था रहेमा एक बर्षभन्दा बढि थेग्न सक्ने बताए । २५ बर्षको ईतिहास भएको व्यापारीले एक्कासी छोड्न पनि गाह्रो हुने उनी बताउँछन ।