‘कृषि तथा खाद्य क्षेत्रमा देखिएका चुनौतिहरूको समाधान गर्न सबै एकजुट हुनुपर्छ’ « Arthapath.com
६ असार २०८१, बिहीबार

‘कृषि तथा खाद्य क्षेत्रमा देखिएका चुनौतिहरूको समाधान गर्न सबै एकजुट हुनुपर्छ’



काठमाडौं । खाद्य तथा कृषि क्षेत्रमा देखिएका चुनौतिको सामना गर्न सबै एकजुट भएर लाग्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

खाद्य प्रणाली रुपान्तरणको खाँचो औँल्याउदै सरोकारवालाले संयुक्त राष्ट्र संघ, सरकार तथा गैर सरकारी निकाय, मिडियाकर्मी लगायत सबैले खाद्य स्वच्छता र सुरक्षाका सवालमा गम्भीर भएर लाग्न जोड दिइएको हो ।

एशोसियसन अफ नेपाली एग्रीकल्चरल र्जालिस्ट्स (अनाज) र संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) ले संयुक्त रुपमा आयोजना गरेको खाद्य तथा कृषि रुपान्तरणका पत्रकारिताका विषयमा आयाजित ‘क्यापासिटेटिङ जर्नालिस्ट फर एग्रीफुड सिस्टम ट्रान्सफर्मेसन’ कार्यशालामा वक्ता तथा प्रस्तुतकर्ताले नेपालमा खाद्य तथा कृषि संचार प्रर्वद्धनको विषय टड्कारो बनेको बताएका हुन् ।

कार्यक्रममा मुख्य अतिथि तथा प्रस्तुतकर्ता एफएओका भुटान र नेपालका प्रमुख केन शिमिजुले कृषि तथा खाद्य क्षेत्रमा विभिन्न किसिमका चुनौतिहरू सामना गर्न सबै एकजुट हुनुपर्ने बताए ।

शिमिजुले एफएओ नेपालले पहिलो पटक यसरी पत्रकारहरुसँग साक्षात्कार गरेको जानकारी बताए । कृषि पत्रकारिता गरिरहेका पत्रकारहरु तथा सञ्चारमाध्यमकोे उच्च प्रशंसा गर्दै अहिले कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरूले कलम चलाउने विषय प्रसस्त रहेको र एफएओ पनि कृषि संचारलाई प्राथमिकतामा राखेको बताए ।

शिमिजुले सामाजिक सञ्जालले फाइदा भइरहेको भए पनि डिपफेक जस्ता नराम्रा गतिविधि चुनौतिका रुपमा आइरहेकाले पत्रकारहरूले यसतर्फ सचेत भएर लाग्नुपर्ने बताएका छन् ।

नेपालमा दिगो खाद्य व्यवस्था तथा दिगो कृषि, हिमाल, वातावरण, कृषिसम्बन्धी नयाँ प्रविधि, त्यसको सम्भावना र चुनौति, वातवरणीय परिवर्तन लगायत विषय उठान गरिनुपर्ने मुख्य विषय रहेको र यी विषयमा एफएओले पनि प्राथमिकतासाथ काम गरिरहेको जानकारी शिमिजुले गराए ।

कृषि समाचार बिकाउको मात्रै विषय नभएकाले पनि कृषि सञ्चारकर्मी अरु भन्दा भिन्न र जिम्मेवार पत्रकारिता रहेको उनको भनाइ छ । कृषि क्षेत्रमा नयाँ नयाँ प्रविधि आइरहेकाले काम गर्न उस्तै सहज पनि भइरहेको उनले बताए । युवाहरूले कृषिको भविष्य निकै राम्रो रहेकाले युवाहरूले यसका लागि काम गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले भने,‘म युवापुस्तालाई आग्रह गर्न चाहन्छु, कृषि तथा खाद्य क्षेत्रमा काम गर्नुस् ।’

उनले नेपालको लागि हिमालय क्षेत्र जोगाउनु अत्यन्तै महत्वपूर्ण हुने भन्दै त्यसका लागि एफएओ नेपालले काम गरिरहेको बताए । उनले एफएओ नेपालले नेपालमा विभिन्न परियोजनामा काम गरिरहेको बताए । विभिन्न परियोजना विभिन्न जिल्लाहरूमा सुरु भइसकेको त कतिपय सुरू गर्ने तयारीमा रहेको उनले बताए ।

शिमिजुले फुड एण्ड न्युट्रेसन सेकुरिटी इन्ह्यान्समेन्ट प्रोजेक्ट विभिन्न ८ जिल्लालाई समेटेर अगाडि बढाइएको बताए । जसका लागि २० मिलियन अमेरिकी डलर बजेट रहेको र ५ वर्षको अवधि रहेको उनले जनाकारी दिए । यस परियोजनाले पर्यावरण जोगाउने, कृषि उत्पादन जोगाउने लगायतका काम गर्ने छ । जसबाट ५५ हजार नागरिकले लाभ पाउने उनको भनाइ छ । यसबाहेक अन्य विभिन्न परियोजना अगाडि बढिरहेको उनले बताए ।

कार्यशालामा अर्का प्रशिक्षक क्यानडाको युनिभर्सिटी अफ ओटवाका प्रोफेसर डा. भानुभक्त आचार्यले पत्रकारिताको वर्तमान अवस्था र चुनौतिबारे विश्लेषणात्म प्रस्ुतति गरे ।सञ्चार माध्यमले सूचना नभई समाचार दिनुपर्नेमा आचाईको जोड छ।

उनले अहिले कृषिसम्बन्धी अध्ययन अनुसन्धान तथा र एग्रीकल्चर एड्भोकेसीलाई सञ्चार माध्यमले जोड दिनुपर्ने बताए । सञ्चार माध्यमले हालसम्म कृषिबारे समाचार बनाएपछि एजेण्डा त्यही नभएको उल्लेख गरे ।

आचार्यले अहिले कृषिसम्बन्धी नयाँ प्रविधि, त्यसको सम्भावना र चुनौतिबारे बढी समाचार बनाउनुपर्ने बताए । पछिल्लो समय कृषि ऋण लिएर अन्यन्त्र नै खर्च गर्ने प्रवृद्धि बढ्दो रहेकाले पत्रकारले त्यस्ता कामविरुद्ध कलम चलाउनुपर्ने बताए । “यसबारे रिसर्च गर्नुस्, कृषकका नाममा विचौलिया हावी भएर कृषि ऋण अपचलन गरिरहेका छन्, यस विषयमा समाचार ब्रेक गर्न सकिन्छ,” उनले भने ।

कृषि क्षेत्र, आपूर्ति प्रणाली लगायतमा जोडिएर भ्रष्टाचारहरूलाई उजागर गर्ने, ग्रामीण कृषकलाई समाचारमा समेट्ने र उनीहरूमा उत्साह जगाउने हिसाबले समाचार लेख्नुपर्नेमा उनको जोड रह्यो । बढ्दो सूचना प्रविधिको प्रयोग, आर्टिफिसियल इन्टेलिजेन्टको प्रयोग जस्ता कुरामा समेत ध्यान दिनुपर्ने उनले बताए । दीगो फार्मिङको रणनीतिलाई ध्यान दिनुपर्ने आवश्यकता उनले औंल्याए ।

पत्रकार प्रशिक्षण कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले खाद्य स्वच्छता बढाउनका लागि लगानी बढाउनुपर्ने बताइन् । आयातित खाद्य वस्तुको नियन्त्रणका लागि आयात अनुमति लिनुपर्ने व्यवस्था रहेको र ऐनमै यसलाई समावेश गरिएको बताइन् । यसले थप व्यवस्थित र बलियो गरी यो व्यवस्था कार्यान्वयनमा आउने उनको भनाइ छ ।

लाइसेन्स ट्रेस गर्ने तथा आयात गरिरहेको वस्तु र उसले ल्याउँछु भनेको वस्तुमा तालमेलका लागि काम गर्नुपर्नेमा उनले जोड दिइन् । कार्यक्षत्र बिचको विवादका कारण पनि कहिलेकाहीँ उपभोक्ताको अधिकारमा पचि चुनौति थपिएको उनले बताइन् । यस्तो नहुनका लागि सबै क्षेत्र सचेत हुनुपर्नेमा उनको जोड छ ।

“कहिले भन्सारको कार्याक्षेत्र हो कि वा कसको भन्ने नै कन्फ्युज भइरहेको हुन्छ । कुन कार्यालयको क्षेत्राधिकार के हो भन्ने विषयमा उपभोक्ता र सरोकाराला सचेत रहनुपर्छ,” उनले भनिन् । वैद्यले यो क्षेत्र संरचनागत रुपमा ठूलो भएपनि बजेट एकदमै कम भएको बताइन् । साथै जनशक्ति पनि कम रहेको उनको भनाइ छ । “हामीसँग जम्मा ३६० जनाको दरबन्दी छ । जुन निकै कम हो । यसका बावजुद पनि काम गरिरहेका छौँ,” उनले भनिन् ।

नयाँ ऐनमा कसुर स्थापित गरिएको उनले बताइन् । विगतमा जसलाई पनि एउटै कसुरमा सजायको व्यवस्था रहेकोमा अहिले निकै कडा कानूनको रुपमा यसलाई ल्याइएको उनले बताइन् ।

अनाजका अध्यक्ष किरण आचार्यले कृषि पत्रकारितामा ध्यान दिनुपर्ने कुराहरू सहितको प्र्रस्तुतीकरण गरेका थिए । आचार्यले कृषि पत्रकारिता अधिक जिम्मेवार र प्राविधिक पत्रकारिता भएकाले अध्ययन अनुसन्धानमा विशेष जोड दिनुपर्ने बताए ।

कार्यशालाको समापन कार्यक्रमका सभापति एवम् एफएओ नेपालका सहयोग प्रतिनिधि डा. विनोद शाहले कार्यक्रमको कृषि र वातावरणलाई सँगै राखेर दिगो विकास हुनेगरी काम गर्नुपर्नेमा जोड दिए । यसैका लागि एफएओले काम गरिरहेको समेत उनले बताए ।


प्रतिक्रिया दिनुहोस्