एनसीएचएलले सुरु गर्यो प्राइम र सांग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा

काठमाडौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा शुरु गरेको छ ।
उक्त सेवामा आवद्ध बैंकहरुका ग्राहकहरुले सञ्जालमा रहेका एटीएम मेसिन प्रयोग गरी बिना कार्ड मोबाइल बैंकिङ्ग वा कनेक्टआइपिएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको छ ।
अब दुबै बैंकका ग्राहकहरुले एउटा बैंकको खाताबाट अर्को बैंकको एटीएम मेसिन प्रयोग गरी समेत बिना कार्ड नगद झिक्न सक्नेछन् ।
हालका लागि ग्राहकहरुले एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल प्ल्याट्फर्म अन्तर्गत कनेक्टआइपीएसमा रजिष्टर गरी आफ्नो लिङ्क गरिएको प्राइम कमर्सियल बैंक वा सांग्रिला डेभलपमेन्ट बैंकको खाताबाट सो सुविधा प्रयोग गर्न सक्नेछन् ।
ग्राहकले कनेक्टआइपिएस मोबाइल एपमा लग इन गरी कार्डलेस विड्रअल अप्सनमा क्लिक गरी निष्कासन गर्ने बैंक खाता छनौट गर्नुपर्ने छ । कनेक्टआइपीएसमा रजिष्टर गरिएको मोबाइल नम्बरमा प्राप्त भएको ओटीपीलाई सञ्जालमा उपलब्ध बैंकको नजिकैको एटीएममा ओटीपी प्रयोग गरी नगद झिक्न सकिनेछ ।
हाल यो सेवा प्राइम र सांग्रिला बैंककोे एटीएममा उपलब्ध रहेको छ । चरणवद्ध रुपमा थप अन्य सदस्य बैंक वित्तीय संस्थाहरुमा पनि विस्तार गरिने योजना रहेको क्लियरिङ्ग हाउसले जनाएको छ ।
अहिले बैंकका ग्राहकहरुले कार्डलेस विड्रअल सेवा आफ्नै बैंकको एटीएमबाट मात्र गर्न सकिने व्यवस्था रहेको थियो । नयाँ सुविधाजनक सेवाको शुरूवात पश्चात् ग्राहकहरुले सजिलै अर्काे बैंकको एटीएमबाट समेत बिना कार्ड नगद निकाल्न सक्ने व्यवस्था भएको छ ।