वर्तमान सहकारी, दीर्घकालीन व्यवसाय

मधुकर वाग्ले
भनिन्छ– सहकारीले प्रत्येक सदस्यको घरमा चुलो बलेको छ कि छैन थाहा पाउनुपर्दछ । सदस्य सम्पन्न र समृद्ध हँुदै जाँदा संस्था पनि दिगो र बलियो हुने हो । सम्पूर्ण सदस्यको विधि–व्यवहार एवम् रहन–सहनमा संस्थाको चासो हुनुपर्ने हो । सहकारीका लागि प्रत्येक सदस्य उत्तिकै महत्वपूर्ण हुन्छ भने सदस्यका लागि पनि एकजनालाई समस्या पर्दा संस्थाको अन्य सबै सदस्यले सहयोग गर्दछन् भन्ने भान पार्न सक्नुपर्दछ ।
अनि मात्र एकका लागि सबै र सबैका लागि एकको भनाइ चरितार्थ हुन सक्दछ । विशेषगरी समान आवश्यकता, रहनसहन, भाषा, संस्कृति एवम् समान उद्देश्य प्राप्तिका लागि समुदायमा सहकारी संस्था स्थापना हुने हो । सबै सदस्यको अपनत्वले मात्र सहकारी दिगो, बलियो र व्यवस्थित हुन सक्दछ । अनि दिगो सहकारीले मात्र सदस्यको उद्देश्य प्राप्तिका लागि कार्य गरी सहकारीको मर्मअनुसारको कार्य गर्न सक्दछ ।
हाम्रो देश नेपाल विकासोन्मुखको बाटोमा छ । यहाँ कतिपय कुराको नीतिगत रूपमा नै अभाव छ भने कतिपय कुरालाई व्यावहारिक बनाउन सकिएको छैन । यो सहकारी क्षेत्रको मात्र समस्या नभई सबैतिरको समस्या हो । त्यसैले त धमिलो पानीमा माछा मार्ने भनेजस्तो केही खराब सोच र व्यवहार भएका व्यक्तिले आफ्नो प्राप्त अख्तियारको दुरुपयोग गरी अस्वाभाविक र दण्डनीय क्रियाकलाप गर्दै आएको पाइन्छ ।
त्यसैगरी, सहकारी क्षेत्रको पनि समस्या त्यस्तै नै हो । देशभरि विभिन्न उद्देश्यका ३० हजारभन्दा बढी सहकारी संस्था रहेका छन् । तीमध्ये केही सीमित सहकारीको समस्याका कारण समग्र सहकारी क्षेत्रमा एकमुष्ठ असर पर्न गइरहेको पाइन्छ । सहकारीको सिद्धान्त, मूल्य–मान्यतालाई हेर्ने हो भने सहकारीमा गरिने आर्थिक सहभागिता एउटा पाटो मात्र हो । त्यसको अलावा सहकारीले गर्ने अन्य कार्यको हिस्सा ठूलो हुनुपर्ने हो । तर, यहाँ सहकारीलाई मापन गर्ने र हेर्ने दृष्टिकोण सो संस्थाले गरेको नितान्त आर्थिक क्रियाकलाप मात्र भएकाले पनि अहिले आर्थिक सङ्कट आइरहँदा सहकारी क्षेत्रमा पनि समस्या देखिन पुगेको देखिन्छ ।
वास्तविक सहकारीको गुणस्तर साइज मापन गर्दा संस्थाको स्वपुँजी र सदस्यको सक्रियताको आधारमा गर्न सकियो र सदस्यले पनि संस्थालाई पहिचान गर्दा त्यस्ता विषयलाई ध्यान दिन सकियो भने दिगो सहकारीको अवधारणलाई साकार बनाउन सकिन्छ । अहिले अधिकांश समस्यामा परेका सहकारीको पनि एउटै साझा समस्या भनेको संस्थाको स्वपुँजी कम, तर कारोबार अत्यधिक हुनु हो । साथै उद्देश्य र मर्मअनुरूपको कार्य सम्पादन गर्न नसक्नु पनि । सहकारी संस्थामध्ये आफू अब्बल देखिने या भनौँ सबैको विश्वसनीय बन्ने होडबाजीमा एउटा ‘जो दिख्ता हे ओ बिक्ता हे’ भन्ने हिन्दी भनाइजस्तो तरिकाले कार्यक्षेत्र ठूलो बनाउने, धेरै सेवा केन्द्र खोल्ने, भित्री गुदीभन्दा पनि बाहिरी बोक्रालाई मात्र राम्रो बनाउन खोज्नु पनि समस्याको अर्को कारण हुन सक्दछ । अहिले तत्कालीन अवस्थालाई हेर्ने हो भने तरलताको उच्चमार खेपिरहेका संस्थाको नकमाउने सम्पत्तिमा धेरै लगानी कार्यालय निर्माण गर्दा कुनै बहुर्राष्ट्रिय कम्पनीको कार्यालयजस्तो, संस्थामा कार्य सम्पादन गर्ने व्यक्तिको बसाइ, रहन–सहन एवम् क्रियाकलाप कुनै राज्यको उच्चपदस्थ व्यक्तिको जस्तो कार्यालय एवम् कार्यकक्ष कुनै सुरक्षा खतरा भएर उच्च सतर्कताका साथ बस्नुपर्नेजस्तो देखिनुले पनि स्थिर र नकमाउने सम्पत्तिमा लगानी भई तरलता कम भएको पाइन्छ ।
सहकारी संस्थाको मालिक भनेको त्यो संस्थाको सम्पूर्ण सदस्य हो । यो हामी सबैलाई थाहा भएको नै कुरा हो, तर यहाँ संस्थाको काम गर्ने व्यवस्थापनमा बस्ने कर्मचारी एवम् सञ्चालक समितिका व्यक्तिचाहिँ मालिक र सदस्यचाहिँ सोको ग्राहकजस्तो अनुभूति हुनुले पनि सम्पूर्ण सदस्यमा संस्थाप्रति हुनुपर्ने माया कम भएको हो । सहकारी संस्था त सबैको समान हो र आवश्यकताअनुसार संस्था सञ्चालनका लागि सदस्यमध्ये जो–कोही पनि सञ्चालक बन्न सक्ने र व्यवस्थापनका लागि दक्ष र सक्षम व्यक्तिलाई राख्न सकिने आधार भुल्दै जानु पनि संस्थामा समस्या निम्तनु हो । हामी सहकारीकर्मीलाई पनि सदस्यको नमस्कार चाहिने अनि सदस्यलाई पनि या त भनेको समयमा कर्जा चाहियो, या त आफ्नो बचतमा उच्चतम ब्याज चाहियो, यति मात्र सम्बन्धका लागि काम हुँदै गर्दा सदस्य र संस्थाको दूरी कायम भई सदस्यलाई आफ्नो हैसियत र जिम्मेवारीको बोध नै हुन सकेन ।
देशभरि हेर्ने हो भने अहिले ३० हजारभन्दा बढी सहकारी सञ्चालनमा रहेको पाइन्छ । तीमध्ये अहिलेको साँच्चै तललताको उच्चतम मार खेपरिहेका सहकारी सङ्ख्यात्मक हिसाबले एकदम कम नै छन् । तैनि हल्ला ठूलो हुनुमा देखाउनका लागि ठूला कारोबार गरेका संस्थामा समस्या देखिएकाले त्यसको प्रभाव समस्या नभएका एवम् समस्या नपर्ने संस्थामा पनि आएका हुन् । सायद हामीले सम्पूर्ण सदस्यलाई मालिकको रूपमा राख्न सकिएको भए त्यस्तो कुनै समस्या आउने नै थिएन । अनि हामी संस्था सञ्चालन गर्ने जिम्मेवारी पाएका व्यक्ति शासक वा मालिक हो भन्नेजस्तो व्यवहार हुनुले सदस्यले पनि सुनिरहेको उखान ताक परे तिवारी नत्र गोतामे (कुनै व्यक्तिविशेष एवम् जातिविशेष होइन) जस्तो गरेका त होइनन् । संस्थामा समस्या आउँदा सम्पूर्ण सदस्यको आफ्नै सम्पत्ति या भनौँ आफ्नै घरमा समस्या आएको हो भन्ने भान पार्न सकियो भने त तिनै सदस्य संस्था संरक्षण गर्न लाग्न सक्छन् नि ।
सहकारी संस्थामा आउन सक्ने समस्या र समस्या आइरहनुको कारणको विषयमा त अहिले हामी सबैजना धेरै जानकार भइसकेका छौँ । संस्था सञ्चालन सुरुवातदेखि नै सुशासन कायम नहुनु, वित्तीय पारर्शिता नहुनु, नीति विधिलाई अवलम्बन गर्न नसक्नु नै संस्था समस्याका मुख्य कारण हो भने योभन्दा पनि मुख्य कारण चाहिँ संस्था सञ्चालन गर्नेको नियति हो । आर्थिक सङ्कट एवम् विभिन्न बाह्य प्रभाव जुनसुकै बेला जहाँ पनि आउन सक्ने कुरा हो । जस्तोसुकै परिस्थितिमा पनि संस्था नियमित सञ्चालन गरी सदस्यको सेवा दिनु उत्कृष्ट संस्थाको परिचय हो । अहिलेको तरलताको समस्या देशभरि नै रहेको भए तापनि केही सहकारी संस्था नीतिअनुसार नचल्दा उच्च मारमा परेका हुन् ।
समाधान के हुन सक्छ ?
सहकारी संस्थामा देखिएको समस्याको विषयमा सहकारी क्षेत्रकै छाता सङ्गठन एवम् नियामक निकायले समेत विभिन्न नीति–निर्देशिका जारी गरिसकेका छन् भने सहकारी बैंकलगायतले तरलता व्यवस्थापनका लागि केही हदसम्मको कोष व्यवस्थापनमा लागि नै रहेका छन् । कुनै पनि अप्ठ्यारो परिस्थितिले नै परिवर्तन ल्याउनमा सहयोग गर्छ । अल्पकालीन समस्या समाधानका लागि सबैजना एकजुट भएर लाग्ने कुरालाई व्यवहारतः लागू गर्न सकियो भने केही हदसम्म तलरता व्यवस्थापनमा सहयोग पुग्न सक्छ । तर, अब पनि अल्पकालीन समाधानभन्दा पनि दीर्घकालीन व्यवस्थापनका लागि नसोच्ने हो भने फेरि पनि समस्या नआउनेचाहिँ होइन ।
हिजोका दिनमा संस्थाले धेरैभन्दा धेरै बचत सङ्कलन गर्नका लागि भनेर दीर्घकालीन रणनीतिक योजनाबिना सञ्चालनमा ल्याएका सेवा केन्द्र पनि अहिलेको समस्याको कारक हो । धेरै स्थानबाट बचत सङ्कलन गरी सो बचतलाई केन्द्रीकृत लगानीमा जानुले एउटा स्थानमा समस्या आउँदा सबैतिर प्रभाव परेको देखिन्छ । हिजोका दिनमा धेरै सेवा केन्द्र खोल्नलाई होडबाजी गर्ने संस्थाले अब तिनै सेवा केन्द्रलाई स्वायत्त बनाई सञ्चालन गर्ने जिम्मा सोही स्थानका स्थानीय सदस्यलाई दिने हो भने संस्थाको नियमित सञ्चालनमा समस्या नआउन सक्छ । फेरि एकीकरण र कम संस्था बनाउने बहस चलेको बेलामा यो कुरा अलि फरक लाग्न सक्छ, तर एकीकरण नै गर्ने हो भने पनि त्यहीवरिपरि पेरिफेरीमा रहेको संस्था एवम् सेवा केन्द्रको एकीकरण गरेर एउटा स्थानमा विश्वसनीय दुई–तीनवटा मात्र सहकारी बनाउने अभियानमा लाग्ने हो भने सहकारी दिगो हुन सक्छ ।
अहिले हेर्ने हो भने कुनै स्थानमा राम्रोसँग सदस्य केन्द्रित भएर चलिरहेको स्वायत्त संस्थाको आडमै अर्को व्यावसायिक संस्थाको सेवा केन्द्र सञ्चालन गरी त्यो व्यवस्थित संस्थामा समेत प्रभाव परेको अवस्थामा नियामक निकाय, सहकारीका छाता सङ्गठनले त्यस्ता संस्थाको पहिचान गरी संस्था एकीकरण गर्ने वा सञ्चालन गर्ने जिम्मा दिने हो भने सदस्यले पनि सुरक्षित महसुस गर्ने थिए भने संस्था पनि दिगो र दरिलो बन्नलाई टेवा पुग्ने थियो । यदि सदस्यलाई आफ्नो संस्था वित्तीय सन्तुलनमा चलेको छ र यसको सम्पूर्ण क्रियाकलापमा म प्रत्यक्ष सहभागी छु भन्ने किसिमको आभाष दिलाउन सकियो भने सायद संस्थामा समस्या पर्दा सबै सदस्यले सहयोग नगरे पनि कुनै पनि सदस्यले समस्याचाहिँ पार्ने थिएनन् कि ।