भ्याट छली गर्ने यी तीन कम्पनीलाइ डण्डा, सम्पूर्ण कागजात जफत

काठमाडौं । भ्याट छलि गरेको आरोपमा तीन कम्पनीमा छापा हानेको छ । करिब ६ करोड रुपैयाँ बराबरको भ्याट छली गरेको उजुरी परेपछि राजस्व अनुसन्धान विभागले छापा हानेको हो ।
विराटनगर जुट मिलका अध्यक्ष वसन्त वन सञ्चालक रहेको सांग्रिला माइक्रोसिस्टम प्रालि, सांग्रिला इन्फरम्याटिक्स प्रालि र जिओसफ्ट टेक्नोलोजी प्रालिमा राजस्व विभागले छापा हानेको हो ।
यी तीन कम्पनीले करिब ६ करोड रुपैयाँ बराबरको भ्याट छली गरेको उजुरी परेपछि राजस्व अनुसन्धान विभागले छापामारी सम्पूर्ण कागजात जफत गरेको हो ।
कम्पनीका एकल सञ्चालक वनले २ उस्ताउस्तै कम्पनी सांग्रिला माइक्रोसिस्टमप्रालि तथा सांग्रिला इन्फरम्याटिक्स प्रालि दर्ता गरी सञ्चालन गर्दै आएका यी कम्पनीले सरकारलाई बुझाउनुपर्ने भ्याट छली गरेको विभाग स्रोतले जनाएको छ । त्यस्तै वनकै अर्को कम्पनी जिओसफ्ट टेक्नोलोजी प्रालिले पनि लाखौको भ्याट विवरण नै नबुझाई अपचलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
विभागले हाल वनका कम्पनीमाथि दोहोरो भ्याट बिल, भ्याट तथा अन्य कर अपचलनको विषयमा अनुसन्धान गरिरहेको छ ।
विराटनगर जुट मिलका अध्यक्ष वन जुट मिलको नाममा रहेको सम्पत्ति अपचलन सम्बन्धी मुद्दामा समेत मुछिएका व्यक्ति हुन् ।