भारतमा रिपो दर कटौति, घर कर्जा सस्तो हुने अनुमान

काठमाडौँ । भारतीय रिजर्भ बैंक (आरबीआई)ले रिपो दरमा कटौतीको घोषणा गरेको छ । जसले गर्दा भारतीय बजारमा घर कर्जा सस्तो हुने सम्भावना बढेको छ।
आरबीआई गभर्नर संजय मल्होत्राले बुधबार मौद्रिक नीति समितिको बैठकमा यस्तो निर्णय भएको बताए।
गभर्नर मल्होत्राले भने, ‘आर्थिक अवस्था र भविष्यको अवस्थाको राम्ररी मूल्याङ्कन गरेपछि मौद्रिक नीति समिति (एमपीसी)ले रिपो दर ०.२५ प्रतिशतले घटाएर ६ प्रतिशत गर्ने निर्णय गरेको छ। यो तुरुन्तै लागू गरिनेछ।’
हाल रिपो दर ६.२५ प्रतिशत थियो, जुन अब घटाएर ६ प्रतिशतमा झारिनेछ।
आरबीआई गभर्नर संजय मल्होत्राले आर्थिक अवस्था द्रुत गतिमा परिवर्तन भइरहेको बताएका छन् । त्यसमा निरन्तर नजर राख्नु र समय–समयमा त्यसको मूल्याङ्कन गरिरहनु धेरै महत्त्वपूर्ण रहेको भनेर उनले विशेष जोड दिए।
यस वर्ष आरबीआईले रिपो दर परिवर्तन गरेको यो दोस्रो पटक हो। यसअघि, उसले फेब्रुअरीमा रिपो दरमा ०.२५ प्रतिशतले कटौती गरेको थियो।
केन्द्रिय बैंकले ऋणपत्र आदी धितो राखेर वाणिज्य बैंक र वित्तीय संस्थाहरुलाई अल्पकालिन कर्जा प्रवाह गर्ने प्रणालीलाई रिपो भनिन्छ । यस्तो ब्याजदर कम हुँदा कर्जाको ब्याजदर पनि घट्ने अड्कल काट्न सकिन्छ ।
नेपालमा भने यसअघि नै रिपो दर ५ प्रतिशतमात्रै छ । भारतको तुलनामा नेपालमा नीतिगत ब्याजदर महँगो हुने गरेको भए पनि विगत केही समयदेखि नेपालमा यस्तो ब्याजदर सस्तो पर्ने अवस्था बनेको छ ।