टरेको छैन वित्तीय प्रणालीको जोखिम, एक वर्षमा ११८ आधार विन्दुले बढ्यो एनपीएल

काठमाडौं । कयौं नियामकीय छुट र बैंकहरुको ‘सक्दो प्रयास’का वावजुद यो साल निष्कृय कर्जाको बढोत्तरीले निरन्तरता पाएको छ । तेस्रो त्रैमासमा पनि निष्कृय कर्जा अघिल्लो सालको तुलनामा बढेको देखिन्छ ।
गत सालको चैतमा समग्र वाणिज्य बैंकहरुको औसत निष्कृय कर्जा ३.६५ प्रतिशत थियो, जुन अहिले ४.८३ प्रतिशत पुगेको छ ।
एक वर्षको अन्तरालमा भाखा नाघेको ऋणको आकार बढ्दै गएको देखिएको हो । यसबीच निष्कृय कर्जाको अनुपात ११८ आधार विन्दुको फराकिलो अन्तरले बढेको छ ।
निर्माण व्यवसायीदेखि पर्यटन व्यवसायसम्म नियामकीय छुटहरु प्रदान गरिएको र ‘तथ्यांक व्यवस्थापन’का लागि बैंकहरुले ‘एभर ग्रीनिङ’जस्ता गैरकानूनी अध्यास समेत उपयोग गरेको आरोप लागिरहँदा निष्कृय कर्जामा बढोत्तरीले वित्तीय प्रणालीको जोखिम अझै टरेको छैन भन्ने देखाएको छ ।
यसमा पनि हिमालयनजस्तो ‘कर्पोरेट’ कर्जा प्रवाह गर्ने बैंकदेखि एनआईसी एसियाजस्तो ‘रिटेल बैंकिङ’को राजा पनि समस्यामा परेका छन् । हिमालयनले पोहोर ४.९६ प्रतिशत रहेको कुल कर्जामा निष्कृय कर्जाको अनुपात अहिले ७.६८ प्रतिशत पुगेको भनेर प्रतिवेदन जारी गरेको छ ।
उसले एक वर्षमा २७२ आधार विन्दुको फराकिलो विस्तार भएको दर्शाएको छ । एनआईसी एसियाले पनि पोहोरको तुलनामा यो साल २६७ आधार विन्दुले निष्कृय कर्जाको बढोत्तरी भएको भनेको छ । उसका एनपीएल ३.०८ प्रतिशतबाट बढेर ५.७५ प्रतिशत पुगेको छ ।
पोहोर १.९८ प्रतिशतमा रोक्न सफल भएको नेपाल एसबीआईको निष्कृय कर्जा अनुपाद दोब्बरभन्दा धेरै बढेर ४.०६ प्रतिशत पुगेको छ । पोहोरै ४.९५ प्रतिशत बताएको कुमारीले यो चैतमा ८.९८ प्रतिशत निष्कृय कर्जा पुगेको भनेको छ ।
वास्तविक निष्कृय कर्जा अनुपातका आधारमा हिमालयनपछि कुमारी दोस्रो स्थानमा छ । नेपाल इन्भेष्टमेन्ट मेगासँग पनि ६.०६ प्रतिशत निष्कृय कर्जा रहेको देखिन्छ । उसले गत साल ४.६६ प्रतिशत रहेको विवरण प्रस्तुत गरेको थियो ।
लक्ष्मी सनराइज, एनआईसी एसिया, सिटिजन्स र प्राइम कमर्शियल बैंकको निष्कृय कर्जा दर पनि साढे ५ प्रतिशतभन्दा माथि नै छ । नेपाल बैंक र प्रभू बैंक पनि ५ प्रतिशतभन्दा ज्यादा एनपीएल हुने संस्थामै पर्छन् ।
कृषि विकास, ग्लोबल आईएमई, नबिल, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे र एनएमबी बैंकको निष्कृय कर्जा पनि साढे ४ प्रतिशतदेखि ५ प्रतिशतको बीचमा छ । नेपाल एसबीआई र सिद्धार्थ बैंक ४ प्रतिशत हाराहारीमा देखिन्छन् ।
विगतमा लामो समय शून्य स्तरमै निष्कृय कर्जा दरलाई कायम राख्न सफल भएको सानिमा बैंकसँग अहिले कुल कर्जाको ३.४२ प्रतिशत निष्कृय छ । स्ट्याण्डर्ड चार्टर्डले १.४४ प्रतिशत र एभरेस्टले ०.६४ प्रतिशत निष्कृय कर्जा बोकिरहेका छन् ।
नेपाली वित्तीय प्रणालीमा लामो समयदेखि एनपीएलको दर २ प्रतिशतभन्दा तल रहँदै आएको थियो । तर अहिले यी दुई बैंकमात्रै उक्त सीमाभित्र छन् । वितेको एक वर्षमा निष्कृय कर्जाको दर घटाउन पनि यिनै दुई बैंकमात्र सक्षम भएका छन् ।
एभरेस्टले अहिलेको बेलामा पनि निष्कृय कर्जाको दर घटाएको र ०.५ प्रतिशतको नजिक पुर्याउन थालेको देखेर बैंीकङ क्षेत्रका धेरै मानिसहरु अचम्ममा परेका छन् ।