नयाँ वर्ष लागेसँगै किन खुम्चियो बैंकिङ्ग कारोबार ? « Arthapath.com
८ बैशाख २०८२, सोमबार

नयाँ वर्ष लागेसँगै किन खुम्चियो बैंकिङ्ग कारोबार ?



काठमाडौं । साल २०८२ सुरु भएको पहिलो हप्तामा वाणिज्य बैंकहरुको कारोबार ओरालो लागेको देखिएको छ । नेपाल बैंकर्स संघले जारी गरेको तथ्यांकमा यस्तो देखिएको हो ।

गएको साउन र कात्तिकका मसान्तहरुको विवरणमा निक्षेप घटेको देखिन्छ । तर हरेक त्रैमासमा बैंकहरुले त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेपछि अक्सर निक्षेप र कर्जा पनि घट्ने गरेको पाइन्छ ।

अहिले पनि चैत मसान्तमा बैंकहरुको वित्तीय विवरण आएपछिको पहिलो हप्ता नै निक्षेप रकम २० अर्ब र कर्जा २४ अर्ब रुपैयाँ घटेको छ । गएको कात्तिक मसान्तलाई छाड्ने हो भने यो सालभरी नै कर्जाको बढोत्तरी भएको देखिएको थियो ।

चैतको अन्तिम १० दिनमा मात्रै करीब ७४ अर्ब निक्षेप र ४६ अर्बभन्दा धेरै कर्जाको बढोत्तरी भएको देखिएको थियो । तर वैशाख लाग्ने वित्तिकै निक्षेप र कर्जा दुबै आरोलो लागेको छ ।

गएको फागुन र चैतमा वाणिज्य बैंकहरुमा हुने मासिक निक्षेप वृद्धिको दर पछिल्लो चार वर्षकै उच्च भएको थियो । कर्जाको विस्तार पछि २ं०७७ सालयताकै उच्च वृद्धि भएको चैत महिना यही हो । गएको पुस, माघ र फागुनका मासिक आँकडाहरुले पनि चार वर्षकै उच्च कर्जा वृद्धि यसै साल भएको देखाउँछन् ।

ट्रेन्डलाइनहरुले पनि हरेक साल वैशाखमा निक्षेप र कर्जा दुबैको वृद्धिदर ओरालो लाग्ने गरेको देखाएका छन् । अघिल्ला वर्षहरुमा पनि यस्तै भएको छ । अझ २०७७ साल चैतमा व्यापक मात्रामा बढेको कर्जा विस्तार २०७८ वैशाखदेखि घट्न थालेको थियो ।

त्यही बेलादेखि नेपाली वित्तीय प्रणाली धर्मराउन थालेको हो । तर यसरी वैशाखको पहिलो हप्तामा नै निक्षेप र कर्जा घट्नुको कारण चाहीँ चैत मसान्तको ‘रिपोर्ट’ राम्रो देखाउने बैंकरहरुको प्रयार पनि एक कारण भएको स्वयम् बैंकर नै बताउँछन् ।

त्रैमासिक प्रतिवेदन जारी गर्ने बेलामा बैंकका शाखाहरुले आफ्ना चिनजानका ऋणी र व्यवसायीलाई अल्पकालिन कर्जा लिन लगाउने र पुरानो ऋण तिर्न पनि लगाउने गर्छन् । यसो गर्दा ‘एभरग्रिनिङ’ भइरहने हुन्छ । तर बैंकका शाखाशाखामा रहने कर्मचारीले यिनै आँकडाको सहायताले आफ्नो ‘परफरमेन्स’मा सुधार देखाउन पनि सक्छन् ।

चालू आर्थिक वर्षभित्र कर्जा तथा निक्षेपमा भएको मासिक वदलाव :

स्रोतः नेपाल बैंकर्स संघ ।

यसो गर्दा बैंकर र ऋणी दुबैलाई फाइदा हुने भएकाले अचेल यस किसिमको अभ्यास बढ्दै गएको बैंकर बताउँछन् । त्यसैले पनि त्रैमासिक प्रतिवेदन आएपछिको सातामा निक्षेप र कर्जा दुबै खुम्चिएको देखिएको हो ।

बैंकसं संघले भने चालू आर्थिक वर्ष सुरु भएको ९ महिनाभन्दा बढी समयको अन्तरालमा निक्षेप रकम ३ खर्ब ४५ अर्ब अर्थात् ६ प्रतिशत बढेर वाणिज्य बैंकहरुसँग रहेको निक्षेप ६१ खर्ब पुगेको बताएको छ । यस्तो निक्षेप चैत मसान्तमा ६१ खर्ब २० अर्ब पुगेको थियो ।

त्यस्तै कर्जा रकम पनि चालू आव अर्थात् गएको असार मसान्तको तुलनामा ३ खर्ब २० अर्ब (७ प्रतिशत) बढेर ४८ खर्ब ९१ अर्ब पुगेको संघले जानकारी दिएको छ । यही कर्जा रकम चैत मसान्तमा ४९ खर्ब १५ अर्ब पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस्