काठमाडौँमा पहिलो आँप उत्सव भोलिबाट « Arthapath.com
६ असार २०८१, बिहीबार

काठमाडौँमा पहिलो आँप उत्सव भोलिबाट



काठमाडौँ । गृष्म ऋतु भनेको नै फलको ‘राजा’ आँपको मौसम हो । अहिले आँप उत्पादन हुने समथर तराइमात्रै होइन, काठमाडौँ उपत्यका र प्रमुख शहरहरु आँपमय भएका छन् । कालीमाटीको थोक बजारमा थोरै लिचि र बाँकी आँपकै भण्डार देखिन्छ ।

खर्बुजा र अरु फलफूल पनि छन् । तर ज्यादा मान्छेको आँखा आँपमै छ । स्वाद आँपकै छ । मौसम अनुसारको फल खानु त परिहाल्यो । तर आँप संस्कृति पनि हो । अब यसलाई मेलाको रुपमा पनि प्रदर्शन गर्न थालिएको छ ।

यो सालको पहिलो आँप मेला यसै साता हुने भएको छ । ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ भन्ने नाराका साथ शुक्रबारदेखि आइतबारसम्म काठमाडौँमा ‘म्याङ्गो फेस्ट’ आयोजना हुन लागेको हो ।

किसान भेञ्चर्स र काठमाडौँ अर्गानिक्सले उक्त मेला आयोजना गर्न लागेका हुन् । उक्त मेला पहिलो दिन पानीपोखरीको ‘वालनट विस्ट्रो’मा आयोजना हुने छ ।

दोस्रो दिन (शनिबार) विहान ८ देखि १ बजेसम्म लाजिम्पाटको ‘फार्मर्स कार्केट ले शेर्पा’मा र २ बजेदेखि साँझ ६ बजेसम्म बौद्धको उत्पला क्याफेमा मेला आयोजना हुने छ । आइतबारको अन्तिम हाट भने बाँसबारीको ‘काठमाडौँ अर्गानिक’ र ललितपुरको झम्सिखेलस्थित ‘द गार्डेन्स’मा आयोजना हुने छ ।

मेलाका दौरान आँप खाने प्रतियोगिता समेत आयोजना गरिने जनाइएको छ । फेस्टमा तराइका सर्लाही, सप्तरी र सिराहाका ५० किसानबाट किनेर ल्याइएका विभिन्न १५ प्रजातीका आँप राखिने आयोजकले जनाएको छ ।

मेलामा १० वटा स्टलहरु राखेर माल्दा, बम्बै, कृष्णभोग, मल्लिका, आम्रपाली, दशहरि, कलकतिया लगायत जातका आँप विक्री गरिने आयोजकले बताएको छ । मेलामा आँपका साथै आँपबाटै बनेको अचार, पाउडर, चाना, जाम लगायत पनि विक्रीका लागि राखिने छ ।


प्रतिक्रिया दिनुहोस्