उद्यमीको सारथि बन्दै ‘नबिल एसएसई’, प्रभावकारिता थप चुलिँदै

काठमाडौं । ललितपुरस्थित हरिसिद्धिकी सरला महर्जन बायोएन्जाइम हुन् । सकल बायोएन्जाइम नेपालकी सञ्चालक सरलाले पर्यावरणमैत्री उत्पादनहरू बजारमा ल्याएकी छिन् । जनवरी २०२४ मा स्थापित, सकल बायोएन्जाइमले रासायनिक क्लीनरहरूको विकल्पमा प्राकृतिक स्रोत साधन जस्तै, फलफूलको बोक्रा र जैविक फोहोरबाट बनेको पर्यावरण-मैत्री जैविक-इन्जाइमहरू सिर्जना गर्छ । जसले विशेष रासायनिक प्रतिक्रिया प्रक्रियामा मद्दत पुर्याउँछ।

करिब १० वर्ष अगाडि सरलालाई ब्रेन ट्युमर देखियो । डाक्टरहरूले उनलाई २ वर्षसम्म मात्र बाँच्ने बताएका थिए । ब्रेन ट्युमर भएपश्चात त्यसपछिको बाँकी जीवन कसरी पीडामुक्त भएर कसरी जिउने भनेर सरलाले खोज गर्न थालिन् । आफ्नो जीवनयापनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भनेर विभिन्न तबरले खोज र अध्ययन गर्न थालिन् । त्यही क्रममा उनले सरसफाइका लागि घरमा ल्याइने रासायनयुक्त क्लीनरहरूमा रहेको घातक केमिकलहरू पत्ता लगाइन् ।
अनुसन्धानकै क्रममा बायोइन्जाइमको बारेमा पनि थाहा पाइन् । त्यसको फाइदाहरू धेरै रहेको थाहा पाइन् । वातारण विज्ञान अध्ययन गरेकी सरलालाई खेर जाने कुराहरूलाई कन्भर्ट गर्ने प्रोजेक्टहरूमा सलंग्न थिइन् ।
उनले सुरुमा बनाएका उत्पादनहरू आफैंमा प्रयोग गर्दै गइन् । त्यसले काम गर्छ भन्ने भएपछि वातारण विज्ञानमै अध्ययनरत ३ जना साथीहरू मिलेर यसलाई व्यवसायको रूपमा लाने योजना बुने ।

उनीहरूले योजना त बनाए । तर कसरी अगाडि बढ्ने भन्ने अन्योलता थियो । पर्यावरणमैत्री समान उत्पादन गर्न सकिन्छ भन्ने आइडिया थियो र लगाव पनि । त्यसैबेला उनले नबिल एसएसईको बारेमा थाहा पाइन् । उनले आवेदन दिइन् र छनोट पनि भइन् । त्यहाँ गएर आफ्नो आइडियाको बारेमा कुरा राखिन् । त्यहाँ गएपछि आफूले धेरै कुरा सिकेको सरला बताउँछिन् ।
व्यवहारिकरुपमा नै सिकाइने भएकोले पनि यसको प्रभावकारिता रहेको उनको अनुभवले बताउँछ । ‘केही गर्छु भन्ने उद्यमीको लागि यो कार्यक्रम फलदायी छ । ६ महिनाको अवधिमा धेरै कुरा सिक्न सकिन्छ । यसले आत्मविश्वासलाई समेत बढाएको छ’ उनले भनिन् ।
ब्रेन ट्युमर निदानपछि उनको व्यक्तिगत यात्राबाट प्रेरित आइडियाले अहिले उनलाई उद्यमी बनाएको छ । त्यसमा पनि नबिल बैंकसँगको सहयात्राले उनलाई थप हौसला बढाएको छ ।

सकल बायोइन्जाइमका उत्पादनहरूले मानव स्वास्थ्य र वातावरण दुवैलाई फाइदा पुर्याउने उनी बताउँछिन् । बायोएन्जाइमहरू कृषि, औद्योगिक र स्वास्थ्यका विभिन्न क्षेत्रहरूमा पनि उपयोग गरिने उनी बताउँछिन् ।
सरला महर्जनले बायोएन्जाइमका विभिन्न लाभ र यसको प्रयोगका बारेमा नेपाली समाजलाई जागरूक पार्न काम गर्दै आएकी छन्। उनी बायोएन्जाइमको प्रयोगले कृषि, प्रदूषण नियन्त्रण, र पानीको शुद्धीकरण जस्ता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने विश्वास राख्छिन् । सकल बायोइन्जाइमले रसायनरहित ह्याण्ड वास, डीस वास फ्लोर क्लिनर र सर्फेस क्लिनर उत्पादन गरिरहेको छ ।
त्यस्तै, मेकानिकल इन्जिनियर रोशन ओझा पनि नबिल एसएसईको फेलोसिप हुन् । इन्जिनियरिङ अध्ययनकै क्रममा ह्विलचेयर बनाउने सोच उनको मनमा उब्जियो । ह्विलचेयरको बजारबारे उनले सम्भावना देखे । त्यसपछि साथीहरूसँग मिलेर सारथी मोबिलिटी सोलुसन स्थापना गरे ।

उनीहरूले अहिले म्यानुअल र इलेक्ट्रिक दुवै अप्सन एउटैमा भएको ह्विलचेयर बनाउने काममा लागिरहेका छन् । उनी आफ्नो व्यवसायलाई थप परिस्कृत बनाउन चाहन्थे । नेपाल स्टार्टअप सम्मेलनमा सहभागी हुने क्रममा उनले एकजना साथीलाई आफ्नो व्यवसायबारे सुनाएका थिए । त्यसैबखत नबिल बैंकमा कार्यरत एक कर्मचारीसँग उनको भेट भयो । त्यसैबेला उनैबाट नबिल एसएईको बारेमा थाहा पाए । त्यसपछि उनलाई कार्यक्रममा सहभागी हुन मन लाग्यो । आवेदन खुल्यो । आवेदन दिए । छनोट पनि भए । त्यहाँ पुगेपछि उनले धेरै कुरा सिक्ने अवसर पाए ।
इन्जिनियरिङ पृष्ठभूमिबाट आएका उनलाई बजारीकरण कसरी गर्ने भन्नेबारे खासै ज्ञान थिएन । नबिल एसएसईमा जोडिएपछि व्यवसायबारे धेरै कुरा बुझ्ने अवसर मिलेको उनी बताउँछन् । उनी भन्छन्, ‘हामीले एउटा तरिकाले काम गरिरहको हुन्छौं । तर सर सफल व्यवसायी बन्नको लागि धेरै कुराको जरुरत पर्थ्यो । फरक पृष्ठभूमिबाट आएको भएर पनि व्यवसायलाई नजिकबाट चिन्न सकेका हुँदैनौं । आइडिया भएर मात्र नहुने रहेछ भन्ने कुरा त्यहाँ गएर थाहा पाएँ ।’ व्यवसाय गर्दा आफू चुकेको ठाउँबारे समेत थाहा पाएर गल्तीलाई सच्याउने अवसर मिलेको उनले बताए । त्यहाँ सहभागी धेरै जनाको अनुभव सुन्न पाएको त्यसबाट उत्प्रेरणा मिलेको उनी बताउँछन् ।

सारथी मोबिलिटी सोलुसनका सह-संस्थापक र सीईओ समेत रहेका ओझाले अहिले अहिले धेरै कुरा सिकेका छन् । ओझाले पहुँचयोग्य, प्रयोगकर्ता-मैत्री र अनुकूलित म्यानुअल र इलेक्ट्रिक (रूपान्तरणीय) ह्वीलचेयरहरू उत्पादन गरेर गतिशीलतामा अशक्तता भएका व्यक्तिहरूको जीवन सुधार गर्ने लक्ष्य राखेका छन्।
अहिले स्टार्टअप इन्टरप्रेनरसीप कल्चर नेपालमा बढ्दै गइरहेको र यस्ता कार्यक्रमको आवश्यकता अझ बढीरहेको उनले बताए । नयाँ स्टार्टअप गरिरहेकाहरूको लागि नबिल एसएसई एकदमै प्रभावकारी रहने उनी बताउँछन् । ‘सिक्ने कुरा त छँदै छ, त्यहाँको सिकाउने मोडल पनि एकदमै उपयोगी छ’ उनले भने ।
देशमै केही गर्छु भन्ने युवाहरूलाई नबिल बैंकले उत्प्रेरणा मात्र दिएको छैन । उनीहरूसँगै थप सबल र सक्षम बनाइरहेको छ । उद्यम गर्ने सोच बनाएर पनि विविध कारण सुरू गर्न नसकेका र उद्यम सुरू गरिसकेका युवालाई सीप, ज्ञान, सञ्जाल निर्माणको पाटो मार्गदर्शन गर्ने काम बैंकले गरिरहेको छ ।

नबिल एसएसईको प्रभावकारिता थप चुलिँदै
नबिल बैंकले चार वर्षअघि सुरु गरेको सामाजिक उद्यमशिलातासम्बन्धी कार्यक्रम नबिल स्कूल अफ सोशल इन्टरप्रेन्योरशिप (नबिल एसएसई) को प्रभावकारिता थप चुलिँदै गइरहेको छ । यस कार्यक्रमले उद्यमशीलता र रोजगारी बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । कार्यक्रमले उद्यमीहरूको मनोबल मात्र बढाएको छैन, उनीहरूको विचार र व्यापार मोडेललाई परिष्कृत गर्न मद्दत गरिरहेको सहभागीहरू नै बताउँछन् ।
यस कार्यक्रमले उद्यम गर्न चाहनेहरूलाई तालिमका साथै मेन्टरसिप पनि प्रदान गर्दै आएको छ। त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको यो कार्यक्रम सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनिरहेको छ।

समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने, नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक, सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम ल्याइएको बैंकले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन भइरहेको नबिल एसएसई फेलोसिप कार्यक्रम ६ महिनासम्म सञ्चालन हुन्छ । जसमा १८ दिनको निःशुल्क आवासीय तालिम र एक वर्षको परामर्श कार्यक्रम समावेश छ ।
यसमार्फत हालसम्म तीन वटा समूहका ५६ उद्यमीले तालिम लिइसकेका छन् भने ४५ सामाजिक उद्यममार्फत १ हजार १८४ जनालाई रोजगारी दिइसकेको नबिल बैंकले जनाएको छ । कार्यक्रमअन्तर्गत हाल चौथो समूहका २० उद्यमीले प्रशिक्षण लिइरहेका छन्, जुन अन्तिम चरणमा छ ।
पाँचौँ समूहको लागि बैंकले देशभरबाट आवेदन माग गरेको छ । इच्छुक व्यक्तिहरुले आगामी चैत २५ गतेसम्म आवेदन दिन सक्नेछन् । देशभरिबाट आएका आवेदनबाट २० जना छनोट हुने नबिल बैंकले जनाएको छ ।

यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।
यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्डअनुसार निवेदन दिन सक्नेछन् र छनोटमा परेका व्यक्तिलाई उद्यमशीलताको तालिम दिइनेछ। उनीहरूका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ।
सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरू कार्यक्रममा सहभागी हुन सक्नेछन्।
