एनआईसी एशिया बैंकको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एनआईसी एशिया बैंकको नाफामा भारी गिरावट आएको छ । चैत मसान्तसम्म बैंकको नाफा ९१.८१ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।
यो अवधिसम्म अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर ७ अर्ब ९६ करोड २५ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म बैंकले ब्याज आम्दानीबाट ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशतले घटेर ९ अर्ब १९ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ ।
सञ्चालन मुनाफा पनि ६४.४० प्रतिशत घटेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म ३ अर्ब ६२ करोड ५२ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएकोमा यस वर्ष १ अर्ब २९ करोड रुपैयाँ मात्र कमाएको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब १४ करोडबाट बढेर ३ अर्ब ५ करोड पुगेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १५ रुपैयाँ ८९ पैसा घटेर १ रुपैयाँ ४० पैसामा झरेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५६ करोड रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६६.६४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा रहेको छ।
१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ सञ्चित छ। बैंकको तेस्रो त्रैमासको अन्त्यसम्ममा २ खर्ब ९४ अर्ब ६ करोड १ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।