सत्ता परिवर्तनको कोपभाजनमा सञ्चय कोषका प्रशासक « Arthapath.com
२२ भाद्र २०७८, मंगलवार

सत्ता परिवर्तनको कोपभाजनमा सञ्चय कोषका प्रशासक



काठमाडौं । मंगलबार १ बजे कर्मचारी सञ्चय कोषको कार्यालय पुल्चोक पुग्दा वातावरण शान्त थियो । हामी सरासर पहिलो तलामा उक्लियौं । त्यहाँ ठुलो हलमा प्रशासकको कार्यकक्ष छ । कार्यकक्षको बाहिर ‘नेमप्लेट’मा ‘जितेन्द्र धिताल, निमित्त प्रशासक’ लेखिएको थियो । धिताल भने भित्र फाइलमा सही गरिरहेका थिए ।

सामान्यतया कुनै पनि निकायमा निमित्त अधिकारीहरु कार्यकारी प्रमुखको कक्षलाई हस्तक्षेप गर्न पुग्दैनन् । आफ्नै कार्यकक्षमा बसेर कार्यसञ्चालन गर्ने गरिन्छ । तर त्यहाँ यस्तो स्वभाविक दृष्य थिएन । निमित्त प्रशासकको जिम्मेवारी पाएका धितालले नेमप्लेटनै परिवर्तन गरेर प्रशासककै कार्यकक्ष प्रयोग गर्न थालिसकेका थिए ।

हामी केही पत्रकार कोषमा पुगेपछि नेपाल प्रहरीको पुल्चोक विटबाट केही प्रहरी पनि कोषको कार्यालय पुगे । प्रहरी अधिकृतले धितालसँग सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश देखाउँदै प्रशासक हाजिर हुन आउन लागेको बारेमा जानकारी गराएका थिए । तर धितालले आफूलाई केही जानकारी नभएको बताए ।

प्रहरी र पत्रकारलाई प्रशासकको कार्यकक्ष अगाडी देखेपछि धिताल त्यहाँबाट उठेर आफ्नै पुरानो कार्यकक्षतिर लागे । उनका स्वकीय सचिव (पीए)ले टेबुलबाट सबै फाइल उठाएर धितालकै कार्यकक्षमा लगिदिए ।

गत शुक्रबारदेखी अदालतबाट अल्पकालिन आदेश पाएका गौतमलाई हाजिर हुन नदिने भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्र निकट कर्मचारी युनियन धर्ना बसेका थिए । आफूलाई हाजिर हुन सहजीकरण होस भनेर गौतमले अदालतको चिठ्ठी बोकेर ३ दिन कुरे ।

केहीबेरमा गौतम कार्यकक्ष प्रवेश गरे । क्षणभरमै धितालको नेमप्लेट उखेलियो । र गौतमको नेमप्लेट राख्न कर्मचारीलाई भ्याइ नभ्याइ थियो । हामी प्रशासकको कार्यकक्षमा पुग्दा नेमप्लेटमा धितालको नाम थियो भने निस्कँदा गौतमको नाम टाँसिइसकेको थियो । गौतमले ३ पटकसम्म धिताललाई आफ्नो कक्षमा बोलाउन कर्मचारीलाई अह्राए । तर धिताल भने ढोकाभित्र पसेनन् । ढोकाको ठेलमा उभिएर नमस्कार गरेर बाटो लागिहाले ।

गत भदौ ३ गते बसेको मन्त्रीपरिषद बैठकले कोषका प्रशासक रहेका गौतमलाई हटाएर कोषका जितेन्द्र धिताललाई निमित्त प्रशासकको जिम्मेवारी दिएको थियो । सरकारले भदौ ३ गते नै हटाए पनि गौतमले पेलेरै ८ गतेसम्म सञ्चय कोषमा काम गरेका थिए ।

चाटर्ड एकाउन्टेन रहेका धिताल काेषमा एकै पटक नआैं तहमा प्रवेश गरेका हुन । २ सातामै सामान्य मानिसभन्दा गैर जिम्वेवार बन्दै धितालले कर्मचारी सञ्चय काेषकाे वेभ साइटमा प्रशासककाे अनुराेध भन्दै आफ्नाे फाेटाे टास्न लगाएका थिए । माओवादी निकट रहेका धितालमा जनार्दन शर्मा अर्थमन्त्री भएकाे दम्भ पनि प्रकट भएकाे देखिन्थ्याे ।

२ महिनाअघि सर्वोच्चको आदेशबाट प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले आफ्नो मन्त्रीपरिषदसमेत विस्तार गर्न सकेका छैनन् । तर देउवा सरकारको कोपभाजनको शिकारमा एक पछि अर्को गर्दै पर्न थालेका छन् ।

सत्ता परिवर्तन भएसँगै पुर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेका नियुक्तीहरु धमाधम फिर्ता हुन थालेका छन् । जसको पहिलो शिकार नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराई परेका छन् । त्यसपछि विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य र कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतम ।

शाक्यको मुद्दाको पेसी सरिरहेको छ भने भट्टराई अदालत नै गएनन् । अघिल्लो सरकारले गरेको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत डिल्ली अर्याललाई सरकारले फिर्ता बोलाइसकेको छ । वर्तमान सरकारले इन्साइडर ट्रेडिङ गरेको भन्दै नेपाल स्टक एक्जेन्ज (नेप्से) को सीईओ चन्द्रसिंह साउदलाई राजिनामा दिन लगाएको छ ।

सर्वोत्तम सिमेण्टको शेयर किनेको आरोपमा साउदसँगै नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुङ्गानाले समेत सेयरमा इन्साइडर ट्रेडिङ गरेको विषयमा छानविन गर्न न्यायिक समिति बनाएको छ । गम्भिर नैतिक प्रश्न उठेको विषयमा बर्खास्तीमा परेका ढुङ्गानाको नाम र फोटो धितोपत्र बोर्डको वेभसाइटबाट भने हालसम्म हाटाइएको छैन ।


प्रतिक्रिया दिनुहोस्