राष्ट्र बैंकले यसवर्ष दशैँमा नयाँ नोट नबाँड्ने, डेपुटी गभर्नर शिवाकोटी भन्छन्, नयाँ नोट बाढेर कोरोना फैलाउनु छ र ?

काठमाडौं । यस वर्ष नेपालीहरुको लागी दशैँ खल्लो बन्ने भएको छ । कोरोनाका कारण यसैपनि खल्लो बनेको दशैँ त्यसमा पनि नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा नपठाउने भएपछि दशैँ थप खल्लो बन्न लागेको हो ।
नेपाल राष्ट्र बैंकसंग दशैँको लागी बाँढ्न प्रयाप्त नयाँ पैसा भएपनि कोरोनाको कारण नबाँढिने संभावना रहेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बताए । नयाँ पैसा बाँढ्ने भनेपनि बजारमा अनावश्यक भिडभाड बढ्ने हुँदा राष्ट्र बैंकले सकभर नयाँ पैसा वितरण नगर्ने मुडमा रहेको शिवाकोटीले बताए ।

यद्यपि यसबारेमा शुक्रबार बस्ने नेपाल राष्ट्र बैंकको बोर्ड बैठकमा छलफल हुनेछ । अर्थ मन्त्रालयसंग समन्वय गरेर नयाँ पैसा बजारमा पठाउने वा नपठाउने भन्ने बारेमा आजै निर्णय हुने शिवाकोटीले बताए । राष्ट्र बैंकले वर्षेनी दशैँ अगावै नयाँ पैसा बाँढ्ने गरेको थियो । नयाँ पैसा लिन राष्ट्र बैंकका विभिन्न बैंकिङ कार्यालयदेखी निजी बैंकहरुमा समेत भिड लाग्ने गरेको थियो ।
उपत्यकामा कोरोना संक्रमितको संख्या उच्च देखिएसंगै राष्ट्र बैंकले नयाँ पैसा बाँढेर झनै कोरोना फैलाउने काम नगर्ने शिवाकोटीले बताए । उनले कम जोखिम भएका क्षेत्रहरुमा पैसा बाँढ्न सकिने विषयमा पनि छलफल हुने बताएका छन । राष्ट्र बैंकका ५९ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएसंगै राष्ट्र थप सर्तक भएको छ । बैंकका ५९ जना कर्मचारी र कर्मचारीका ५७ जना परिवार सदस्यलाई कोरोना देखिएको छ ।

राष्ट्र बैंकले देशभर विगतमा १ सय भन्दा मुनिका नयाँ पैसा करिव ७ अर्व बाँढ्ने गरेको थियो । दशैँको लागी भनेर करिव ३० अर्व नयाँ पैसा रेडी गर्ने गरेको थियो । अहिले राष्ट्र बैंकसंग २० का नोट केही कम भएको शिवाकोटीले बताए । २० का नोट पनि कलकत्ता आइपुगेको शिवाकोटीले बताए । राष्ट्र बैंकसंग नयाँ नोटको नगद मौज्जाद प्रयाप्त रहेपनि वितरमा भने कोरोनाका कारण समस्या आएको छ ।