तराईमा जग्गाको भाउ सस्तिँदा बैंकको ऋणमा समस्या, दुई ठूला विमानस्थलको नाममा कसरी भयो सट्टेबाजी ?

भैरहवा र निजगढको विमानस्थलले बढाएको सट्टेबाजीले सिङ्गै– सिङ्गै प्रदेशभर नै जग्गाको मूल्य अस्वाभाविक रुपमा बढेको थियो । तर अहिले त्यहाँका जग्गाको धितो मूल्यांकन झण्डै आधा घटेको बैंकरको भनाइ छ ।
काठमाडौँ । केही वर्ष अघसम्म भैरहवा र बारामा जग्गाको भाउ ‘कसैले नसोचेको’ रफ्तारमा बढ्यो । बारामा निजगढ विमानस्थल र भैरहवामा गौतमबुद्ध विमानस्थल बन्ने भएपछि सारा पूँजीपति ब्यापारीदेखि ससानो व्यवसाय गर्नेहरुसम्मले ती क्षेत्रमा जग्गा किन्न थाले ।
बैनामाथि बैना हुन थाल्यो । गाउँघरका दर्जनौँ किसानहरु खेतिपाती छाडेर जग्गाको दलाली गर्न थाले । काठमाडौँ, विराटनगर, वीरगञ्ज, पोखराजस्ता अन्य शहरबाट ठूलो संख्यामा मानिसहरु ती क्षेत्रमा जग्गा किन्न पुगे । उनीहरुलाई जग्गा देखाउने, रोजाउने, ललाई–फकाइ गर्ने र सकेसम्म महँगो भाउमा कारोबार गराउने सिलसिला चल्यो ।
चितवन, नवलपरासी पनि कारोबारको खुब रोजाइमा पर्यो । पूर्वमा सुनसरी त्यस्तै विकास भयो । पहाडी र हिमाली क्षेत्रका मानिसहरु पनि विस्तारै तराईमा केन्द्रित हुन थाले । ‘तराई झर्ने’ सिलसिला पुरानै भए पनि पछिल्ला वर्षमा पहाडी क्षेत्रमा निर्माण भएका कतिपय विकास परियोजनाहरुले मानिसलाई तराई झर्न सजिलो पारिदियो ।
धादिङ, गोरखाका मानिसलाई बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना बनाउने भनेर सरकारले भूमि अधिग्रहण गरेपछि धेरै मान्छेले तराईमा जग्गा किने । सुनकोशी मरिणले मुआब्जा दिएपछि पनि यस्तै देखियो । भलै, उसको मुआब्जा कमैमात्र मान्छेले पाएका थिए ।
हरेक साल यही दशैँ–तिहारको समयमा स्वदेश आउने गैरआवासीय नेपालीले सौराह र काठमाडौँमा ठूलै परिमाणमा जग्गा जोड्ने गरेका थिए । पश्चिम नेपालमा पनि तराई झर्ने लर्को कम छैन । सुदुरपश्चिममा अहिले मानिसहरु घरमा भेदिँदैनन् । बाबुआमा दक्षिण भारतमा नोकरी गर्ने र बालबच्चालाई तराईमा छात्रबास राखेर पढाउने प्रचलन सुरु भएको छ ।
यस्ता थुप्रै कारणले तराईको जनसंख्या बढ्दै गएको छ र जग्गाको खण्डिकरण पनि उसैगरी बढिरहेको छ । तर तीन वर्षदेखि छाएको मन्दीको असर सबैभन्दा बढी त्यही तराई क्षेत्रको जग्गाले भोगेको छ । काठमाडौँ, पोखराजस्ता शहरमा राम्रो जग्गाको कारोबार भइरहेको भए पनि तराईका अधिकांश स्थानमा कारोबार ठप्पप्रायः छ । जग्गाको मूल्य पनि ४ वर्ष अघिको तुलनामा भारी मात्रामा घटेको देखिन्छ ।
यसको मार अहिले बैंकिङ प्रणालीमा परिरहेको छ । ‘रिटेल’ कर्जा प्रवाह गर्नमा आक्रामक देखिएको एनआईसी एसियाजस्ता ठूला बैंकहरु अहिले समस्यामा परेका छन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण हेर्दा घरजग्गामा प्रवाह भएको खुद्रा ऋणीहरु अहिले कर्जा थेग्न नसक्ने अवस्थाको सामना गरिरहेको देखिन्छ ।
यही कारण बैंकहरुले प्रोभिजन बढाउँदै लानु परेको छ भने लगानीकर्ताको मनोबल पनि कमजोर परिरहेको छ । ‘अहिले लुम्बिनी र मधेश प्रदेशमा जग्गाको मूल्य निकै कम भएको देखिएको छ’ एक बैंकर भन्छन्, ‘पहिले ऋण लिँदा मूल्य बढिरहेका कारण वास्तविकभन्दा ज्यादा पनि मूल्यांकन भएको हुनसक्छ । तर अहिले आउँदा धितो राखेको जग्गाको मूल्यांकन आधा घटिसकेको छ ।’
दुई अन्तरराष्ट्रिय विमानस्थलको सन्दर्भले यी क्षेत्रमा ब्यापक मात्रामा जग्गाको कारोबार भएको थियो । आफ्ना एक जना आफन्तले भैरहवामा २ विगाह जग्गा किनेर अमेरिका गएको बताउने एक मेयर भन्छन्, ‘उहाँले १५ वर्ष अमेरिकामा व्यवसाय गरेर कमाएको कुल सम्पत्ती र भैरहवाको दुई विगाह जमीनको मूल्य अभिबृद्धि (नाफा) बराबर भएको रहेछ ।’
यसरी असाधारण रुपमा महँगिएको जग्गा र बाक्लिएको कारोबार एकाएक सुस्ताउँदा बैंकको ऋण तिर्ने सामथ्र्य खुम्चिएको छ । जग्गामा गरेको लगानी फसेपछि मानिसहरु न त अरु व्यवसायमा प्रवेश गर्न सकेका छन्, न त उपभोग बढाउन नै सकेका छन् । यसले बृहत्तर स्तरमै नेपालको घरेलु अर्थतन्त्रलाई सुस्ततामा धकेल्न बल पुर्याइरहेको बैंकरको बुझाई छ ।
अर्थतन्त्र अहिलेको सुस्त हालतबाट बाहिर आउन नसक्नुका कयौँ कारणमध्ये यो पनि एक भएको बैंकरको ठम्याई छ । अझ निजगढमा त विमानस्थल बन्ने सुनिश्तिता समेत हुन नसकेको उनीहरु बताउँछन् । यसले मानिसलाई त्यहाँ किनेको जग्गा ‘निल्नु न ओकल्नु’ भएको छ ।
केही ब्यापारीले भने ठूलो परिमाणमा जग्गा किनेका कारण उनीहरुले त्यही जग्गामा कृषि कार्यक्रमहरु अघि बढाएका छन् । कृषि कर्जाको लागि सस्तो ब्यामा ऋण पाइने भएका कारण पनि माछापालन र खेतिपाती थालेको देखिएको छ । तर त्यसो गर्न नसक्ने मानिसको संख्या ठूलो छ ।
भैरहवामा त गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल बनिसकेको छ । तर उक्त विमानस्थल विभिन्न कारणले सञ्चालनमा आउन सकेको छैन । यो हिउँदमा त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द गर्ने भनिएपछि भैरहवाबाट उडानभर्न केही वायुसेवा कम्पनीहरु राजी भएका छन् ।
तर आगामी चैतमा काठमाडौँमा विमानस्थल पुनः पूर्ण उडानका लागि तयार भएपछि ती वायुसेवा कम्पनीहरुले पनि भैरहवा छाड्नसक्ने संभावना उत्तिकै छ । तर विमानस्थल बनेको बेला चुलिएको मनोबलका कारण भैरहवामा ब्यापक मात्रामा खोलिएका होटेल तथा पर्यटन सम्बद्ध व्यवसायहरु कयौँ बन्द भइसकेका छन् भने कतिपयले धौधौसँग चलाइरहेका छन् ।
यसरी अपेक्षाकृत रुपमा पूर्वाधार परियोजनाहरु नबने र त्यसबाट हुनसक्ने आर्थिक अवसर पनि सिर्जना नहुने कारणले नेपालमा जग्गाको कारोबार पहिलेजसरी बढ्न नसकेको देखिएको छ । यसको असर समग्र बैंकिङ प्रणालीमा परिरहेको छ । किनकी, यो अहिले पनि बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको दुई तिहाई (६६.१६ प्रतिशत) ऋण घरजग्गाकै धितोमा प्रवाह भएको छ ।