बजारको सुनले धानेन ग्राहकको माग, कोटा बढाउन व्यवसायीको आग्रह

काठमाडौं । झण्डै दुई महिना लामो निषेधाज्ञापछि खुलेको बजारमा ग्राहकको माग धान्न पर्याप्त सुन नभएको व्यवसायिले बताएका छन् । बजारमा भएको सुनले ग्राहाकको माग नधान्ने भएपछि सुनचाँदी व्यवसायीले दैनिक ३० किलो सुनको विक्री वितरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आज एक विज्ञप्ति जारी गदै नेपाल राष्ट्र बैंक समक्ष करिब ५४ दिनपछि बजार खुलेकोले ग्राहकको माग बढ्ने र चाडपर्वहरुको समय आउन लागेकोले हाल कायम भएको दैनिक २० किलोग्रामको सीमा बढाएर ३० किलो सुन विक्री वितरणको व्यवस्था गर्न माग गरेको हो ।
साथै संघले गहना व्यवसाय सुचारु भएको वर्तमान अवस्थामा बैंकबाट विक्री वितरण हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्नुपर्ने हुँदा सोको लागि सम्बन्धित निकायमा निर्देशन दिन पनि आग्रह गरेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारीगरेसंगै बन्द भएका अन्य व्यवसायसंगै सुन पसलहरुपनि आजबाट खुलेका छन । आजबाट खुलेको निषेधाज्ञामा स्मार्टलकडाउन अनुरुप निजी सवारी साधन जोरविजोर र पसलहरु बार अनुसार खुलेको छ ।
