गोर्खा मिडियाले सहकारीको ६५ करोड अपचलन गरेको छानबिन समितिको निष्कर्ष « Arthapath.com
३१ भाद्र २०८१, सोमबार

गोर्खा मिडियाले सहकारीको ६५ करोड अपचलन गरेको छानबिन समितिको निष्कर्ष



काठमाडौं । संसदीय छानबिन विशेष समितिले सूर्यदर्शनसहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियाले अपचलन गरेको निष्कर्ष निकालेको छ । साथै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रलचित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा समिति सभापति सूर्य थापाले प्रतिवेदन पेश गरेका थिए । लगत्तै सभामुख देवराज घिमिरेले आवश्यक कार्यान्वयनका लागि प्रतिवेदन सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

समितिले ४० वटा सहकारीको वित्तीय विश्लेषण गरी प्रतिवेदन तयार पारिएको छ । सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको विषयमा ८ वटा सुझाव दिइएको छ ।
जीबी राई समूहले सञ्चालन गरेका ७ मध्ये ५ वटा सहकारीबाट गोर्खा मिडियामा २ अर्ब ५६ करोड रुपैयाँ कारोबार भएको पाइएको छ । यसमध्ये ६५ करोड रुपैयाँ सहकारीको रकम अपचलन भएको समितिको निष्कर्ष छ ।

त्यसैले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा भने लामिछानको संलग्नता रहेको समितिको निष्कर्ष छ । स्रोतका अनुसार समितिले लामिछानेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

एमाले सांसद सुर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । शुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो ।

समितले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगि भएका भनिएका सहकारीका वर्तमान र पुर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरुसँग गरि ६३ वटा बैठक गरेको थियो । समितिले शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो ।

२०८० फागुन तेस्रो साता रवि लामिछाने प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री भएपछि नेपाली कांग्रेसले सहकारीको मुद्धा उठाएको थियो । सहकारीको रकम गोर्खा मिडियामा भएको अपचालनमा लामिछाने संलग्न रहेको, तर उनी गृहमन्त्री भएपछि प्रहरीको छानबिन रोकिएको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि १५ जेठमा संसदीय छानबिन समिति बनेको थियो ।

समितिलाई संकटग्रस्त घोषणा भएका सहकारीहरुका साथै जीबी राई समूहले सञ्चालन गरेको स्वर्णलक्ष्मी, सुप्रिम, सूर्यदर्शन, सहारा लगायतका सहकारीको रकम गोर्खा मिडियामा भएको अपचलनबारे छानबिन गर्ने कार्यादेश दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस्