नाफामा फेरियो बैंकहरुको पोजिशनः नबिल नै पहिलो, ग्लोबललाई एनआइएमबिले उछिन्यो, अन्तिम सूचीमा एनआइसी

काठमडौं । वाणिज्य बैंकहरुले ९ महिनामा ४१ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । बैंकहरुले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत चैत मसान्तसम्म आइपुग्दा बैंकहरुको नाफा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने १.४ प्रतिशत मात्रै धेरै हो । जबकि, गत आवको सो अवधिमा बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख बढी खुद नाफा कमाएका थिए ।
समिक्षा अवधमिा ११ वटा बैंकको नाफा मात्रै वृद्धि भएको छ भने ९ वटाको नाफामा गिरावट देखिन्छ ।
नाफामा नेपाल बैंकको चामत्कारिक ग्रोथ देखिएको छ । गत आवको तेस्रो त्रैमासमा बैंकले १३ करोड ५ लाख रुपैयाँ मात्रै नाफा कमाएका थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने २१.३२ गुणा बढाएर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ ।
सो अवधिमा पनि सर्वाधिक नाफा कमाउनेको पहिलो सूचीमा नबिल बैंक नै छ । बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासमा भने बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।
यसपाली नाफामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो पोजिन अघि बढाएको छ । प्रायः तेस्रो–चौंथो सूचीमा उभ्याएको एनआइएमबि यस पटक भने दोस्रो स्थानमा पुगेको छ । बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नाफा वृद्धिदरको आधारमा पनि बैंक दोस्रो सूचीमा छ । नाफामा धेरैजसो दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई भने तेस्रो सूचीमा पुगेकोछ । समिक्षा अवधिमा ग्लोबलले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा ३७.१२ प्रतिशत धेरै हो । नाफामा ग्लोबललाई एनआइएमबिले उछिनेको छ ।
यता, चौथो सूचीमा रहेको एभरेष्टले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको तुलनामा भने ३२.५५ प्रतिशत धेरै हो । नाफा वृद्धिदरमा पनि नेपाल बैंक, एनआइएमबि, ग्लोबल, एभरेष्ट, माछापुच्छ्रे शीर्ष सूचीमा छन् ।
समिक्षा अवधिमा माछापुच्छ्रेले नाफा २८.८९ प्रतिशत, सानिमाले १४.८ प्रतिशत, एनएमबिले ५.८७ प्रतिशत, प्रभूले ३.५१ प्रतिशत, नेपाल एसबिआईले ३.३६ प्रतिशत, लक्ष्मी सनराइजले २.२४ प्रतिशत बढाएका छन् ।

एनआइसी एशियासहित ९ वटाको नाफा घट्यो, कसले कति कमाए ?
समिक्षा अवधिमा एनआइसी एशियासहित ९ वटा बैंकको नाफामा भने गिरावट आएको छ । बैंकको नाफा ९१.८१ प्रतिशत घटेर १५ करोड ६७ लाख रुपैयाँमा समिति भएको छ । जबकि, गत वर्षको सो अवधिमा भने १ अर्ब ९१ रकोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, हिमालयन बैंकको नाफामा पनि ७४.३३ प्रतिशत, कुमारीको ७२.८१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४९.२८ प्रतिशत घटेको छ। समिक्षा अवधिमा यी बैंकहरुले क्रमशः ५० करोड, २८ करोड ५८ लाख, १ अर्ब २० करोड ४३ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यता, प्राइम बैंकको नाफामा पनि २२.५६ प्रतिशत, सिटिजनको २०.५९ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको ११.१७ प्रतिशत, कृषि विकासको १०.१७ प्रतिशत र सिद्धार्थको ०.९४ प्रतिशत गिरावट आएको छ ।
