वितरणयोग्य नाफामा देखिँदै छ सुधार, एभरेस्टको छलाङसँगै चार्टर्डलाई सानिमाको टक्कर

काठमाडौं । गत सालको चैतमा एभरेस्ट ने स्ट्याण्डर्ड चार्टर्ड बैंकले समान स्तरको लाभांश क्षमता बनाएका थिए । एभरेस्टको प्रतिशेयर वितरणयोग्य नाफा २५ रुपैयाँ ७५ प्रसा थियो भने चार्टर्डको २५ रुपैयाँ ६८ पैसा ।
तर अब यो परिदृष्य फेरिएको छ । एभरेस्टले आफ्नो लाभांश क्षमता प्रतिशयर ३४ रुपैयाँ ९ पैसा पुर्याएको छ । तर चार्टर्डको लाभांश क्षमता १९ रुपैयाँ ३५ पैसामा झरेको छ । यद्यपि यो साल पनि एभरेस्टपछि सर्वाधिक लाभांश क्षमता चार्टर्डसँगै छ ।
उता नेपाल एसबीआई बैंकलाई उछिनेर सानिमा बैंक तेस्रो स्थानमा आएको छ । सानिमासँग प्रतिसेयर १८ रुपैयाँ ९२ पैसाको लाभांश क्षमता छ । यो चार्टर्डको लगभग बराबर हो ।
पोहोर यही अवधिमा साढे ७ प्रतिशत लाभांश क्षमता राख्ने नबिल अहिले साढे १२ प्रतिशतभन्दा माथि पुगेको छ । गतसाल ऋणात्मक लाभांश क्षमता भएका कृषि विकास बैंक र ग्लोबल आईएमई बैंकले पनि १२ प्रतिशतभन्दा बढीको क्षमता आर्जन गर्न सफल भएका छन् ।
नेपाल एसबीआईले ११.१० प्रतिशत र प्राइम कमर्शियलले १०.५७ प्रतिशत लाभांश क्षमता हासिल गरेका छन् । पोहोर साल एसबीआईले ९.३८ र प्राइमले ३.३ प्रतिशतमात्रै लाभांश दिने क्षमता बनाएका थिए ।
समग्रमा २० मध्ये १४ वाणिज्य बैंकहरु यो साल चैतकै वासलातबाट समेत लाभांश दिनसक्ने अवस्थामा छन् । त्यसमध्ये ९ बैंकसँग ६ प्रतिशतभन्दा माथिको लाभांश क्षमता तयार भएको छ । पोहोर चैतसम्म आउँदा १० बैंकको वितरणयोग्य नाफा धनात्मक थियो भने बाँकी १० बैंकको ऋणात्मक थियो ।
इन्भेष्टभेन्टको रोमाञ्चक आँकडा
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अहिले पनि लाभांश दिनसक्ने अवस्थामा पुगेको छैन । उसको वितरणयोग्या नाफा अहिले पनि ऋणात्मक छ । तर पछिल्लौ एक वर्षमा यो तथ्यांकमा सबैभन्दा फराकिलो सुधार पनि यही बैंकले गरेको छ । उसले वितरणयोग्य नाफाको ऋणात्मक ग्राफ मा ठूलो सुधार ल्याएको छ ।
पोहोर चैतमा यो बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोडभन्दा धेरै ऋणात्मक थियो । प्रतिसेयरको हिसाब गर्ने हो भने हरेक १ कित्ता सेयरको भागमा १४ रुपैयाँ ८९ पैसा घाटा देखिन्थ्यो । तर अहिले यस्तो वितरणयोग्य घाटा उल्लेख्य कम भएर १ अर्ब १० करोडमा झरेको छ । अब प्रतिसेयर ३ रुपैयाँ २४ पैसामात्रै घाटा छ ।
दुई आर्थिक वर्षको चैत मसान्तको यो आँकडा तुलना गर्ने हो भने एनआईएमबीले पोहोरको तुलनामा ३ अर्ब ९८ करोड रुपैयाँ घाटा घटाएको छ । यसलाई अप्रत्यक्ष रुपमा ‘नाफा कमाएको’ पनि भन्न सकिन्छ । र यति ठूलो नाफा आर्जन अरु कुनै पनि बैंकले गरेका छैनन् ।
यसरी वितरणयोग्य घाटाकै वावजुद पनि यो बैंक ‘सर्वाधिक बढी नाफा कमाउने’ संस्था बनेको छ । ग्लोबल आईएमई, लक्ष्मी सनराइज र एनएमबी बैंकले पनि पोहोरको ऋणात्मक आँकडालाई चिर्दै यो साल लाभांश दिनसक्ने परिस्थिति बनाएका छन् ।
एभरेस्ट सधैँ पहिलो ?
पोहोरजस्तै यो साल पनि एभरेस्ट बैंक सर्वाधिक वितरणयोग्य नाफा कमाउने बैंक बनेको छ । ऊ एक्लैले ३ अर्ब ६७ करोड ८८ लाख हाराहारी नाफा कमाएको छ । ग्लोबल आईएमईले ३ अर्ब ५५ करोड, नबिलले २ अर्ब ८७ करोड र सानिमाले २ अर्ब २० करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएका छन् ।
वितरणयोग्य घाटामा रहने बैंकहरुमध्ये हिमालयन शीर्ष स्थानमा छ । चैतसम्म हिमालयनको वितरणयोग्य नाफा ७ अर्ब ३६ करोड ऋणात्मक छ । गत साल ५ अर्ब २४ करोड ऋणात्मक रहेको यो बैंकको हालत अझ खराब भएको देखिन्छ । त्यसपछि कुमारी बैंकको पनि ऋणात्मक आँकडा ४ अर्ब २० करोडबाट बढेर यो साल ६ अर्ब ५० करोड पुगेको छ ।
एनआईसी एसिया तेस्रो बढी घाटामा देखिन्छ भने पोहोर वितरणयोग्य नाफा धनात्मक नै देखिएको प्रभू बैंक पनि यो साल ३ अर्ब ४० करोड ऋणात्मक हुन पुगेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक पनि वितरणयोग्य मुनाफाको तथ्यांकमा १ अर्बभन्दा धेरै ऋणात्मक देखिएको छ ।