पर्यटक आम्दानीमा भएन सुधार, रेमिट्यान्सको भरथेग पनि पातलिँदै « Arthapath.com
२७ चैत्र २०८१, बुधबार

पर्यटक आम्दानीमा भएन सुधार, रेमिट्यान्सको भरथेग पनि पातलिँदै



काठमाडौँ । अहिले नेपालसँग पर्याप्त मात्रामा विदेशी मुद्रा सञ्चित भएको केन्द्रिय बैंकको आँकडाले देखाएको छ । तर यसरी जम्मा हुने विदेशी मुद्राको गतिमा भने सुस्तता देखिन थालेको छ ।

नेपालमा विदेशी मुद्रा सबैभन्दा धेरै जम्मा हुने भनेको वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाउने रेमिट्यान्स (विप्रेषण)बाट हो ।

गत साउनदेखि फागुनसम्मको ८ महिनामा विप्रेषण आप्रवाह पोहोरभन्दा ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको यही समयमा रेमिट्यान्सको बढोत्तरी १८.३ प्रतिशत थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह यो साल ६.९ प्रतिशतले वृद्धि भएर ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो बृद्धिदर १६.१ प्रतिशत थियो । यो तथ्यांकले रेमिट्यान्सको बढोत्तरी हुने रफ्तार खुम्चिँदै गएको देखाउँछ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या ३,१७,०६८ पुगेको छ । त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या २,१७,४०३ रहेको छ । यो संख्या पोहोरभन्दा बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः नयाँको हकमा २,८५,३५२ र पुराना (पुनः स्वीकृति लिने)को हकमा १,८२,७८३ रहेको थियो।

विदेशिने मान्छेको संख्या बढेको, तर रेमिट्यान्सको आम्दानी चाहीँ त्यो गतिमा नबढेजस्तो देखिाएको छ । यसले कतै रेमिट्यान्सको पैसा ‘सुन वा अन्य अबैध आयातलाई वित्त पोषण गर्नमा त खर्च भइरहेको छैन’ भन्ने शंका उत्पन्न भएको छ । अर्कातर्फ नेपालबाट पूँजी पलायन गर्नमा पनि रेमिट्यान्स सहयोगी हुने संभावना छ ।

देशमा पैसा भित्रिने अर्को बाटो चाहीँ पर्यटकको आम्दानी हो । भ्रमण आय भनिने यस्तो आम्दानी अहिले अपेक्षा गरेजसरी बढ्न सकेको छैन । पोहोर करीब ५२ अर्ब रुपैयाँ कमाइ भएको यस्तो आम्दानी यो साल थोरै बढेर साढे ५६ अर्ब नाघेको छ ।

तर नेपालीहरुले विदेशमा अध्ययन, स्वास्थयोपचार र भ्रमणका लागि खर्च गर्ने पैसा भने बढेको बढ्यै छ । पोहोर साल १ खर्ब २३ अर्बभन्दा कममात्रै त्यस्तो खर्च भएकोमा यो साल १ खर्ब ४८ अर्ब नाघेको छ । अर्थात् भ्रमण आयले हाम्रो देशबाट हुने भ्रमण व्ययको करीब एक तिहाई हिस्सामात्रै परिपूर्ति गर्नसक्ने अवस्था छ ।

यति हुँदा पनि रेमिटेन्सको भरथेग एवम् उपभोगमा आएको निरन्तरको कमीले नेपालसँग अझैसम्म पर्याप्त विदेशी मुद्राको ढुकुटी भने जम्मा भएको छ ।

फागुनसम्ममा शोधनान्तर स्थिति रु. ३ खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको राष्ट्र बैंकको आँकडा छ । अघिल्लो वर्षको सोही अवधिमा यस प्रकारको भुक्तानी सन्तुलन रु.३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति यो साल केही घटेर २ अर्ब २९ करोडले बचतमा रहेको छ । यसले विस्तारै विदेशी मुद्राको ढुकुटी पनि ‘खुट्टिने’ क्रम सुरु भएको जनाउ दिन्छ । भलै, हाललाई यो ‘चाहिनेभन्दा ज्यादा’ हो ।

आर्थिक वर्ष २०८१÷८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति
१७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८१ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४२.२ प्रतिशत, ११९.४ प्रतिशत र ३३.० प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्