विश्वभर कोरोना संक्रमणबाट ३८ हजार ७ सय बढीको मृत्यु

काठमाडौं । कोराना भाइरसको संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ३८ हजार ७ सय नाघेको छ भने संक्रमितको संख्या ८ लाख पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट भारतमा ३२ जनाले ज्यान गुमाएका छन् भने १ हजार २ सय ५१ जना संक्रमित भएका छन् ।
अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार पु्ग्दा ३ हजार १ सय ७० ले ज्यान गुमाएका छन् ।
कंगोका पूर्व राष्ट्रपति होम्बी ओपान्गोको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । ८१ वर्षिय पूर्व राष्ट्रपतिको उपचारका क्रममा पेरिसको एक अस्पतालमा निधन भएको पुष्टि उनको परिवारले गरेको छ ।
कोराना भाइरस फैलिने त्रास कायम रहँदा चीनमा विश्वविद्यालयका प्रवेश परीक्षा एक महिनापछि सारिएको छ ।
स्पेनमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित बन्दै जाँदा स्पेनका विदेशमन्त्री अरन्च गोन्जालेजले कोरोना महामारिको विपत्तिसँग लड्न युरोपेली युनियनले बजेट छुट्याउने प्रस्ताव अघि सार्नु भएको छ । स्पेनमा आजमात्रै एकै दिन ८ सय ४९ जनाले ज्यान गुमाएपछि मृत्यु हुनेको संख्या ८ हजार १ सय ८९ पुगेको छ ।
कोराना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा इटालीले अप्रिल १२ सम्म लकडाउन समयावधि बढाएको छ ।
जापानमा पनि कोरानाको संक्रमण बढ्दै जाँदा अमेरिका, क्यानडा र वेलायतसहित विश्वका ७३ मुलुकमा भ्रमण नगर्न आफ्ना नागरिकलाई अपिल गरेको छ ।
सेल्फ आइसोलेसनमा बसेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्यायुमा कोरोना भाइरस नगेटेभ भेटिएको छ ।