विदेशी लगानीमा रहेका आधा दर्जन नेपाली बैंकहरु, बैंकिङ्ग बजारमा कुनको ‘पफमेन्स’ कस्तो ?

काठमाडौं । हाल संचालित वाणिज्य बैंकहरुमध्ये आधा दर्जनमा भने विदेशी लगानी समेत छ ।
नेपालमा हाल २० वटा वाणिज्य बैंक संचालित छन्, तीमध्ये ६ वटा बैंक विदेशी लगानीमा पनि छन् । नबिल, एभरेष्ट, हिमालयन, एनएमबि, नेपाल एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड बैंकमा विदेशी लगानी छ ।
नबिल बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व एनबी (इन्टरनेशनल) आयरल्याण्डको ३९.४४ प्रतिशत लगानी छ । यता, बंगलादेशको आईएफआईसी बैंकको ७.७७ प्रतिशत सेयर स्वामित्व छ । भारतको मुथुट फाइनान्सकोे ०.४४ प्रतिशत सेयर स्वामित्व छ ।
एभरेष्ट बैंकमा भारतको पञ्जाव नेशनल बैंकको सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । बैंकमा पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत सेयर स्वामित्व छ ।
यस्तै, एनएमबि बैंकमा सेयर स्वामित्व एफएमओ नेदरल्याण्डसको सबैभन्दा धेरै स्वामित्व छ । बैंकमा यसको १३.६९ प्रतिशत सेयर हिस्सा छ । बैंकमा यङ लियन रियल्टी एसडीएनबीएचडी मलेसियाको ४.२२ प्रतिशत सेयर स्वामित्व देखिन्छ ।
यता, नेपाल एसबिआई बैंकमा भने भारतको स्टेट बैंक अफ इन्डिया (एसबिआई) को ५५ प्रतिशत र हिमालयन बैंकमा पाकिस्तानी हबिब बैंकको १२.९३ प्रतिशत सेयर स्वामित्व छ ।
त्यसैगरि स्टयान्डर्ड चार्टर्ड बैंकमा स्टयान्डर्ड चार्टर्ड ग्रिन्डलेजको ४६.८१ प्रतिशत र स्टयान्डर्ड चार्टर्ड बैंकको २३.४० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
विदेशी लगानी समेत रहेका यी ६ वटा बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश सूचकहरुमा नबिल बैंक अगाडि छन् । रकमको आधारमा धेरै सूचकमा नबिलले आफूलाई पहिलो बनाएको छ । यता, एभरेष्ट बैंकको वित्तीय प्रगति भने लोभलाग्दो नै छ । एभरेष्टले कर्जा–निक्षेपमा आक्रामक वृद्धि देखाउँदै व्यापार विस्तारमा बाजी मारेको छ । नबिलले पूँजी, ब्याज आम्दानी र जगेडा कोषजस्ता सूचकहरूमा स्थायित्व र मजबुत उपस्थिति देखाएको छ। एभरेष्टको ग्रोथ स्मुथ्ली बढेको देखिन्छ । विदेशी लगानी रहेका मध्ये कमजोर प्रस्तुति भने हिमालयन बैंकको देखिएको छ ।
यी ६ वटा बैंकहरुले तेस्रो त्रैमासमा के कस्ता वित्तीय प्रगति हासिल गरेका छन् त ? अब मुख्य सूचकहरुलाई दाँजेर हेरौं ।
चुक्ता पुँजी नबिलको धेरै, जगेडा कोषमा पनि बलियो
विदेशी लगानी समेत रहेका बैंकमध्ये नबिलको चुक्ता पुँजी धेरै छ । हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ । यस्तै, हिमालयन बैंकको २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ । गत वर्षको तेस्रो त्रैमासको तुलनामा भने एभरेष्ट बैंकको चुक्ता पुँजी १० प्रतिशत बढेर १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, एनएमबि बैंकको १८ अर्ब, नेपाल एसबिआईको १० अर्ब ८९ करोड ९१ लाख र स्ट्याण्डर्ड चार्टर्डको १० अर्ब ४ करोड २३ लाख रुपैयाँ छ ।
यता, जगेडा कोष पनि नबिल बैंक बलियो देखिएको छ । हाल बैंकको जगेडा तथा कोषमा भने ३१ अर्ब ३१ करोड ५५ लाख रुपैयाँ देखिएको छ । यस्तै, हिमालयन बैंकको जगेडा कोषमा २२ अर्ब ८३ करोड ५९ लाख, एभरेष्टको १३ अर्ब ६१ करोड ८६ लाख, एनएमबिको ११ अर्ब ८९ करोड, स्ट्याण्डर्ड चार्टर्डको ९ अर्ब ४१ करोड र नेपाल एसबिआईको ८ अर्ब रुपैयाँ देखिएको छ ।
खुद ब्याज आम्दानी पनि नबिल बैंक धेरै, एभरेष्ट र एनएमबिले बढाए ब्याज असुली
चालु आवको तेस्रो त्रैमासमा खुद ब्याज आम्दानी पनि नबिल बैंककै धेरै छ । बैंकले ९ महिनामा १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । जबकि, गत आवको सोही अवधिमा पनि १२ अर्ब ५५ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस्तै, हिमालयन बैंकले ७ अर्ब ७५ करोड २४ लाख, एभरेष्टले ६ अर्ब ७४ करोड ३९ लाख, एनएमबिले ६ अर्ब ४९ करोड २ लाख, नेपाल एसबिआईले ३ अर्ब ५३ करोड ४९ लाख र स्ट्याण्डर्ड चार्टर्डले ३ अर्ब २४ करोड ७ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।
नाफामा नबिल नै नम्बार वान्, एभरेष्ट बैंकको उछाल
तेस्रो त्रैमासमा सर्वाधिक नाफा नबिल बैंकले नै कमाएको छ । समिक्षा अवधिमा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो समग्र बाणिज्य बैंकहरुको तुलनामा उच्च हो ।
नाफा बढाउनेको पहिलो सूचीमा भने एभरेष्ट बैंक छ । बैंकको नाफा ३२.५४ प्रतिशत बढेर ३ अर्ब ४५ करोड ७२ लाख रुपैयाँ कायम भएको छ । यस्तै, एनएमबिले २ अर्ब ३७ करोड ३२ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब १७ करोड ३७ लाख, नेपाल एसबिआईले १ अर्ब २० करोड र हिमालयनले ५० करोड मात्रै नाफा कमाएको छ ।
वितरणयोग्य नाफा एभरेष्टको धेरै, लाभांश क्षमता उच्च, हिमालयन बैंक ऋणात्मक
सबैभन्दा धेरै वितरणयोग्य नाफा एभरेष्ट बैंकको छ । समिक्षा अवधिमा बैंकको यस्तो नाफा ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ छ । यसका आधारमा बैंकले २८.२१ प्रतिशत लाभांश दिन सक्ने सामार्थ्य बनाएको छ । यस्तै, नबिल बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ छ । बैंकको लाभांश क्षमता भने १०.६२ प्रतिशत देखिन्छ ।
यस्तै, स्ट्याण्डर्ड चार्टर्डको १ अर्ब ४७ करोड १६ लाख, एनएमबिको वितरणयोग्य नाफा १ अर्ब ३१ करोड १९ लाख, नेपाल एसबिआईको १ अर्ब ५ करोड १५ लाख रुपैयाँ छ । तर, हिमालयन बैंकको ७ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ ऋणात्मक छ ।
इपिएस पनि एभरेष्टकै उच्च, हिमालयनको न्यून
प्रतिसेयर आम्दानी (इपिएस) पनि एभरेष्ट बैंकको उच्च छ । बैंकको यस्तो आम्दानी ३६.६१ रुपैयाँ छ ।
यस्तै, चार्टर्ड बैंकको २९.८६ रुपैयाँ, नबिलको २५.०५ रुपैयाँ, एनएमबिको १७.२३, नेपाल एसबिआईको १४.७२ र हिमालयनको ३.०८ रुपैयाँ छ ।
खराब कर्जा नियन्त्रणमा एभरेष्ट नै अब्बल, हिमालयनको सीमा माथि
खराब कर्जा नियन्त्रणमा एभरेष्ट नै अब्बल देखिएको छ । हाल बैंकको खराब कर्जा ०.६४ प्रतिशत मात्रै छ ।
यस्तै, स्ट्याण्डर्ड चार्टर्डको १.४४ प्रतिशत, नेपाल एसबिआईको ४.०६ प्रतिशत, एनएमबिको ४.४७ प्रतिशत र नबिलको ४.९६ प्रतिशत छ । यता, हिमालयन बैंकको भने ८.६८ प्रतिशत छ ।
व्यापारमा विस्तारमा एभरेष्ट बैंक एग्रेसिभ, कसको निक्षेप र कर्जा लगानी कति ?
व्यापार विस्तारमा पनि नबिल बैंक आक्रामक देखिएको छ । निक्षेप संकलन बढाउन भने एभरेष्ट बैंक अघि देखिएको छ ।
बैंकको निक्षेप संकलन २४.१७ प्रतिशत बढेर २ खर्ब ६६ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । बैंकको कर्जा लगानी पनि २०.८४ प्रतिशत बढेर २ खर्ब २५ अर्ब २२ करोड ८२ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा नबिल बैंकको निक्षेप संकलन १४ प्रतिशत बढेर ५ खर्ब २ अर्ब १० करोड ६१ लाख रुपैयाँ पुगेको छ । जबकि, गत आवको तेस्रो त्रैमासमा बैंकको निक्षेप ४ खर्ब ४० अर्ब ४३ करोड ६४ लाख रुपैयाँ रहेको थियो । यता, बैंकको कर्जा लगानी भने ९.६ञ् प्रतिशत बढेर ४ खर्ब १५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।
यस्तै, एनएमबिको निक्षेप संकलन १९.९८ प्रतिशत बढेर २ अर्ब ६९ अर्ब ९ करोड र कर्जा लगानी १७.३७ प्रतिशत बढेर २ खर्ब ३५ अर्ब ६ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
यता, स्ट्याण्डर्ड चार्टर्डको निक्षेप संकलन ११.३९ प्रतिशत बढेर १ खर्ब २२ अर्ब ६० करोड, नेपाल एसबिआईको ६.४५ प्रतिशत बढेर १ खर्ब ८५ अर्ब ८३ करोड र हिमालयनको ०.८४ प्रतिशत मात्रै बढेर ३ खर्ब १ अर्ब १३ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यी बैंकहरुको कर्जा लगानी पनि क्रमशः २.८२ प्रतिशत बढेर ८९ अर्ब ८५ करोड ३९ लाख, ९.९७ प्रतिशत बढेर १ खर्ब ४१ अर्ब ५५ करोड र ०.१५ प्रतिशत बढेर २ खर्ब ४३ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ।