४ बैङ्कमा सीईओ खाली, कुनमा कसको दौड ?

काठमाडौँ । अहिले ४ ओटा वाणिज्य बैङ्कमा सीईओ खाली रहेका छ । सबैभन्दा पहिले सीईओ खाली रहेको कुमारी, सिद्धार्थ, बैङ्क अफ काठमान्डु र सेन्चुरी बैङ्कमा सीईओ खाली रहेका छन् ।
गत असोज पहिलो साता एभरेस्ट बैङ्कको सीईओ पदमा सुदेश खालिङले कार्यभार सम्हाले । उनी एभरेस्ट बैङ्कको साढे २ दशक लामो इतिहासमा पहिलो नेपाली सीईओ हुन् । यसअघि भारतीय साझेदार बैङ्क पन्जाब नेशनल बैङ्कबाट आउने व्यवस्थापन समूहले एभरेस्ट बैंकको व्यवस्थापन चलाउने गरेको भए पनि पहिलो पटक भारतीय मूलकै बैंकर खालिङलाई सीईओ बनाइएको हो । करिब २ दशक स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा काम गरेका खालिङले ७ वर्ष लक्ष्मी बैङ्कमा काम गरेका छन् । उनले लक्ष्मी बैङ्कमा प्रमुख सञ्चालन अधिकृत, डेपुटी सीईओ र सीईओको रूपमा काम गरे । त्यसपछि उनी विज्ञ सञ्चालकको रूपमा सिटिजन्म बैङ्कका नियुक्त भए पनि बिचैमा राजीनामा दिएर एभरेस्ट गएका हुन् ।
एभरेस्टमा सीईओ नियुक्त भए पनि अझै चार वटा वाणिज्य बैङ्कमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) खाली भएको महिनौँ बितिसकेको छ । बैङ्क कायम÷मुकायम (कामु) सीईओको भरमा चलिरहेको छ । बैङ्क सञ्चालक समिति थाहै नपाएजस्तो गरी काम गरिरहेका छन् । नयाँ सीईओ नियुक्तिका लागि व्यवस्थापनले खासै चासो दिएको छैन ।
कुमारी, सेन्चुरी कमर्सियल, सिद्धार्थ र बैङ्क अफ काठमान्डु (बेओके) मा सीईओ खाली भएको धेरै भए पनि सञ्चालक समितिहरूले डेपुटी सीईओलाई निमित्त दिएर बैङ्क चलाइरहेका छन् । खास गरी राष्ट्र बैंकले तीन महिनासम्म निमित्तकै भरमा बैङ्क चलाउन सक्ने नीतिगत सुविधा दिएकाले सञ्चालक समितिले त्यसैलाई प्रयोग गरिरहेका छन् ।
सञ्चालक समितिले हतारमा सीईओ नल्याउनुमा निमित्त सीईओलाई नै सीईओको जिम्मेवारी दिने, केही समय निमित्तबाटै काम चलाउँदा थोरै भए पनि सेवा–सुविधा कटौती हुँदा खर्चमा सकारात्मक प्रभाव पर्ने र कतिपय बैङ्कले मर्जरमा जाने तयारीका लागि केही समय निमित्तकै भरमा बैङ्क चलाउन सके मर्जरमा थप सहजता प्राप्त हुने बताएका छन् ।
अहिले पनि बेओके ग्लोबल आइएमईसँग मर्ज गर्ने हल्ला चलिरहेको छ । त्यस्तै, हल्ला सेन्चुरीको नविलसँग मर्जर हुने भन्ने पनि छ । राष्ट्र« बैङ्कले पनि बैंकहरू मर्जमा जाने प्राथमिकता दिइरहेको छ र मौद्रिक नीतिमार्फत विभिन्न सुविधा दिएको छ । सरकारले पनि करमा छुट हुने नीतिलाई निरन्तरता दिएकै छ ।
तुलसीराम गौतमले सेन्चुरी छाडेको करिब ४ महिना पुग्न लागिसक्यो । गौतमले कार्यकाल बाँकी हुँदै असार २७ गते सीईओबाट राजीनामा दिएका थिए । लगत्तै मनोज न्यौपानेलाई निमित्त सीईओ दिइयो । सेन्चुरीका सञ्चालकहरू सीईओ नियुक्तिमा भन्दा मर्जरमा जोड दिन थालेका छन् । यद्येपी सेन्चुरीमा मर्जरको फिक्स नभएकाले नेपाल राष्ट्र बैङ्कको पूर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डेलाई सीईओ बनाउने गरी कुरा अघि बढाएको थियो । तर बैङ्कका केही सञ्चालकहरूले सनराइज बैङ्कका सीईओबाट गत फागुनमै राजीनामा दिएका जनक शर्मा पौडेलसंग पनि कुरा चलाएका छन् ।
कुमारीका सीईओ सुरेन्द्र भण्डारी असार ३१ मा बिदा भए र अनुजमणि तिमिल्सेनाले निमित्तको जिम्मेवारी पाए । अनुज यसअघि सेन्चुरीको सीईओमा नै राजीनामा दिएर कुमारीको डेपुटी सीईओ बन्न आइपुगेका हुन् । कुमारीमा धेरैले अनुजलाईनै सीईओ दिने आकलन गरेका छन् । तर सञ्चालक समितिले गरेको विलम्बलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सेन्चुरीमा नपाए कुमारीमा भए पनि जाने गरी जनक शर्माले कुरा चलाएको भए पनि फिक्स भएको छैन ।
साउन १८ गते सिद्धार्थबाट शम्भुप्रसाद गौतमले बिदा लिए र सुन्दर प्रसाद कँडेललाई निमित्त पाए । सिद्धार्थमा कणेँलनै सीइओ पाउने सम्भावना रहेको छ । साउन १९ गते बीओकेका सीईओ शोभनदेव पन्तले अवकाश लिएपछि श्रवणलाल मास्केलाई निमित्तको जिम्मेवारी दिइयो । बिओकेले ग्लोबल आईएमई बैङ्कसँग मर्जर गर्न कुरा अघि बढाएकाले सीईओ नियुक्ति तत्काल नहुने बताइएको छ ।
कुन–कुनमा खाली हुँदै ?
उता, थप ३ बैङ्कमा छिट्टै सीईओ खाली हुँदै छन् । २०७५ असार ७ मा नबिल बैङ्कका सीईओ नियुक्त अनिल केशरी शाहको ४ वर्षे कार्यकाल सकिँदै छ । यद्यपि, शाहलाई थप एक कार्यकाल थप्न सकिने सम्भावना छ । तर, नबिलका शाहभन्दा अघि नै सानिमा बैङ्कका सीईओ भुवनप्रसाद दाहाल दुई कार्यकाल पूरा गरेर बारिँदै छन् । नविलमा पनि शाहलाई कार्यकाल नथपी अर्को उम्मेदवार खोजिने चर्चा छ, भने सानिमामा नयाँ सीईओको खोजी सुरु भैसकेको छ ।
पछिल्लो पटक २०७४ कात्तिक २७ मा दाहाल सानिमामा सीईओ भएका थिए । शाहले मेगा बैङ्कमा दुई कार्यकाल पूरा गरेपछि नबिलमा गएसँगै सीईओको जिम्मेवारी पाएकी मागेकी सीईओ अनुपमा खुँजेलीको पनि पहिलो कार्यकाल पूरा हुन धेरै समय छैन । खुँजेलीसँग पुनः नियुक्त हुनसक्ने आधार रहे पनि बैङ्क व्यवस्थापनले निर्णय नगर्दासम्म यसै भन्न सकिन्न । खुँजेलीलाई अर्को कार्यकाल सीईओ नबनाउने विषयमा सञ्चालकको कुरा मिलिसकेको बताइएको छ । यद्यपि, खुजेलीको कार्यकालमा मेगा बैङ्कको ग्रोथ भने तुलनात्मकरुपमा निकै राम्रो भएको देखिन्छ । त्यस्तै नेपाल बङ्गलादेश बैङ्कमा पनि आगामी पुषमा ज्ञानेन्द्र ढुङ्गानाको दोस्रो कार्यकाल सकिँदै छ ।