व्यवसाय विस्तारमा नबिल आक्रामक: प्राइम, कृषि, एभरेष्ट र ग्लोबल आइएमई तगडा, कसले बढाए-कसले घटाए ? « Arthapath.com
१० असार २०८१, सोमबार

व्यवसाय विस्तारमा नबिल आक्रामक: प्राइम, कृषि, एभरेष्ट र ग्लोबल आइएमई तगडा, कसले बढाए-कसले घटाए ?



काठमाडौं । ११ महिनामा वाणिज्य बैंकहरुले साढे चार खर्ब निक्षेप संकलन गरेका छन् । सवा २ खर्ब बढी मात्रै कर्जा लगानी गरेका छन् ।

नेपाल बैंकर्स संघबाट प्राप्त चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकहरुले ४ खर्ब ५२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । निक्षेप संकलन औसतमा ८.९० प्रतिशत र कर्जा लगानी ५.१९ प्रतिशत मात्रै बढेको छ ।

निक्षेपको तुलनामा कर्जा प्रवाह भने न्युन देखिएको छ । निक्षेप निरन्तर वृद्धि भईरहेको अवस्थामा कर्जा प्रवाह भने सुस्त छ । आर्थिक शिथिलताले कर्जाको माग बढ्न नसकेको बैंकरहरु बताउँछन् । आर्थिक गतिविधिमा खास सुधार आउन नसक्दा पनि बैंकहरुको व्यवसाय अपेक्षित बढ्न सकेको छैन ।

बैंकर्स संघका अनुसार गत असार मसान्तसम्ममा बैंकहरुले कुल ५० खर्ब ८५ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । तर, जेठ मसान्तसम्म आइपुग्दा भने बढेर ५५ खर्ब ३८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा सबैभन्दा धेरै निक्षेप राष्ट्रिय वाणिज्य बैंकले संकलन गरेको छ । बैंकले ८१ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेको हो । तर, कर्जा प्रवाह भने ६ अर्ब ४९ करोड रुपैयाँ मात्रै छ ।

समिक्षा अवधिमा ग्लोलब आइएमईले ५४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संलकन गरेको छ । बैंकको कर्जा लगानी भने १५ अर्ब ८१ करोड रुपैयाँ मात्रै छ । निक्षेप संकलनको आधारमा तेस्रो सूचीमा भने नबिल बैंक छ । नबिलले ११ महिनामा कुल ५२ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । तर, सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा भने पहिलो सूचीमा छ । समिक्षा अवधिमा नबिलले कुल ४७ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

कर्जा लगानीकै आधारमा दोस्रो सूचीमा भने प्राइम कमर्सियल बैंक छ । समिक्षा अवधिमा प्राइमले ३१ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। तर, २९ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कुन बैंकको निक्षेप संकलन कति ?

स्रोतः नेपाल बैंकर्स संघ, रकम अर्बमा

यस्तै, समिक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३७ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यता, एनआइसी एशियाको निक्षेप संकलन ३४ अर्ब ६१ करोड, कृषि विकासको २८ अर्ब ९३ करोड, नेपाल बैंकको २८ अर्ब ६७ करोड, एभरेष्टको २७ अर्ब ७५ करोड, नेपाल एसबिआईको २२ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा यी बैंकहरुले क्रमशः १२ अर्ब ५९ करोड, १८ अर्ब ४६ करोड, १८ करोड ७५ लाख, १७ अर्ब ७६ करोड, ८ अर्ब ४१ करोड कर्जा प्रवाह गरेका छन् ।

समिक्षा अवधिमा स्ट्याण्डर्ड चार्टड, माछापुच्छ्रे र प्रभु बैंकको निक्षेप संकलन भने घटेको देखिन्छ । गत असार मसान्तसम्मको तुलनामा यी बैंकहरुको निक्षेप क्रमशः ७ अर्ब ४१ करोड, ८ अर्ब ६० करोड, ११ अर्ब ८५ करोड रुपैयाँ घटेको छ ।

यता, लक्ष्मी सनराइज बैंकको कर्जा लगानी ५९ करोड, प्रभुको ५ अर्ब ४० करोड र स्ट्याण्डर्ड चार्टर्डको ६ अर्ब ९५ करोड रुपैयाँ घटेको छ ।
यस्तै, सानिमा बैंकको निक्षेप संकलन १२ अर्ब १९ करोड, सिटिजनको ११ अर्ब ९० करोड, कुमारीको ११ अर्ब ६० करोड, हिमालयनको ९ अर्ब ५६ करोड, सिद्धार्थको ७ अर्ब ४२ करोड र एनएमबिको २ अर्ब १८ करोड रुपैयाँ छ । समिक्षा अवधिमा यी बैंकहरुको कर्जा लगानी भने क्रमशः १२ अर्ब ९० करोड, १३ अर्ब ३२ करोड, ४ अर्ब १३ करोड, २ अर्ब २० करोड, १२ अर्ब २४ करोड र ६ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।

कुन बैंकको कर्जा लगानी कति ?

स्रोतः नेपाल बैंकर्स संघ, रकम अर्बमा


प्रतिक्रिया दिनुहोस्