ट्रम्पको दोस्रो पटक कोरोना परिक्षण, नतिजा यस्तो आयो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रोपटक कोरोना भाइरस परीक्षण गरिएको छ । पहिलो पटक परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो भने दोस्रो पटक पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ ।
अमेरिकी ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले दोस्रो पटक राष्ट्रपति ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तीव्र परीक्षण प्रविधि प्रयोग गरिएको जानकारी दिए । उनले भने राष्ट्रपति ट्रम्पको नमूना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको हो ।
कोरोना भाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको बताएका थिए । यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरूलाई अरु बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो ।
अमेरिका अहिले कोरोना भाइरसको संक्रमणमा केन्द्र बिन्दु बन्न पुगेको छ । अमेरिकामा ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् । एजेन्सी